बेलायतमा रहेका नेपालीहरूको संस्था थर्ड आईले नेपाली फिल्म फेस्टिभल आयोजना गर्यो– कार्यक्रममा सहभागी हुन फ्रेब्रुअरी अन्तिम साता कलाकार नीर शाह आइपुगे।
त्यही मेसोमा ब्रिटेन–नेपाल कला साहित्य मञ्चले फेब्रुअरी २८ का दिन ‘नीर शाहसँग एक साँझ’ कार्यक्रम राख्यो। त्यो आयोजना मिलाउनेमा म थिएँ मध्यस्थकर्ता। साँझ हुने कार्यक्रमअघिको केही समय र अर्को दिन पनि कलाकार शाह र उनकी जीवनसाथी उषा शाहसँग घुम्ने/घुमाउने र अन्तरंग कुराकानी गर्ने मौका मिल्यो।
कुनै क्षेत्रको उचाइमा पुगेको व्यक्तित्वबारे अनेक मिथक र हल्ला बजारमा सुनिन्छ। नीर शाहबारे यस्ता हल्ला नहुने कुरै भएन। यो छोटो समयमा शाहसँग यस्तै विषय अनि उनको कला यात्राबारे कुराहरू भए।
स्वरसम्राट र नीर शाह
वरिष्ठ कलाकार शाह स्वर सम्राट नारायण गोपालसँग नजिकबाट संगत गर्ने कम व्यक्तिमध्ये एक हुन्। लेखक तथा टेलिभिजन प्रस्तोता विजय कुमार पाण्डेले आफ्नो चर्चित पुस्तक ‘खुसी’मा शाहसँग कुनै विषयमा मनमुटाव भएर नेपाल टेलिभिजनको कार्यालयमा नारायण गोपाल जीवनभर नगएको लेखेका छन्।
मैले यो प्रसंग कोट्याउँदा शाहले भने, ‘त्यस्तो मनमुटाव भएको मलाई याद छैन। नारायण दाइ सरकारी मिडियाको पक्षपोषण हुनेगरी आफूले भूमिका नखेल्ने कुरामा प्रस्ट हुनुहुन्थ्यो।’
शाहसँग गाडीमा ओहोरदोहोर गर्ने क्रममा मैले स्वर सम्राटका गीत बजाएँ। सुनेर उनी पुरानो यादमा डुबे। अनि शाहले जीवनको एक अविष्मरणीय क्षणबारे सुनाए— जब अरुणा लामा भर्खरै दार्जिलिङबाट काठमाडौँ आएकी थिइन्। नारायण गोपाल आफ्नो जीवन संगिनी पेमलासँग ठमेलनजिक बस्थे। अन्तर्मुखी स्वभावका उनी हम्मेसी कसैलाई आफ्नो डेरामा बोलाउँदैनथे। त्यो बेला के मुडमा हो, अरुणा लामा, अम्बर गुरुङ, विश्वम्भर प्याकुरेल र मलाई आफ्नो निवासमा खाना खान निम्ता गरे। रातको साढे १२ बजे अलिक मात लागेपछि पेमलालाई ‘झ्याल खोल, आज पूरा काठमाडौँलाई गीत गाएर सुनाउने हो’ भनेर आदेशात्मक निर्णय सुनाए। अड्डी कसेपछि कसैको कुरा नसुन्ने नारायण गोपालको बानी थाहा पाएकी पेमलाले झ्याल नखोली धरै पाइनन्।
त्यो रात नारायण गोपाल र अरुणा लामाले लामाको गीत ‘सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु, कर्मैले हजुर आँशुमा म फूलेँ’ बोलका गीत भिन्नभिन्न संगीत र स्वरमा लयवद्ध गर्दै ‘इम्प्रोभाइज’ गरेर गाएको पललाई शाहले जीवनमै बिर्सन नसक्ने गरि सम्झेको बताए।
उनले त्यो पल सम्झे, ‘त्यही एउटा गीत गाउँदागाउँदै बिहान साढे ४ बज्यो। त्यो मैले जीवनमा नभुल्ने पलमध्ये एक हो। नारायण दाइलाई मानिसहरू घमण्डी भन्थे। वास्तवमा उहाँ एक स्वाभिमानी नेपाली हुनुहुन्थ्यो।’
नेपाल टेलिभिजनको स्थापना र दु:ख
२०४०/४१ सालतिरको कुरा हो। नीर शाह बेलायती सहर लन्डनमा फिल्म एन्ड टेलिभिजन प्रोडक्सन म्यानेजमेन्ट अध्ययन गर्दै थिए। त्यही समय नेपालमा पनि सरकारी टेलिभिजन स्थापना गर्ने उद्देश्यले उनलाई नियुक्तिपत्र दिइयो। हाँसो–मिश्रित स्वरमा शाहले सरकारी टेलिभिजन स्थापना गर्दाका दुःख सुनाए, ‘जसजसले मलाई सरकारी टेलिभिजन स्थापना गर्न बोलाएका थिए, उनीहरू नै म असफल होस् भन्ने चाहँदा रहेछन्।’
स्थापनाकालमा विदेशी प्राविधिकहरू झिकाएर काम चलाउनुपर्यो, तर समयक्रममा नेपाल टेलिभिजनले आफ्नै प्राविधिकहरूलाई प्रशिक्षण दिन पायो। पञ्चायतकालमा स्थापना भएको सरकारी सञ्चारको अगाडि ‘रोयल’ वा ‘शाही’ राख्नुपर्ने दबाब आयो। शाह सरकारी सञ्चारमाध्ययम भए पनि त्यसमा जनताको भरोसा होस् भन्ने चाहन्थे। अन्तमा त्यसको नाम ‘नेपाल टेलिभिजन’ रखाउन सफल भए।
रेडियो नेपाल र अरू सरकारी छापा पञ्चायतको त्यो समयमा ‘झ्याल आधी बन्द छ’ को नीतिअनुसार कार्यक्रम बनाउँथे। शाहले नेपाल टेलिभिजनको सञ्चालक समितिको अध्यक्षको हैसियतमा ‘झ्याल आधी खुला छ’ नीति अख्तियार गरेर कार्यक्रम बनाउन प्रोत्साहन गर्थे। विजय कुमार पाण्डेको कार्यक्रममा पञ्चायतका एक क्याबिनेट मन्त्रीले ‘पञ्चायतमा भ्रष्टाचार छ’ भनेर बयान दिँदा सनसनी मच्चिएको थियो। यस्ता हरेक विवादित कार्यक्रममा नीर शाहले कार्यक्रम पास गर्न हस्ताक्षर गरेर त्यसको जिम्मेवारी लिएका थिए।
‘नेपाल टेलिभिजन श्याम दास वैष्णव, विजय कुमार पाण्डे, रवीन्द्र मिश्र, दुर्गानाथ शर्माजस्ता तीस कर्मठ मानिसहरूको दुःख र संघर्षका कारण स्थापित भएको हो’, शाह भन्छन्।
विजय कुमार पाण्डेले ‘खुसी’मा भनेझैँ कार्यक्रम बनाउन ५ हजार दिएको कुरा उनले स्वीकार गरे। तर, एकैपटकमा रेकर्डरमा आवाज सुनेर भन्दा पनि दर्जनौँपटक सुनेर मात्र पक्का उनको भनाइ छ। श्याम दास वैष्णव सिनियर भएका कारण उनलाई चाहिँ ५ हजार ५ रुपैयाँ तलब दिएको शाहले सुनाए। सीधै नियुक्ति दिएर त्यत्रो तलब दिँदा विवाद हुने डरले आफ्नो ‘सहायक’ भनेर नियुक्ति दिइएको गुत्थी उनले खोले। रवीन्द्र मिश्रले पछि लामो समय बीबीसी नेपाली सेवामा काम गरे। दुर्गानाथ शर्माले टेलिभिजनको समाचार फाँटमा काम गरे।
तत्कालीन राजा वीरेन्द्रले पनि नेपाल टेलिभिजनलाई ‘सरकारको कुरा जनताले सुन्ने र जनताको कुरा सरकारले सुन्ने’ माध्यम बनोस् भन्ने चाहना राख्थे रे। त्यसैले दरबारबाट धेरै सहयोग मिले शाहले सम्झिए।।
नेपाली सिनेमा क्षेत्र र अस्कर अवार्डको यात्रा
नेपाली सिने क्षेत्र र मित्रहरूबीच ‘नीर राजा’ भनेर सम्बोधन गरिने कलाकार शाहले नेपाली सिने क्षेत्रमा विभिन्न भूमिका निर्वाह गरे। संकटमा रहेको नेपाली सिने क्षेत्रमा सन् २०१२ मा निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘लुट’ ले आशाको सञ्चार गरेको र कथा भन्ने तरिका पनि बदलेको मान्छन् शाह। सिनेमा जस्तो बने पनि त्यसले मनोरञ्जन दिनुपर्छ भन्ने कुरामा उनी स्पष्ट छन्।
नेपाली सिने क्षेत्रबाट विदेशी फिल्म लेखक, कलाकार, निर्माता र निर्देशकहरूसँगको सहकार्यमा सन् २००० को बहत्तरौँ एकेडेमी अवार्ड (अस्कर) मा क्याराभान चलचित्रलाई पहिलोपल्ट उत्कृष्ट विदेशी भाषाको चलचित्रको श्रेणीमा नेपालबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने मौका मिल्यो। नीर शाहले पनि यो सिनेमाको प्रतिनिधित्व गर्दै जाने मौका पाए। फ्रेन्च निर्देशक एरिक भ्यालीद्वारा निर्देशित यो सिनेमामा डोल्पाको उच्च पहाडी भेगमा हुने नुनको व्यापारलाई विषय बनाइएको छ। ठूलो बजेटको सिनेमा बनाउन निर्माताहरू ज्याक्स पेरिन र क्रिस्टोफर ब्याराटियरलाई बजेटका लागि मनाउन पर्दाको समय शाहले सम्झिए। भिन्नभिन्न मौसममा खिचिएको यो चलचित्र बनाउँदा धेरै पैसा खर्च भयो।
सिनेमा बनेपछि प्रदर्शन गर्न ‘पापड बेल्नु’ परेको दुःख पनि उनले सम्झिए। डब्बामा हालेको सिनेमाको रिल बोकेर देशभरिका सिनेमा हल घुमेको र प्रदर्शन गर्न माग गर्दागर्दा थाकेर अन्तिममा जय नेपाल सिनेमा हल दिउँसोको शो देखाउन सहमत भएको उनको भनाइ छ। हुनु के थियो, सिनेमा चल्दै गयो, अरू सिने घरले पनि देखाउन इच्छा देखाए। यो सिनेमा हप्तौँसम्म चल्यो र पैसा पनि मज्जाले कमायो।
त्यतिखेर अस्कर अवार्डमा उपस्थित हुन ‘ड्रेस कोड’ अनिवार्य हुन्थ्यो। नीर शाहले आयोजकहरूसँग आफू नेपाली दौरा–सुरुवाल र ढाका टोपी लगाएर आफ्नो देशको प्रतिनिधित्व गर्ने अड्डी कसे। कार्यक्रम सुरु हुनु दुई घण्टा अघिसम्म पनि केही खबर नपाउँदा ‘फोकटमा जिद्दी गरिएछ’ जस्तो नलागेको होइन, तर अन्तिममा होटलको फोनमा आयोजकहरूले ‘हामीले ड्रेस कोडको नियम परिवर्तन गर्यौँ। तपाईंले आफ्नो राष्ट्रिय पोसाकमा भाग लिन पाउनुहुन्छ’ भन्दा संसार जितेझै झैं लागेको थियो रे। पुरस्कार समारोहमा आफ्नो पोसाक चर्चित भएको तर पुरस्कार नजित्दा पछि टन्न मद्यपान गरेको कुरा रोमाञ्चित हुँदै शाहले सुनाए।
दरबार हत्याकाण्ड
आत्मकथा लेखिरहेका शाहले यो काम २५ प्रतिशत सकिएको बताए। शाहलाई लाग्छ– दरबार हत्याकाण्ड दीपेन्द्रले नै गरेका हुन्, तर त्यो अवस्थासम्म पुग्न भएको षड्यन्त्रबारे अनुसन्धान हुनुपर्छ। यही दरबार हत्याकाण्डमा नीर शाहले आफ्ना दाजु कुमार खड्गविक्रम शाहलाई गुमाए। तत्कालीन राजा वीरेन्द्रकी माइली दिदी अधिराजकुमारी शारदासँग खड्गविक्रमको विवाह भएको थियो।
मित्रहरूका विषयमा कुरा गर्दा शाह स्वार्थी मित्रभन्दा इमान्दार शत्रु प्यारो लाग्ने बताउँछन्। र, आफ्नो जीवनमा आएका निस्वार्थी मित्रहरूलाई अझै सम्झन्छन्।
‘शाह आफ्ना कलाप्रतिको लगाव हेरेर सहयोगी स्टाफ छान्छन्। हरेक कर्ममा निष्ठा भए मात्र सफल हुने गुरुमन्त्र बोकेका शाह महाभारतमा गहिरो रुचि राख्दा रहेछन्। उनलाई मनपर्ने पात्र कर्ण हो।
‘किन त?’
‘कर्णजस्तो कुनै पात्र महाभारतमा छैन।’
दुई दिनको संगतमा मैले पाएँ– कलाकार शाहको आत्मबल र सक्रियता लोभलाग्दो छ।
प्रतिक्रिया