ad ad

ब्लग


मेस्सीको अन्तिम जादुको प्रतीक्षा

मेस्सीको अन्तिम जादुको प्रतीक्षा

सरोज न्यौपाने
पुस २, २०७९ शनिबार १७:२५, काठमाडौँ

अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनेल मेस्सी आफ्नो खेल जीवनको उत्तरार्धमा छन्। अन्तर्राष्ट्रिय फुटबल करिअरबाट विश्राम लिनुपूर्व अरब विश्वकपमा मेस्सीले गरेको अहिलेसम्मकै उत्कृष्ट विश्वकप प्रदर्शन हो भन्दा अन्यथा हुनेछैन। त्यो पनि ३५ वर्षको उमेरमा! आफ्नो करिअरको अन्तिम विश्वकप खेलिरहेका मेस्सी जति दबाबमा छन्, त्यति नै धेरै दुनियाँभरका फुटबलप्रेमीहरूको समर्थन र प्रशंसा पाइरहेका छन्। एकजना खेलाडीका लागि सफलता र सद्भावको धेरै ठूलो अर्थ र मूल्य हुन्छ। जुन मेस्सीले प्राप्त गरिसकेका छन्, गरिरहनेछन्।

विश्वविजेता बनेर संसारलाई हाँक दिने मृगतृष्णा बोकेर मेस्सी-अर्जेन्टिनी समर्थक बाँचेको पनि आज ३६ वर्ष भएको छ। आफ्नै नायकत्वमा करिअरको अन्तिम विश्वकपको अन्तिम खेल खेल्न मैदान प्रवेश गर्न लागेका मेस्सीसँग विश्वस्तरको डिफेन्स सहित युवा खेलाडी, अनुभवी सहकर्मी, पेनाल्टी विज्ञ गोलकिपरको साथ छ। र, त्यसलाई साथ दिइरहेका मुख्य तीनवटा पक्ष छन्, उत्कृष्ट प्रशिक्षक, एकताबद्ध टोली र आत्मविश्वास सहितको जितको भोक। मेस्सीको अर्जेन्टिनालाई रोकेर विश्वकप जित्न फ्रान्सेली टोलीलाई कठिन मात्र होइन, असम्भवप्राय: नै छ।

हामीलाई स्मरण छ, मेस्सी अर्जेन्टिनालाई विश्वविजेता बनाउने यात्राको धेरै नजिक पुगेका थिए।  तर, त्यसमा युरोपेली टिम जर्मन खलनायक बन्यो र सन् २०१४ मा अर्जेन्टिना धेरै नजिक पुगेर पनि उपाधिबाट वञ्चित हुनुपर्‍यो।

विश्वविजेता, त्यो पनि आधुनिक फुटबलको, यो सजिलो कुरा भने पक्कै होइन। कठोर लडाइँ पछिको दिग्विजय हासिल गर्न अहिलेको अर्जेन्टिना सबल छ, योग्य छ। उसले पछिल्ला ४२ मध्ये १ खेल मात्रै हारेको छ। ब्राजिल, इटाली, नेदरल्यान्डस्, क्रोएसिया, पोल्यान्ड र मेक्सिको जस्ता बलिया टोलीमाथि अर्जेन्टिना हावी हुँदै आएको छ। यो तथ्यले अर्जेन्टिना फ्रान्सभन्दा पनि राम्रो र विश्वविजेता बन्न लायक टिम हो भन्नेमा दुविधा छैन।

सातौं पटकका बालोन डि'ओर विजेता, सातै पटकका फिफा वर्ष खेलाडी, ६ पटकका युरोपियन गोल्डेन बुट बिजेता, ४ पटकको च्याम्पियनसिप लिग विजेता र अन्तर्राष्ट्रिय उपाधितर्फ कोपा अमेरिका र युरोपियन/दक्षिण अमेरिकी कप विजेता मेस्सीले सबथोक जितेका छन्। बार्सिलोनाबाट मात्रै ३५ बढी उपाधि विजेता मेस्सीले फुटबलमा जित्न बाँकी नै केही छैन, बाहेक फिफा विश्वकप।

आफ्नै कप्तानी र मुख्य प्रदर्शनमा उत्कृष्ट व्यक्तिगत तथ्यांक सहित कतार विश्वकपको फाइनलमा पुगेका मेस्सी २२ औं संस्करणको अरब विश्वकप जितेर आफूलाई 'ग्रेटेस्ट अफ अल टाइम' प्रमाणित गर्न चाहन्छन्। शताब्दी फुटबलरको उत्कृष्ट पहिचान सहित आजीवन आफूमाथिको दबाब र आलोचनालाई साम्य पार्दै आफ्नो विशिष्ट खेल यात्राबाट 'ग्रेसफुल एक्जिट' गर्न उद्धत मेस्सी आठौं पटकको बालोन डिओर अवार्डका समेत एक्ला हकदार बन्नेछन्।

४ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका मेस्सी १३ वर्षको उमेरमा स्पेनी क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए। झन्डै १७ वर्ष बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका मेस्सीले ३५ वटा उपाधि हात पारे। अघिल्लो सिजन,  अर्थात् सन् २०२१ मा फ्रान्सेली क्लब पीएसजी पुगेका मेस्सी पहिलो सिजन नै लिग वानका विजेता बन्न सफल भए।

तथ्यांकमा हेर्दा मेस्सी साँच्चिकै असाधारण छन्, अविश्वसनीय छन्। जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियासँगको खेलसँगै मेस्सीले आफ्नो १००२ औं खेलको आँकडा पुरा गरेका छन्। त्यसक्रममा उनले ७९१ गोल सहित ३४० गोलका लागि अवसर सिर्जना गर्न सफल छन्। यी सबै सफलता र कीर्तिमान उनको उत्कृष्ट खेल शैली र असाधारण क्षमताले सम्भव भएको हो। त्यसैले त उनी संसारभर जादुयी, अर्थात् म्याजिक मेस्सीको उपनामले विख्यात छन्।

१८ वर्षको उमेरमा हंगेरी विरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुपरस्टारको नाममा ९६ गोलको रेकर्ड कायम छ। जारी विश्वकपमा साउदी विरुद्ध पेनाल्टीमा पहिलो गोल गरेका मेस्सीले फाइनल खेलसम्म आउँदा ६ खेलबाट ५ गोल र तीन असिस्ट पुरा गरिसकेका छन्। सन् २००६ को विश्वकपदेखि सुरु भएको उनको यो पाँचौँ विश्वकप हो। अन्तिम विश्वकपका लागि अर्जेन्टिनाबाट खेलिरहेका मेस्सीले सर्वाधिक ११ गोलको कीर्तिमान कायम गरेका छन्। उनी यसपटकको विश्वकप फुटबलमा गोल्डेन बुटका प्रमुख दाबेदार पनि हुन्।

फुटबलमा हरेक सफलताको स्वाद चाखेका मेस्सीलाई विश्वकपको भोकले कहिल्यै छाडेन। मैले अगाडि पनि उल्लेख गरें कि मेस्सी ब्राजिलमा जारी विश्वकपको धेरै नजिक पुगेर पराजित हुनुपर्‍यो। त्यसबाट मेस्सीले यतिधेरै आलोचना र अपमान  हुनुपर्‍यो कि मेस्सीले आफ्नै देशका समर्थकबाट आफ्नो जर्सीमा आगो लगाइएको हेर्नुपर्‍यो। उनको पुत्ला जलाइयो। त्यसबाट विक्षिप्त हुँदै उनले फुटबलबाट सन्यासको घोषणा नै गरे।

तर, अर्जेन्टिनाका तत्कालीन राष्ट्रप्रमुखदेखि संसारभरका फुटबलप्रेमीको सद्भाव र दबाबले उनलाई पुनः राष्ट्रिय टिममा फर्किन बाध्य पार्यो। हुनसक्छ, उनले आफ्नो अन्तिम विश्वकप अरब विश्वकप जित्नकै लागि उनी फुटबलमा फर्किएका थिए कि?  एउटा सिंगो रातको प्रतीक्षापछि यो कुरा थप पुष्टि हुनेछ।

अत: अनेकौं सफलता र कीर्तिमानले सुसज्जित मेस्सीको फुटबल करिअर साच्चिकै असाधारण छ। तर, अन्तर्राष्ट्रिय करिअर भने अपेक्षित राम्रो हुन नसकेको साँचो हो। अघिल्लो वर्ष ब्राजिललाई उसकै भूमिमा हराएर दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनाले जित्यो। मेस्सीको मुख्य प्रदर्शन र कप्तानीमा अर्जेन्टिनालाई २८ वर्षदेखिको उपाधिविहीन यात्रामा पूर्णविराम लगाउँदै मेस्सीलाई समेत अन्तर्राष्ट्रिय उपाधि दिलायो। त्यही खेल, त्यही उपाधिको उर्जामा टेकेर अर्जेन्टिनाको विश्वविजेता बन्ने सपना पुनर्जीवित भयो।

र, आज त्यही उर्जा र प्रेरणाले अर्जेन्टिनालाई विश्वविजेताको सफलता नजिक पुर्‍याएको छ। र, अरबमा मात्रै होइन, आज दुनियाँ नै मेस्सीमय बनेको छ। अर्जेन्टिनालाई ३६ वर्षपछि पुनः विश्वविजेता बनाएर फुटबल जगतमा पेले र म्याराडोनाको भन्दा फराकिलो पहिचान बनाउने ऐतिहासिक अवसर मेस्सीले कुनै पनि मूल्यमा पनि खेर फाल्न चाहँदैनन्। यसका अघि फ्रान्सेली टिम निष्प्रभावी हुने निश्चित जस्तै छ। अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्यको एक कदम मात्रै बाँकी रहँदा आधा धर्ती मेस्सीको 'ग्रेसफुल एक्जिट'का लागि प्रार्थना गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .