ब्लग


अमेरिकामा पनि एक महिना अघिबाटै तीज लाग्छ, तर अर्गानिक स्वाद छैन

अमेरिकामा पनि एक महिना अघिबाटै तीज लाग्छ, तर अर्गानिक स्वाद छैन

ऋचा घिमिरे
भदौ १० , काठमाडौँ

जिन्दगीको डुंगा समयले जताजता सोझ्यायो, उतैको यात्रामा निस्कनु पर्ने मेरो बाध्यता थियो। यही यात्राले जहाँ पुर्यायो त्यहीँ रमाउन सक्नु पर्ने रहेछ। मैले पनि परिस्थितिअनुसार आफूलाई ढाल्ने कोसिस गरेँ। कतिपय रहरलाई फैलिनबाट रोके हुँला, आफ्ना रहर खुम्चिरहँदा पनि म मुस्कुराएँ। मेरो यही मुस्कानलाई हेरेर आफ्नाहरुले म खुसी रहेको अनुमान गरे।

खुसी हुँदाहुँदै पनि दुख्ने ठाउँ प्रशस्तै हुने रहेछन् जीवनमा। मलाई पनि देश छोडेपछि थुप्रै पटक भक्कानो फुट्यो। तर सम्झनाका ती भक्कानाहरुलाई मनमै दबाएर दौडनु मेरो बाध्यता थियो। 

हुन त मेरो बाल्यकाल सामान्य लाग्ने असामान्य लगाममा कसिएर बित्यो। काठमाडौँको शिक्षित परिवारमा जन्मिएकी मलाई पढाइभन्दा नाच्ने र राम्री हुने रहर धेरै हुन्थ्यो। गाजल लगाएर राम्री बन्न मन लाग्थ्यो। रेडियोमा बजेका गीतमा कम्मर मर्काउन रहर लाग्थ्यो। तर, मेरा यी रहरमाथि नजानिँदो तवरले बन्देज लगाउन खोजिन्थ्यो। 

घरको अनुशासन कडा थियो। म बाबुआमाको आँखा छलेर नाच्थेँ। तर यो नाचले मेरो आँत भरिन्नथ्यो। राम्री हुन र मनभरि नाच्न तीज पर्खिनु पर्थ्यो। त्यसैले होला सानैबाट मलाई तीज असाध्यै धेरै मन पर्थ्यो। तीजमा घरको कडाइ कम हुन्थ्यो। हाम्रो घरमा सामान्य अवस्थामा पनि नमिठो खाना पाक्दैनथ्यो। ममी शिक्षिका, बुबा होटलको सेफ, थरीथरी परिकारका स्वाद लिँदै हुर्किएकी हुँ म। तर तीजको दरखाने दिन छुट्टै माहोल हुन्थ्यो। त्यो दिन खाएको खानाको अहिले पनि सम्झना आउँछ। 

दर खाने दिन बुबाले हाम्रो लागि भनेर मिठोमिठो परिकार बनाउनुहुन्थ्यो। बुबाको होटलमा गएर त्यो खाना ल्याउने जिम्मा मेरो पर्थ्यो। बुबाले प्याक गरिदिएको खानाको परिकार बोकेर म न्युरोड पुग्थेँ। न्युरोडमा प्रशान्त अंकलको मिठाइ पसल थियो। उहाँ बुबाको साथी हुनुभएकाले हामी उहाँलाई अंकल भन्थ्यौँ।

अंकलले दरका लागि भनेर मिठाई प्याक गरिदिनुहुन्थ्यो। पसलबाट घर पुग्दा प्रशान्त अंकलले प्याक गरिदिनु भएको आधा खाइसक्थेँ। मलाई मिठाइ असाध्यै मन पर्थ्यो। अहिले सम्झिँदा पनि रमाइलो लाग्छ। कताकता आफ्ना छोराछोरीलाई त्यहीँ माहोलमा हुर्काउन नपाएकोमा नमिठो पनि लाग्छ। तर, उनीहरु आफू बाँचिरहेको समयसँगै खुसी छन्। म त्यही हेरेर चित्त बुझाउँछु।

दरखाने दिन घरको माहोल असाध्यै रमाइलो हुन्थ्यो। आमाका दिदीबहिनीसँगै टोलका नजिकका महिला मिसिएर दर खान्थे। त्यो बेला अहिले जस्तो दर खाने दिन नै नाच्नेगाउने प्रचलन थिएन। उहाँहरु दर खाँदै भोलिपल्ट पशुपति जाने योजना बनाउनुहुन्थ्यो।  

ममीले घर र स्कुलको जिम्मेवारी पुरा गर्नु पर्ने भएकाले उहाँको दैनिकीमा मेकअप, सारीचोलो पर्दैनथ्यो। उहाँ वर्षभ।ि आफूलाई सहज हुने कुर्तासुरुवाल लगाएर हिँड्नु हुन्थ्यो। तीजको दिन भने ममीले मेकअप गर्नु हुन्थ्यो। सारी, सिन्दुर, टीका लगाउनु हुन्थ्यो। म ममीलाई हेरेर दंग पर्थे। मलाई त्यो बेला मेरो ममी संसारकै राम्री लाग्थ्यो। पशुपतिमा पूजा गरेर, मादल बजाएर सबैजना नाच्थे। म पनि आमाहरुसँगै नाच्थेँ।

१३/१४ वर्षसम्म त आमाले सारी लगाउने, मिठाइ खान पाइने, आमाहरुसँग पशुपतिमा गएर नाच्न पाउने कुराले नै रमाइलो लाग्थ्यो। त्यसपछि भने मलाई पनि ममीसँगै तीजको व्रत बस्न मन लाग्यो। ममीलाई भनेँ। ममीले मलाई सक्दिनौ भन्नु भएको थियो।

तर मेरो जिद्दीका अगाडि ममीको केही लागेन। म ममीसँगै दिनभरी व्रत बसेँ। ममीले पानी पनि खानु भएन। मैले भने पानी र जुस खाएँ। रातभरि पशुपतिकै नाचगान हेरेर ममीसँगै बसे। बिहानीपख, पशुपति दर्शन गर्ने बेलामा म बेहोस भएँ। म बेहोस भएपछि ममी आत्तिनुभएछ।

पानी छम्किएर होसमा आएपछि मलाई खानेकुरा दिनु भयो। यो सम्झना मेरो स्मृतिमा कहिल्यै नमेटिने छाप बनेर बसेको छ। अहिले सम्झिँदा आफ्नै जिद्दीपनसँग कहिले रमाइलो लाग्छ, कहिले लाज पनि लाग्छ। म बेहोस भएपछि ममीले ‘तँ सक्दिनस् भनेकै थिएँ नि’ भन्नु भएको थियो। आमाको मनलाई कसरी थाहा हुन्छ होला छोराछोरीले के सक्छन्, के सक्दैनन् भन्ने कुरा जस्तो लाग्थ्यो। अहिले म त्यो महसुस गर्न सक्छु। 

व्रत बसेको पहिलो वर्ष नै गाह्रो भए पनि मैले त्यसपछि व्रत बस्न छोडिनँ। त्यसपछिका हरेक वर्षका तीजमा म व्रत बसेँ। एक वर्ष तीजको व्रत बसेको भोलिपल्ट ठूलो प्रोजेक्टमा साइन गरेँ।

त्यसपछि मेरो मनमा तीजको व्रत बस्दा राम्रो फल पाइन्छ भन्ने लाग्यो। यही कुरा आस्था र विश्वासमा परिणत भयो। यही विश्वासको जगमा टेकेर मैले थुप्रै तीजमा निराहार व्रत बसेको छु। व्रत अहिले पनि बस्छु। तर अहिले पानी खान्छु। साँझ फलफूल खान्छु। 

म सानो छँदा अहिलेजस्तो फेसन थिएन। १०/१२ वर्षसम्म त लुगामा त्यति ध्यान पनि जाँदैनथ्यो। मलाई गाजल लगाउन र नाच्न पाए पुग्ने। ममीहरुले चाहिँ सारी, ब्लाउज लगाउनु हुन्थ्यो। सारी, ब्लाउजमा पनि अहिले जस्तो भेराइटी हुन्थेन। पछि मलाई पनि पशुपति जान, पूजा गर्न भनेर नयाँ कुर्तासुरुवाल किनिदिनुहुन्थयो। नयाँ कुर्तासुरुवालमा म फुरुङ्ग पर्दै मन्दिर जान्थेँ। 

विवाह भएको पहिलो वर्षबाटै मैले माइतीमा गएर तीज मनाउन पाइनँ। पहिलो वर्ष श्रीमान् शंकरसँग लन्डनमा थिएँ। लन्डनमै कार्यक्रममा सहभागी भएँ र विवाहको सारी लगाएर व्रत बसेँ। लण्डनको साउथहलमा शिव मन्दिर रहेछ। त्यहीँ गएर पूजा गरेँ।

सानैबाट आमासँग तीज मनाएको। साथमा आमा हुनुहुन्थेन। देशमा जस्तो विदेशमा हुने कुरै भएन। सायद त्यो न्यास्रोपन पनि भित्र गडेर बसेको थियो। दिउँसो ३ बजेसम्म त म व्रत बसे। त्यसपछि भने मलाई निकै गाह्रो भयो। त्यो वर्ष मैले ४ बजे व्रत तोडेँ। फलफूल खाएँ।

त्यसको केही वर्षपछि अमेरिका आएँ। अमेरिका आएको पहिलो वर्ष बाहिर निस्कने, तीज मनाउने मेरो अवस्था थिएन। १५ महिनाको बच्चा काखमा, गर्भमा अर्को बच्चा हुर्किरहेको थियो। अर्काको देश, हामी संघर्षको चरणमा थियौँ। आफ्नो साथी सर्कल पनि थिएन।

म मनभरि आमासँग मनाएको तीजको सम्झना बोकेर घरमै बसेँ। नरमाइलो लाग्यो। विदेश बसाइका सुरुवाती दिनमा घरका, आमा–बुबासँगका, आफन्तसँगका रमाइला पल सम्झिएर रमाउने प्रयत्न गरेँ। सबै सम्झनाले दुखाउँछन् भन्ने नहुँदो रहेछ। त्यसपछिका वर्षहरुमा मैले मेरा छोराछोरीलाई पनि त्यस्तै खालको सम्झना बनाइदिने प्रयत्न गरेँ। 

लामो समय अमेरिकामा घुलमिल हुन सकिएन। पूजा चन्द दिदीबाहेक चिनेको नजिकै कोही थिएन। त्यसैले दर खान, तीज मनाउँन कतै निस्किइनँ। बच्चासँगै भुलिन्थ्यो। म अमेरिका गएको १० महिनापछि अरुणिमा लम्साल, दीलिप रायमाझीको परिवार पनि अमेरिका आए। उनीहरु आएपछि मलाई मेरो परिवारको सदस्य आएको जस्तो महसुस भयो।

समय बित्दै गएपछि नेपाली कलाकारको ठूलो सर्कल बन्यो। तीजको माहोल बन्दै गयो। कलाकारबाहिर पनि अर्को सर्कल बन्यो। पालो गरेर दर खाने, ख्वाउने गर्न थाल्यौँ। कलाकारबाहिरको सर्कलबाट पनि बाक्लै निम्तो आउँथ्यो। माया गर्ने जमात, रमाउने, रमाइलो गर्ने जमात बढ्न थालेपछि म पनि रमाउन थाले। 

मेरिल्यान्ड सहरमा सानो हिन्दु मन्दिर छ। त्यहाँ भित्र सानो पशुपतिनाथ पनि स्थापना गरिएको छ। यो सहरमा रहेका नेपाली महिला तीजको दिन पूजा गर्न जान्छन्। नाचगान गर्छन्। म तीजकै दिन उक्त मन्दिरमा पुग्न पाएको छैन। अरुबेला भने एकाधपटक पुगेको छु। 

मैले अहिले यो लेख्दै गर्दा मलाई थाहा छ धेरै जनाले ‘आफ्नो रहरले विदेश जाने अनि देश सम्झिएको नाटक गर्ने’ भन्नुहुन्छ। मैले विदेशमा बसेकाहरुमाथि गरेका थुप्रै टिप्पणी देखेकी छु।

तर सत्य कुरा के हो भने देश छोडेपछि देशको माया झन् धेरै बढ्ने रहेछ। आफ्नो संस्कृतिको झन् धेरै सम्झना आउँने रहेछ। विवाह भएर पराइ घर गएकी छोरीलाई श्रीमानको परिवारलाई आफ्नो ठानेर बस्नु जस्तै हो परदेश गएका नेपालीको बाध्यता पनि। 

परदेश पसेका अधिकांश नेपाली बाध्यताले घरबाट निस्किएका हुन्छन्। आफू जुन अवस्थामा भएपनि खुसी भएर बस्नु हरेकको बाध्यता हो। तस्बिरको खुसी देखेर परदेशमा रहेका नेपालीको सम्झनालाई देशमा हुने कतिपयले नकारात्मक टिप्पणी गर्छन्।

यो कुराले असाध्यै नराम्रो लाग्छ। यति भूमिका बाँध्नुको अर्थ म यहाँ सुखको जीवन बाँचिरहेकी छु। मसँग सबैथोक छ। पछिल्लो समय यहाँको माहोल निकै रमाइलो छ। नेपाली जनसंख्याको ठूलो हिस्सा अमेरिकामा छ। यहाँ १ महिना अघिबाटै तीज लाग्छ। हामी नाच्छौँ, गाउँछौँ, रमाउँछौँ। तर यहाँ आफ्नै देशको जस्तो अर्गानिक वातावरण छैन। सबैभन्दा ठूलो कुरा बुबाआमा हुनुहुन्न। यो हाम्रो देश होइन। त्यसैले तीजमा म मेरो देश खुब सम्झन्छु। 

यहाँ आफ्नो देशमा हुँदा जस्तो खुसी पाइँदैन। नेपाल छँदा सानो कुराले पनि खुसी भइन्थ्यो। केही नहुँदा पनि सबथोक भएझैँ लाग्थ्यो। रमाइलो अर्कै हुन्थ्यो। यहाँ भरिपूर्ण भए पनि त्यो खुसी पाइँदैन। खुसी, अपनत्व बुबा–आमाको मायालाई यो सम्पन्नताले पुर्न सक्दैन। 

यहाँको दैनिकी निकै व्यस्त छ। नेपालमा हुँदा तीजमा बिदा पाइन्थ्यो। यो परदेश हो, यहाँ पाइँदैन। तर पनि समय निकालेर तीज मनाउने गरेको छु। महिना दिन अघिबाटै तीज विशेष कार्यक्रम हुन्छन्। कार्यक्रममा सरिक भइन्छ। मिलेर दर खाइन्छ। यहाँको व्यस्त जीवनका लागि यही नै ठूलो कुरा हो। 

अब त यहाँ भएका हामी हामीबीच रमाउने बानी भइसक्यो। धेरै ठाउँबाट निमन्त्रणा आउँछ। सबैतिर जान सकिँदैन। केही वर्षदेखि तीजमा दुई वटा कार्यक्रममा मात्रै सहभागी हुने गरेको छु। बोलाएको सबै ठाउँमा पुग्न नसक्दा माया गर्ने कतिपयले मन दुखाउनु भएको पनि छ। तर मेरो पनि त बाध्यता छ। साना छोराछोरी छन्। आफ्नै व्यवसाय छ। अहिले त म आफैँ पनि कलेज पढिरहेकी छु। मेरो बाध्यता मलाई माया गर्ने आफन्तले बुझिदिनुहुन्छ भन्ने लाग्छ। 

यो वर्षको तीजमा म झन् धेरै व्यस्त हुन्छु। तीजकै दिनबाट छोराछोरीको स्कुल सुरु हुन्छ। मेरो कलेज पनि त्यही दिनबाट सुरु हुन्छ। मैले भर्खरै नयाँ व्यवसाय सुरु गरेकी छु। त्यसैले धेरै ठाउँमा जानसक्ने, दर खान सक्ने अवस्था छैन। तथापि दुईवटा कार्यक्रममा भने म यो साल पनि सरिक हुनेछु। मैले तीजको व्रत अहिलेसम्म छुटाएकी छैन। यो वर्ष पनि बस्छु। 

तीजको व्रतलाई लिएर पनि पछिल्लो समय मानिसहरु वादविवाद गरिरहेका हुन्छन्। कति कुरामा सुधार र बहस जरुरी छ, त्यो भइरहेकै पनि छ। तर व्रत बस्ने कुरा मानिसको स्वेच्छाको कुरा हो। आज पनि हाम्रा आमाहरु श्रीमानको दीर्घायुको कामना गरेर पानी पनि नखाई व्रत बस्नु हुन्छ। त्यो उहाँहरुको आस्था हो।

मेरा दाजुहरु भाउजूसँगै तीजको व्रत बस्नु हुन्छ त्यो उहाँहरुको इच्छाको कुरा हो। म फेमिनिस्ट हुँ तर यी दुवै कुरालाई स्वीकार गर्छु। कसैको स्वेच्छा र आस्थामाथि कसैले वादविवाद गर्नु जरुरी छ जस्तो मलाई चाहिँ लाग्दैन। 

यहाँ कति श्रीमती मात्रै व्रत बस्छन्, श्रीमानको दीर्घायुको कामना गर्छन्। कति अविवाहित व्रत बस्छन्, राम्रो श्रीमानको कामना गर्छन्। कति श्रीमान–श्रीमती नै व्रत बस्छन्, एक–अर्काको दीर्घायु र खुसीको कामना गर्छन्। कति व्रत नै बस्दैनन्।

यो सबै आ–आफ्नो इच्छा र आस्थाको कुरा हो। त्यसैले व्रत बस्नेले नबस्नेलाई, नबस्नेले व्रत बस्नेलाई गाली नगरौँ। आफ्नो खुसीमा खुलेर बाचौँ। यो दिन भनेको महिलाहरुले सेलिब्रेट गर्ने दिन हो। आफ्नो इच्छा र क्षमता अनुसार सेलिब्रेट गरौँ। 

भदौ ३, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad