ad ad

ब्लग


नफेरिएको पात्रो

नफेरिएको पात्रो

अवतार राई
भदौ ११, २०७९ शनिबार १३:२२, काठमाडौँ

नयाँ वर्षको पहिलो दिन बिहान हाम्रो घरमा नयाँ पात्रो झुन्डिन्थ्यो। घरमा पात्रो झुन्डिएपछि मात्र नयाँ वर्ष लागेको अनुभूति हुन्थ्यो। पात्रो झुन्ड्याउने जिम्मेवारी बाको थियो। 

नयाँ पात्रोमा बाले विशेष दिनमा रातो कलमले गोलो लगाउनु हुन्थ्यो। गोलो लगाएको दिन विशेष नै हुन्थ्यो। वर्षको पहिलो महिनाको शनिबार पात्रोमा गोलो लागेको हुन्थ्यो। त्यो बेला टोलमा संसारी पूजाको रौनक चल्थ्यो। संसारी पूजामा सामूहिक रुपमा पूजा गर्ने, कुखुरा र बोकाको बली चढाई प्रसाद ग्रहण गर्ने प्रचलन गाउँमा अहिले पनि छ। बली चढाउनका लागि कुखुरा र बोकाको जोहो गर्ने जिम्मेवारी बाले लिनुहुन्थ्यो। 

अनि गोलो लाग्थ्यो उभौली र उधौली पूर्णिमाको दिन। जुन दिन सुरु हुने साकेला १५ दिनसम्म धुमधामका साथ मनाइन्थ्यो। साकेलाका लागि ६ महिना उधौलीमा थन्किएको ढोल तन्काउनु, नयाँ ढोल कस्न गाउँका तन्नेरीहरुलाई भेला गर्नु, दुई चार थान झ्याम्टाको जोहो गर्नु, ढोल ठोक्ने गजाको बन्दोबस्ती गर्नु, वर्षेनि सबैको चासो रहन्थ्यो नै, यसमा पनि बाको अग्रसरता खुब रहन्थ्यो। 

पात्रोमा दसैँ र तिहारको दिन त गोलो लाग्ने नै भयो। दसैँतिहारमा छोराछोरीको नयाँ लुगा लगाउने रहर, मिठोमसिनो खाने चाहना, आफन्त, परिवार। इष्टमित्र धान्नुपर्ने गहन दायित्व हुन्थ्यो। बाआमाले बन्दोबस्ती गरिदिनुभएपछिका हाम्रा रमाइला दिन हुन्थे ती। 

साउने संक्रान्ति, माघे संक्रान्ति र चैते दसैँमा बाको विशेष गोलो हुन्थ्यो। ती दिन एकभाग राँगाको मासु र एक झोला सुँगुरको मासु घरमा भित्रिन्थ्यो। घरमा निकै अघिबाट भरिएका हुन्थे वासुङ (जाँड) का घ्याम्पा। बन्थे हेङमा (रक्सी)। चेलीबेटी, आफन्त, परिवार भेला भई ती चाडहरु खुबै रमाइलो गरी मनाइन्थ्यो। त्यसैले त बा वर्षमा आउने ती दिनको गन्तीमा बस्नुहुन्थ्यो। सम्झनका लागि पात्रोमा गोलो लाग्थ्यो। बाका लागि वर्षभरिका विशेष दिन यी नै थिए।

नयाँ पात्रोमा बाले सिकुवाको खाटमा बसेर सुल्फा तान्दै गोलो लगाइसकेपछि मात्र हामीले छुन, हेर्न पाउँथ्यौ। बाले लगाएको गोलो गन्तीमा बाल्यकालका दिनहरु गुजार्थ्यौं। औँला भाँचेर दिनगन्ती गर्दै बस्थ्यौँ। संसारी पूजामा प्रसादको रुपमा खान पाइने दुई टुक्रा मासुको स्वादको लागि होस् या त उभौली उधौलीमा घरमा गरिने चुला पूजा, ढोलझ्याम्टासँगै नाच्न पाइने लोभले होस्, कि त नयाँ लुगा र मासुभात खान पाइने मोहको रुपमा दसैँ र तिहारको गन्तीको लागि हामी पात्रो पल्टाइरहन्थ्यौँ। 

बाले पात्रो तिथिमितिको लागि पनि खुब जोहो गर्नुहुन्थ्यो। कतै टाढा जानुपर्दा बाको पात्रो प्रयोग हुन्थ्यो। तिथिमिति मिलाएर मात्र घरबाट पाइला चाल्न पाइन्थ्यो। नाक्छोङ मार्फत कुलपित्र सम्झिरहने बाको सम्बन्ध पात्रोसँग अजीबको थियो। फुर्सदको समयमा पात्रो पल्टाइरहुनुहुन्थ्यो। घरमा अन्नबाली लगाउने समयदेखि थन्क्याउने समयसम्म, कामको मेलोमेसो मिलाउनुपर्दा, पशुपक्षी किनबेचदेखि घर छाड्नुपर्दा, भेटघाट गर्नुपर्दा बाका पात्रोमा आँखा पुग्थ्यो। सके हेर्नुहुन्थ्यो नसके पात्रो जान्नेसँग राय लिनुहुन्थ्यो। प्राय फुर्सदिलो रहँदा बा सुल्फा तान्दै भित्तामा झुन्डिएको पात्रो पल्टाइरहेको भेटिनुहुन्थ्यो। 

बाका लागि गोलो फगत एक रहरको गन्ती मात्र थिएन। व्यवस्थापनको सकस पनि थियो। व्यवस्थापनको जिम्मेवारी आमा र बाको हुने नै भयो। खर्चको जोहोदेखि व्यवस्थापनको सकसले पनि होला बाको पात्रोप्रतिको त्यो मोह।

झण्डै ५ वर्षअघि स्नातकोत्तर पढाइ सकाउन घर छाड्नुपर्ने अवस्था मलाई आयो। मेरो राजधानी जाने मेसो बाको पात्रोसँग मिल्यो। तयारी गरेँ। अध्ययन सकाउनु थियो, सँगसँगै कामको मेसो पनि मिलाउनु थियो। 

झिसमिसे बिहान झोला टिप्नै लाग्दा बा ले भन्नुभयो, ‘ऊ बेला हामी १५ दिन लगाएर नेपाल खाल्डो पुग्थ्यौँ। तँ एकैदिनमा पुग्दैछस्। दिनदशा के कसो होला राम्ररी जा है कान्छा।’

बोल्नु के थियो र, हस् संकेतमा मुन्टो हल्लाएर हिँडेको थिएँ।

बाटाभरि बाका १५ दिने काठमाडौँ यात्रा सम्झना गरिरहेँ। उकाली भिरपाखा, कुनाकन्दरासँग मितेरी गाँस्दैगाँस्दै कष्टकर भए पनि रमाइलो गर्दै पुग्नुभयो होला मेरा बा। मधुरो स्वरमा भाका मिलाएर दोहोरी गाउन समेत चम्किहाल्ने हाम्रा बा। 

‘सुरु गर्न चाहिँ माहिर तर टिकिरहन सक्दैन टारबारी कान्छा,’ बुढापाकाहरु सुल्फा तान्दै आँगनको डिलमा बसेर बाका बारेमा कहिलेकाहीँ कुरा गर्थे। एकपटक उत्तरी साल्पातिरको यात्रामा बा झण्डै एकमहिना गोरु जोतेर बस्नु पर्ने बाध्यता परेछ। खासमा कारण चाहिँ दोहोरी गाउन चम्किने हाम्रा बा साल्पा हिँडेकाहरुसँग एक साझ दोहोरीका लागि तयारी हुनुभएछ। साथमा हुनुहुन्थ्यो रे बाका दौँतरी नाताले मेरा चित्रबहादुर बाजे। बुढाहरु दोहोरीमा त हौसिएर लागिहाले। फसाद पर्दै गयो। दोहोरीमा टिक्न हम्मेहम्मे परेपछि पालैपालो कसोकसोगरी फुत्किएछन् दुई भाइ। सर्त हारेपछि एक महिना घरको काममा जोतिनुपर्ने थियो रे। बिहान हुनै लाग्दा फुत्किएका बाहरुको खोजी साल्पाको मेलामा दिनभर भयो रे। 

कहिलेकाहीँ बा भन्ने गर्नुहुन्थ्यो, ‘तेरी आमा गीतकै भाकाबाट तानेर ल्याएको हो।’

आमा पनि जवाफ दिनुहुन्थ्यो, ‘स्वर त टपरामा पिसाब फेरेजस्तै हो, लयमा शब्द झिक्न चाहिँ जान्ने नै हो तेरो बा।’

आमा बा को त्यो छेडछाडमा माध्यम म थिएँ। 

बाको १५ दिने यात्रा दोहोरी गाउँदै हिँड्दै नै सकियो होला। यस्तै कल्पनमा डुबेर दिन बित्यो र म काठमाडौँ आइपुगेँ। 

म हिँडेको साल घरमा पात्रो फेरियो। पात्रोका विशेष दिनमा गोलो लाग्यो। बा पात्रोमा कान्छो छोरो पढाइका लागि खाल्डो पसेको दिन गन्नुहुन्थ्यो रे। आमाको छेउमा पुगेर कान्छाले घर छोडेको दिन सुनाउनुहुन्थ्यो रे। पल्टिँदै गए पात्रो। संसारी पूजा, उधौली, साउने संक्रान्ति र दसैँतिहार पनि सकियो। अनि उधौली माघेसंक्रान्ति सकियो। पात्रो पल्टिँदै थियो। त्यो सालको लागि पात्रोको अन्तिम पाता मात्र पल्टिनलाई बाँकी थियो। अन्तिम पाना पल्टिनै लाग्दा बा अचानक बिरामी पर्नुभएछ। फोनमा बा बिरामी पर्नुभएको खबर पाएँ। 

बासँग फोनमा बातचित गर्न खोजेँ। मधुर स्वरमा बाको बोली फुट्यो, ‘मलाई केही भएको छैन। तँ जे छस् जहाँ छस् राम्रो गर है कान्छा।’

मैले बालाई काठमाडौँको अस्पतालबारे बताएँ र आउन आग्रह गरेँ। बाको बोली रोकियो। सम्भवतः होसमा बोलेको शब्द नै त्यही थियो। 

बालाई धरान घोपा ल्याउने तयारी हुँदै गर्दा बाको अन्तिम स्वास रोकिएछ। हत्तपत्त घरको बाटो तय भयो। बाको अन्तिम संस्कार सकियो। किरात संस्कार अनुसार बाको अन्तिम संस्कार सकिँदाको केही दिनमा नयाँ वर्ष सुरु भयो। ४५ औँ तिथिमा कार्यथलो काठमाडौँ फर्किएँ। सो वर्ष परिवारमा दसैँ, तिहार, उभौली, उधौलीसँगै सबै चाडपर्व मनाउन बर्जित थियो। त्यसैले गाँउ गइएन। कार्यथलोमा नै बसियो। 

केही महिनाअघि घर पुगेको समयमा अनायस भित्तामा आखाँ पुग्यो। जहाँ पुरानो क्यालेन्डर झुन्डिएको देखेँ। पुरानो काँटीमा पुरानै भइसकेको त्यो क्यालेन्डर देखेपछि छेउमा बिँडी सल्काउँदै बसेकी आमासँग अलिअलि रिस पोखेँ, ‘एउटा नयाँ क्यालेन्डर पनि किन झुन्ड्याउन नसकेको होला?’

सल्किरहेको बिँडी भुइँमा झोस्दै आमाले भन्नुभयो, ‘यो पात्रो तेरो बाले अन्तिमपटक झुन्ड्याउनु भएको हो। नयाँ पात्रो थुप्रै ल्याइयो तर तेरो बाले झुन्ड्याउनुभएको यो पात्रो निकाल्न सकिनँ। घरमा एक्लै भएको बेला पनि यही पात्रो हेर्छु, तेरो बा सँगै छु जस्तो लाग्छ।’

बा बित्नुभएको समयदेखि घरको भित्तामा फेरिएनछ पात्रो, पल्टिएनछ महिना। बाको यादको बिम्ब बनेर पात्रो भित्तामा झुन्डिरहेको रहेछ। भित्तामा अरु नयाँ पात्रोलाई प्रवेश निषेध रहेछ। 

केही वर्षदेखि तिथिमिति उही बोकेर बसेको त्यो पात्रोमा न फेरिन्छ वर्ष न पल्टिन्छ महिना। केवल एकनास आज पनि उसरी नै घरको भित्तामा उही पुरानो पात्रो झुन्डिरहेको छ। ‘भित्ते पात्रो, चैत्र २०७४।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .