ब्लग


७२ वर्षदेखि एउटै पार्टीले शासन गर्दा पनि किन खुसी छन् चिनियाँ?

७२ वर्षदेखि एउटै पार्टीले शासन गर्दा पनि किन खुसी छन् चिनियाँ?

चेतनाथ आचार्य
फागुन ४, २०७७ मंगलबार १४:२४,

नेपालको राजनीतिमा यतिबेला टाउका गन्ने प्रवृत्ति व्यापक छ। कसको आमसभामा कति मान्छे भेला भए भन्ने प्रतिस्पर्धा तीव्र बनेको छ। जसले गर्दा कोरोना महामारी नियन्त्रण अभियान भने छायामा परेको छ। कोरोना त्रासकै कारण दसैं–तिहारमा समेत घर नगई काठमाडौं बसेका मान्छे अहिले गाडीमा कोचाकोच गरेर बुटवल, नारायणगढ, धनगढी, विराटनगर, पोखरालगायत मुख्य सहरमा गइरहेका छन्। काठमाडौंमा हुने आमसभामा त देशभरका मानिस ओसारेर एकअर्कालाई ‘देखाइदिने’ होडबाजी त छँदै छ।

कोरोना महामारीका कारण दुनियाँ ठप्पजस्तै रहेका बेला नेपालका राजनीतिक क्रियाकलापले भने विश्वलाई रमिता देखाइरहेको छ। जुन उदेकलाग्दो मात्र नभएर दुःखदायी र दीर्घकालीन पीडाको कारण बन्न सक्छ। मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट संक्रमित मानिसको संख्या १ हजार ५८१ भन्दा बढी छ भने चीनमा जम्मा १६ जना संक्रमित छन्। यस हिसाबले नेपालमा चीनमा भन्दा झन्डै सयगुणा बढी संक्रमित देखिन्छन्। नेपालमा पनि कोरोना नियन्त्रण भएजस्तो देखिने तथ्यांक भए पनि टाउका गन्ने आमसभाहरूले हरेक गाउँ र परिवारमा कोरोना नपुग्ला भन्न सकिन्न।

नेपालमा ‘भव्य’ आमसभामा उपस्थित हुन घरघर उर्दी जारी गरेर कोरोनालाई जिस्क्याउँदै गर्दा चीनले चाहिँ आफ्ना नागरिकलाई सबैभन्दा ठूलो पर्व ‘वसन्त चाड’मासमेत यात्रा नगर्न भनेको छ। परिवारसँग मिलेर चाड मनाउने उमंग दबाउँदै चिनियाँहरू शुभकामनामा लेख्छन्, ‘पहिले महामारी जितौं, जीवन रहे चाडपर्व र पारिवारिक पुनर्मिलनमा फेरि रमाउन पाइन्छ।’

परम्परागत चिनियाँ पात्रोअनुसार फेब्रुअरी १२ शुक्रबारबाट मुसा वर्ष सकिएर गोरु वर्ष सुरु भएको छ। यही नयाँ वर्ष नै चिनियाँहरूको वसन्त चाड हो। यो चाडमा यात्रा गर्ने अवधि ४० दिनको रहने चिनियाँ चलन छ, जुन गत जनवरी २८ तारिख सुरु भएको छ। यसलाई चिनियाँ भाषामा छुनयुन भनिन्छ। यस अवधिमा चीनमा लगभग ३ अर्ब चिनियाँले यात्रा गर्छन्। भनिन्छ– यो अवधिमा हरेक चिनियाँले सरदर दुईपटकभन्दा बढी यात्रा गर्छन्। जुन यात्रालाई विश्वको सबैभन्दा विशाल मानव आवतजावत मानिन्छ। तर कोरोना महामारीका कारण गत वर्ष र यो वर्षको वसन्त चाडमा यात्रा गर्ने चिनियाँको संख्या ह्वात्तै घटेको छ। चीन सरकारले आफ्ना नागरिकलाई आफू कार्यरत क्षेत्रमै चाड मनाउन, कतै घुम्न ननिस्कन भनेकाले सधैं भीडभाड हुने रेलवे स्टेसन र विमानस्थल अहिले सामान्य अवस्थामा छन्।

चिनियाँ यातायात मन्त्रालयले जनाएअनुसार वसन्त चाडमा विशाल संख्यामा हुने यात्राको पहिलो दिन ३८ लाख जनाले मात्र यात्रा गरेका छन्। यो सन् २०२० को तुलनामा ७३.७ प्रतिशत कम हो। चीनको यातायात तथा ढुवानी मन्त्रालयका अनुसार चालु वसन्त चाडको बिदाका अवसरमा यात्रा गर्ने चिनियाँको संख्या १ अर्ब १५ करोड २० लाख हुने अनुमान गरिएको छ। यो संख्या सन् २०२० को तुलनामा २० प्रतिशत घटी हो भने सन् २०१९ को तुलनामा ६० प्रतिशत कम। यसको अर्थ सामान्य अवस्थाको वसन्त चाडमा भन्दा अहिले ८० प्रतिशत कम चिनियाँले यात्रा गर्नेछन्।

सन् २०२० को मध्यदेखि नै चीनमा कोरोना महामारी लगभग नियन्त्रण भइरसकेको थियो। चीनले गत सेप्टेम्बरमा बेइजिङमा भौतिक रूपमै उपस्थित हुने गरी अन्तर्राष्ट्रिय सेवा व्यापार मेला आयोजना गरेको थियो। महामारीपछि गत अक्टोबर १ तारिख राष्ट्रिय दिवसको लामो बिदामा ६० करोडभन्दा बढी चिनियाँले यात्रा गर्दा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए।

गत डिसेम्बरदेखि पुनः कोरोना संक्रमित फेला पर्न थालेपछि चीन चिन्तामा परेको छ। तसर्थ चीन सरकारले परम्परागत चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडमा पनि सकेसम्म यात्रा नगर्न नागरिकलाई आह्वान गरेको हो।

सरकारले आफ्ना नागरिकलाई घर नगईकन आफू बसेकै ठाउँमा चाड मनाउन अनुरोध मात्र गरेन, तिनका लागि आर्थिक सुविधाका विभिन्न प्याकेज पनि ल्यायो। ठूला कारखानाले मजदुरलाई बिदाका दिन काम गरे दोब्बर पारिश्रमिक दिने व्यवस्था गरे भने उनीहरूका घरमा रहेका बाबाआमा तथा वृद्धवृद्धालाई विशेष उपहार पठाउने प्रबन्धसमेत मिलाए।

चीनको यस्तो नीतिको प्रशंसा गर्दै बेलायतको डेली टेलिग्राफले लेखेको छ– ‘नगद अनुदान, निःशुल्क चलचित्रका टिकटलगायत कल्याणकारी कार्यक्रममार्फत चीनले आफ्ना नागरिकलाई यथास्थानमै बसेर वसन्त चाड मनाउन प्रोत्साहन गरेको छ।’ जर्मनी विसर कुरियरका अनुसार चीनका विभिन्न संस्थानले विभिन्न सक्रिय प्रोत्साहन अभियान चलाएर मनोरन्जनात्मक तथा स्वस्थ कार्यक्रम प्रदान गरेको छ।

यसपटक चीनले वसन्त चाडलक्षित अनलाइन पर्व उपहार कार्यक्रम पनि सञ्चालन गरेको छ। गत जनवरी २० तारिखदेखि इन्टरनेटमा ‘वसन्त चाड कोसेली महोत्सव’ सञ्चालन गरिएको हो। चीनको वाणिज्य मन्त्रालयले फेब्रुअरी ४ तारिख प्रकाशन गरेको तथ्यांकअनुसार महोत्सवमा फेब्रुअरी ३ तारिखसम्म चीनभरि इन्टरनेटमार्फत भएका खुद्रा बिक्री रकम ५ खर्ब १० अर्ब चिनियाँ युआन पुगेको थियो। जन्मथलो फर्कन नपाएकाहरूले अनलाइनबाट अर्डर गरेको कोसेली आफ्ना आमाबुवाको हातमा पुर्‍याइदिएका छन्।

चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तले वसन्त चाडका अवसरमा कामदारलाई ठूलो उपहार र यात्रा कार्ड वितरण गरेको छ। त्यसैगरी पश्चिममा पर्ने सछ्वान प्रान्तले विभिन्न उमेरका नागरिकको रुचिलाई ध्यान दिएर परम्परागत र आधुनिक गुण समेटिएको वसन्त चाड मनाउने रंगीचंगी कार्यक्रम आयोजना गरेको छ। फुचियान प्रान्तले इन्टरनेटमार्फत १० वटा सौन्दर्य जोडेर १० हजार शब्दमा शुभकामना लेख्ने प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा थुप्रै प्रकारका उपहार जित्न एउटै परिवारका धेरै सदस्यले भाग लिन आह्वान गरिएको छ।

वयस्क छोराछोरी चाड मनाउन घरमा नफर्किएपछि वृद्ध बाबुआमाको चित्त दुख्ला भनेर चीनको नागरिक मामिला मन्त्रालयले सहर तथा ग्रामीण भेगका आवास क्षेत्र, स्वयंसेवक, पेसागत निवृत्तिभरण सेवाका संस्था परिचालन गरेको छ। जसले छोराछोरी घरमा नफर्किएका वृद्धवृद्धाका लागि चिकित्सा, खाद्यान्न ढुवानी, किनमेल र हेरचाहलगायत सेवा प्रदान गरिरहेका छन्। च्याङसु प्रान्तस्थित चिनछन कपडा उद्योगले चाडमा घर नफर्कने कर्मचारीलाई लक्ष्य गरी चाड खर्च, ओभरटाइम तलब वितरण गरेको छ। पर्वका बेला काम गर्ने कामदारले पर्वपछि आलोपालो गरेर नातेदार भेट्न घर जान पाउने छन्। फुच्यान प्रान्तमा एक उद्योगले कर्मचारीलाई वसन्त चाडमा काम गरेबापत ३ करोड चिनियाँ युआन वितरण गरेको छ।

चीनभित्र मात्र होइन, विदेशमा बसेका चिनियाँलाई समेत सकेसम्म यो समय चीनमा नफर्किन भनिएको छ। त्यसकारण विदेशमा रहेका चिनियाँलाई चाडको न्यास्रो मेट्न सम्बन्धित देशका दूतावासले केही प्याकेज अगाडि सारेका छन्। वसन्त चाड आउनुभन्दा एक महिनाअघि नै जनवरी १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले विदेशस्थित चिनियाँ दूतावासले विद्यार्थी र अन्य प्रवासी चिनियाँलाई ‘वसन्त चाडको प्याकेज’ वितरण गर्ने जानकारी गराएका थिए।

वसन्त चाडपूर्व र चाडका बेला रेल र विमानबाट यात्रा गर्नेको संख्या गत वर्षको तुलनामा निकै घटेको छ भने चीनका ३६ ठूला सहरमा ग्रामीण क्षेत्र तथा अन्य प्रान्तबाट गएर काम गर्नेमध्ये गत वर्षभन्दा ४ करोड ८० लाखभन्दा बढी मानिसले घर नगईकन चाड मनाएका छन्। महामारी नियन्त्रण गर्न चिनियाँ जनताले आफ्ना चाहना र पारिवारिक मिलनसमेत त्यागेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनका महानिर्देशकका वरिष्ठ सल्लाहकार एलवर्डले भनेका छन्, ‘चिनियाँमा जिम्मेवार र समर्पण भावना देखिन्छ। जसबाट महामारी नियन्त्रण गर्न योगदान पुग्नेछ।’

करोडौं चिनियाँले सरकारका अनुरोध, निर्देशन तथा नीतिलाई सहजै स्वीकार गरेको देखेर विश्व चकित छ। यसको मुख्य कारण चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को शासन शैली र जनतालाई प्रामथिकतामा राखेर काम गर्ने संस्कार भएको भन्दै सबैले प्रशंसा गरेका छन्।

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा ९ करोड २० लाख जनाजति मात्र चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य छन्। साढे ६ प्रतिशत चिनियाँलाई मात्र सदस्य बनाएको सीपीसीले ७२ वर्षदेखि चीनमा शासन गरिरहेको छ। जनताकेन्द्रित शासन भएकाले सीपीसीका गैरसदस्यले पनि सीपीसी र चीनको शासन व्यवस्थालाई उत्तिकै सम्मान र आदर गर्छन्।

पछिल्लो समय अमेरिकीलगायत विभिन्न थिङ्कट्यांकले गरेका अनुसन्धानअनुसार सबैभन्दा धेरै जनताले मन पराएकामध्ये चीनको शासन व्यवस्था अग्र स्थानमा छ। सन् २०२० मा अमेरिकी नामी सार्वजनिक सम्बन्ध कम्पनी एडेलमानले गरेको सर्वेक्षणअनुसार चीन सरकारप्रति नागरिकको विश्वास दर ९५ प्रतिशत पुगेको छ। विश्वमा सरकारप्रति औसत विश्वासदर ६५ प्रतिशत रहेको अवस्थामा चीनको उच्च देखिएको छ। महामारीपछि धेरै देशमा शासन सत्ताप्रति नागरिक असन्तुष्ट र निराश भएका बेला चीनमा चाहिँ बढेको देखिन्छ। सिंगापुरको ल्यानह चाउपो समाचारपत्रले फेब्रुअरी ७ तारिख प्रकाशन गरेको समाचारअनुसार महामारी प्रतिरोधको सफलताबाट चिनियाँ युवामाझ देशप्रेम भावना बढेको छ। २०औं शताब्दीको ८० र ९० को दसक र सन् २००० पछि जन्मेका चिनियाँले चीनको राष्ट्रिय व्यवस्थाको उच्च प्रशंसा गरेका छन्।

आफ्ना पीरमर्का बुझ्ने शासनशैली भएपछि नागरिकले पनि राष्ट्रलाई संकट परेका बेला सहयोग गर्छन् भन्ने उदाहरण चीनमा देखिएको छ।

नेपाली जनता यतिबेला देशका लागि होइन, आफ्ना नेताका स्वार्थपूर्तिका लागि आमसभामा सहभागी भइरहेका छन्। नागरिकमा देश र आफ्नो माटोप्रति माया हुनुपर्छ, कुनै व्यक्ति (नेता) विशेषप्रति होइन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .