ब्लग


त्यही संवाद अन्तिम बन्यो डाचा दाइसँग

त्यही संवाद अन्तिम बन्यो डाचा दाइसँग

जनार्दन पोखरेल
माघ २८, २०७७ बुधबार ४:४५,

माघ २१ गते मध्यराति आएको फोनले निद्रा भंग भयो। काठमाडौंबाट साथी सुरेन्द्र चालिसेले गरेका रहेछन्। ‘डाचा दाइको विषयमा आएको कुरा के हो?’ राति साढे ९ बजे बीबीसीको समाचार सुनेर सुत्दासम्म त्यस्तो केही सुनिएको थिएन। अचानक डाचा दाइलाई के भएछ त !

हतारहतार उठेर फेसबुक हेरें। सुरुमै नेकपाकी विद्यार्थी नेतृ आरती लामाले बिनातस्बिर लेखेको देखें– ‘प्रिय डाचा अंकल मनलाई सम्हाल्न गाह्रो भयो, आन्दोलन सकेर घर फर्कने क्रममा दुर्घटना भएर...शब्द छैन !’

कमेन्टमा धेरैले ‘श्रद्धाञ्जली’ लेख्न भ्याइसकेका रहेछन्।

मुटुको धड्कन बढ्न थाल्यो। फेसबुकमा अरू पनि यस्तै पोस्ट छन् कि भनेर खोज्न थालें। नभन्दै धेरै साथीले डाचा दाइको तस्बिरसहित श्रद्धाञ्जली व्यक्त गरिसकेका रहेछन्। रातिको साढे ११ बज्दै थियो।

प्रिय/अप्रिय जे जस्ता घटना भए पनि अचेल सबैभन्दा पहिला जानकारी पाइने माध्यम बनेको छ- सामाजिक सञ्जाल। तर कतिपय अवस्थामा फेसबुकमा आएका कुरा ‘हावा’ पनि हुन्छन्। भित्री मनले भन्यो– यो खबर पनि त्यस्तै भइदिए हुन्थ्यो !

नेकपाका जिल्ला सचिव कमल बुढाथोकी दाइलाई फोन गरें। उहाँले भन्नुभयो, ‘म घटनास्थलतिर जाँदै छु।’ उहाँको बोलीमा सहयोद्धाको मृत्युको पीडा प्रस्टसँग सुनिन्थ्यो। साँझ बरहथवामा मसाल जुलुसको नेतृत्व गरेर मोटरसाइकलमा नयाँरोड फर्किंदै गर्दा बीच बाटोमा पर्ने मूर्तिया जंगलमा दुर्घटना भएको र घटनास्थलमै डाचाराज वाग्लेको मृत्यु भएको खबर उहाँले सुनाउनुभयो। अब भने निश्चित भयो- प्रिय डाचा दाइ अब यो संसारमा हुनुहुन्न !

उठेर बत्ती बालें। ल्यापटप खोलें। पत्रकार मित्र टंक क्षेत्रीलाई फोन गरें। बरहथवा प्रहरीको नम्बर मागें।बरहथवास्थित इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी उद्धवसिंह भाटको नम्बर दिनुभयो। तत्काल फोन लगाएँ। डीएसपी भाटले भन्नुभयो, ‘मृतकको नाम डाचाराज वाग्ले, अन्दाजी वर्ष ५१।’ विवरण टिप्दै गर्दा मेरा हात काँपे। समाचार लेखौं कि नलेखौं, एकछिन् दुविधामा परें।

जीवन-संगीनी ललिता भन्दै थिइन्, ‘लेख्नुपर्दैन, यो मध्यराति त्यस्तो दुःखद समाचार। राम्रो कुरा भए पो हतार गर्नु, भोलि बिहान लेखे पनि हुन्छ, सुत्नू।’

तर मन मानेन। किनभने एउटा पत्रकारले के दु:खद, के सुखद, जस्तो भए पनि समाचार लेख्नुपर्छ, भावनामा बग्न कहाँ पाइन्छ र ! समाचार लेख्नु उसको कर्तव्य हो। लेख्न थालें। नेपालखबरमा यो दुःखद खबर पोस्ट गर्दा रातको सवा १२ बज्यो।

चलेका अन्य केही अनलाइन हेरें। तर यो दुःखद खबर कतै देखिनँ। बिहान घटनास्थल जानुपर्ला भन्ने सोच्दै ओछ्यानमा पल्टिएँ। माघको चिसो रात। बाहिर कुकुर भुकिरहेका छन्। १, २, ३ गर्दै बिहानको ४ बज्यो, अहँ पटक्कै निदाउन सकिनँ। २५ वषदेखिको चिनजान, हार्दिकता, मित्रता, सुखदुःखका साथी। प्यारो नेता। आकर्षक व्यक्तित्व। मीठो बोली। प्रखर वक्ता डाचा दाइकै अनुहार झलझली आइरह्यो। बिहानको साढे ४ बज्यो, अन्तत: अनिँदै उठें।
***
यही माघ १६ गते,  बिहानै डाचा दाइको फोन आयो। ‘मैले एउटा लेख लेखेको छु, अनलाइनमा छाप्नुपर्‍यो जनार्दनजी !’ 

‘हुन्छ दाइ, मलाई मेल गर्नुस् न।’

‘मैले त कापीको पानामा लेखेको छु, टाइप गरेको छैन, तपाईंलाई भेटेरै दिनुपर्छ।’

बिहान ११ बजे हरिवन बजारमा भेट्ने सल्लाह भयो। बिहान सवा ११ बजेतिर हरिवन चोकमा पुगेर उहाँको नम्बरमा फोन लगाएँ। ‘मलाई अलि हतार थियो, स्वाभिमान अस्पतालको काउन्टरमा छाडेको छु, त्यहाँ गएर लिनुस् है,’ उहाँले भन्नुभयो।

मसिना र राम्रा अक्षरमा लेखिएको लेख ६ पृष्ठमा रहेछ। संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको जोडदार विरोध गर्नुभएकाे रहेछ। साँझ टाइप गरें। सकेपछि उहाँलाई म्यासेन्जरमा पठाइदिएँ। ‘निकै राम्रो बनाइदिनुभएछ लेख, धन्यवाद छ है जनार्दनजी, छापिएपछि जानकारी दिनुहोला,’ सुत्नुअघि म्यासेन्जरमा कल गर्दै उहाँले भन्नुभयो।

भोलिपल्ट (माघ १७ गते) नेपालखबरमा डाचाराज वाग्लेको लेख प्रकाशन भयो। लिंक पठाइदिएँ। फोन गरेर फेरि धन्यवाद दिनुभयो। अनि एक/दुई दिनपछि कतै भेटेर चिया खाने सल्लाह भयो। याे नै उहाँसँग मेरो अन्तिम संवाद बन्याे। अनि त्यही लेख उहाँको अन्तिम लेख भयाे। 

मृत्यु अवश्यम्भावी छ। जहाँ, जतिबेला पनि हुन सक्छ। तर पनि हामीलाई मृत्यु सहज रूपमा स्वीकार गर्न कठिन हुन्छ। यो मानवीय स्वभाव हो। हार्दिक सम्बन्ध भएका मानिसको मृत्युले त झन् बढी पोल्दोरहेछ। त्यस्तै भएको छ, डाचा दाइको निधन पनि। मन बुझाउनै गाह्रो। दुई वर्षअघि यस्तै पीडा भएको थियो, डीआर पौडेल दाइको निधन हुँदा।
***
डाचा दाइ अर्थात् डाचाराज वाग्लेले ८/९ कक्षा पढ्दादेखि नै गरिब, श्रमजीवी वर्गको मुक्तिका लागि भनेर कम्युनिस्ट पार्टीको झन्डा उठाउनुभयो। किशोरावस्थादेखि नै पार्टीमा सक्रिय उहाँ सेल कमिटी, गाउँ कमिटी, जिल्ला कमिटी हुँदै केन्द्रमा पुग्नुभयो। ०५०/०५१ सालमा आकर्षक तलब आउने अमेरिकी प्रोजेक्ट ‘बालपोषण’ को जागिर छाडेर कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बन्नुभयो। आरामको जागिरे जीवन होइन, सडकको संघर्षशील जीवन रोज्नुभयो। निमुखा जनताका सुखदुःखको साथी बन्ने संकल्प गर्नुभयो। बरु भोकभोकै हिँड्नुभयो, तर आदर्शबाट कहिल्यै विचलित हुनु भएन।

०५२ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हुनुभयो। माघको चिसो रातमा एकलास जंगलमा प्राण त्याग्नुभन्दा केही घण्टा अघिसम्म पनि उहाँ यही समाज, देश र जनताको हितका लागि भनेर नै क्रियाशील हुनुहुन्थ्यो, मसाल जुलुसको नेतृत्व गर्दै। जुलुसपछिको कोणसभामा मान्छेलाई जुरुक्क उचाल्ने भाषण गर्दै।

एक वर्षअघि सर्लाहीका कुख्यात् सुदखोर श्याम परदेशी र रामबाबु यादवका कर्तुत पर्दाफास गर्ने अभियान उहाँकै नेतृत्वमा भएको थियो। मिटर ब्याजबाट ठगिएका गरिब, निमुखालाई काठमाडौंको गौशालास्थित धर्मशालामा राखेर उहाँले देशका प्रमुख पार्टीका प्रमुख नेतादेखि सञ्चारमाध्यमका सम्पादकसम्मको ध्यानाकर्षण नगराएको भए श्याम परदेशी र रामबाबु यादवहरूको धन्दा अहिलेसम्म रोकिने थिएन। ५० हजार रुपैयाँ ऋण दिएर ५० लाखसम्मको तमसुक बनाउँदै सयौं गरिबको उठीवास लगाउने क्रम जारी नै रहन्थ्यो। तर ती शोषकी अहिले प्रहरीको खोरमा जाकिएका छन्। तिनका अत्याचार अदालतमा मुद्दा बनेका छन्।

डाचा दाइको साथ लागेर खाली खुट्टा नै नेता र सम्पादकका कार्यकक्षमै पुगेर धरधरी रुँदै सुदखोरबाट घरबारविहीन बनाइएका महिलाले जब आफ्नो पीडा पोखे, यौन शोषणको कथा सुनाए, तब मात्रै श्याम परदेशीहरूको धन्दा पर्दाफास भएको थियो। तराई/मधेसका भोका/नांगा महिलाले सुखदोरका हर्कत, तिनले दिएका पीडा धकाउँदै, डराउँदै आफ्नै भाषामा आँसुसँगै पोख्दा सम्पादकहरूले जिब्रो टोकेका थिए, ‘यस्तो पनि हुन्छ र’ भन्दै आश्चर्य व्यक्त गरेका थिए।

डाचा दाइ ‘ठूलाबडा’ नेताको चाकरी, चाप्लुसी र गुलामी गर्न नजान्ने मान्छे हुनुहुन्थ्यो। त्यही स्वभावका कारण पनि उहाँ पार्टीमा ‘पद घटुवा’ मा पर्नुभएको चर्चा हामीले सुनेका थियौं। नत्र ०५२ देखि ०५६ सालसम्म अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष भइसकेको मान्छे जिल्ला कमिटी सदस्यमा झर्नुपर्ने थिएन। तर पनि उहाँ कहिल्यै निराश हुनु भएन। उस्तै ऊर्जा, उस्तै जोस, जाँगरका साथ आन्दोलनको अग्रपंक्तिमा क्रियाशील भइरहनुभयो। पद घटुवा हुँदा पनि ०६२/०६३ सालमा जिल्लामा दोस्रो जनआन्दोलन हाँक्नुभयो। त्यतिबेला उहाँले गर्नुभएका भाषण अहिले पनि कानमा गुञ्जिरहेका छन्। यसरी आफ्नै बलबुतामा अघि बढेका उहाँ नेकपाको केन्द्रीय सदस्य बन्नुभएको थियो। पार्टीको जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको थियो।

***

सरसर्ती हेर्दा डाचा दाइको मृत्यु मोटरसाइकल दुर्घटनामा परेर भएको देखिन्छ। तर गहिरिएर हेर्ने हो भने घटना रहस्यमय छ। उहाँ क्रियाशील दल नेकपाले पनि घटना रहस्यमय भन्दै छानबिनका लागि सम्बन्धि निकायसँग आग्रह गरिसकेको छ।

वास्तवमा उहाँ माथि उल्लिखित सुदखोरजस्ता अपराधीहरूको ‘टार्गेट’मा हुनुहुन्थ्यो भन्ने कुरा प्रस्ट छ। कतै यो ‘दुर्घटना’को मञ्चन तिनैले गरेका त होइनन्? गम्भीर अनुसन्धान आवश्यक छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि जनप्रिय नेता वाग्लेको रहस्यमय निधनबारे पार्टीले छुट्टै छानबिन गर्ने बताउनुभएको छ।

घटनास्थल हेर्दा नेता वाग्ले चढेको ‘मोटरसाइकल आफैं दुर्घटना भएको’ भनेर प्रहरीले भनेको कुरा पत्याउने कुनै आधार देखिँदैन।

राति पौने ९ बजेतिर उहाँ बरहथवाबाट एक्लै नयाँरोडतर्फ आउँदै गर्दा कर्मैयास्थित जंगलको मुखमा मोटरसाइकल ‘दुर्घटना’ भएको देखिन्छ, आफ्नै साइडमा। मोटरसाइकल अगाडि लडेको अवस्थामा थियो भने उहाँ पछाडि। रातिको समय देख्ने कोही भएनन्। मोटरसाइकल अर्को गाडीमा ठोक्किएको पनि देखिँदैन। डीएसपी भाट यही भनिरहेका छन्। तर मोटरसाइकल दुईटुक्रा कसरी भयो त?

तीव्र गतिका कारण मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टिएको भए वा कुनै ठूलो सवारीसाधनले ठक्कर दिएको भए मान्छे अगाडि मोटरसाइकल पछाडि हुनुपर्ने ! लडेको मान्छेलाई त्यो सवारीसाधनले किच्नुपर्ने ! तीव्र गतिका कारण मोटरसाइकल पल्टिएको हो भने सडकमा घिस्रिएको वा लेगार्डले कोतरेको डाम हुनुपर्ने ! त्यस्ता कुनै संकेत छैनन्। त्यस्तै घटनास्थलमा एक थोपो रगत देखिन्न भने हेल्मेट र चस्मा पनि जस्ताका तस्तै छन्। दुवै हात भाँचिएका छन् तर शरीरमा अन्य ठूला चोट छैनन्। टाउको फुटेको छैन। छातीमा कुनै घाउचोट छैन। हात मात्रै भाँचिदा तत्कालै मान्छे कसरी मर्छर? यी र यस्ता प्रश्नका उत्तर अनुसन्धानरत प्रहरीले दिनुपर्नेछ।

तर घटना नियोजित वा भवितव्य जे भए पनि सत्य के हो भने अब डाचा दाइ हामीमाझ हुनुहुन्न। यसबाट उहाँको परिवारलाई मात्र होइन, देशलाई नै क्षति भएको छ। सर्लाहीको समाजले एउटा असल राजनीतिक अगुवा गुमाएको छ, परिवारले असल अभिभावक। सबैभन्दा पीडामा भाउजु सरस्वती, छोराहरू प्रज्वल र प्रलय, बृद्ध अवस्थाका आमाबुवा पर्नुभएको छ। तर पनि भाउजु सरस्वतीले आफूलाई सम्हाल्नुभएको छ। पतिको मृत्यु संस्कारमा रुढिवाद नअँगालेर समाजलाई सकारात्मक सन्देश दिनुभएको छ। कुसंस्कार त्याग्न सक्नु पनि डाचा दाइप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। किनकि उहाँ रुढिवादको कट्टर विरोधी हुनुहुन्थ्यो।

डाचा दाइ ! तपाईंको अन्तिम बिदाइका लागि बागमती नदी किनारमा मानव सागर देख्दा लाग्यो, तपाईंको जीवन सार्थक भयो। अलबिदा प्रिय डाचा दाइ ! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .