ad ad

अपराध


तीन महिनामै ५१ प्रतिशतले बढ्यो सामाजिक अपराध

तीन महिनामै ५१ प्रतिशतले बढ्यो सामाजिक अपराध

नेपालखबर
साउन २६, २०७९ बिहिबार १८:४६, काठमाडौँ

पछिल्लो तीन महिनामा देशभर अपराध बढेको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तीन महिनाको तथ्यांकले अपराधका घटनामा ५१ प्रतिशतसम्म वृद्धि भएको पाइएको छ। 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गरेका हुन्। जसमा ज्यानसम्बन्धी कसुर २ सयले बढेको छ। देशभरको पछिल्लो तीन महिनाको तथ्याँक अनुसार अघिल्लो वर्ष भन्दा ८ प्रतिशतले ज्यानसम्बन्धी घटनामा वृद्धि भएको छ। 

गत वर्षको यही अवधिमा २३२६ घटना भएकोमा यसवर्ष २५२९ घटना भएका छन्। आत्महत्या भने गत वर्ष जतिनै भएको छ। यसवर्ष पनि तीन महिनामा २०५२ जनाले नै आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। चोरीका घटनामा ६२ प्रतिशतले बृद्धि भएको छ। गत वर्ष ५३६ वटा चोरीका घटना भएकोमा यसवर्ष ८७० वटा चोरी भएका छन्। 

संगठित तथा आर्थिक अपराध पनि ४० प्रतिशतले बढेको छ। गत वर्षको तीन महिनामा ९८० घटना भएकोमा यस वर्षको तीन महिनामा १३७७ वटा घटना भएका छन्। सामाजिक अपराध पनि बढेको तथ्यांकले देखाएको छ। यस्ता अपराध गतवर्षको यो अवधिमा १६७२ भएका थिए। यसवर्ष २५३९ वटा घटना भएका छन्। 

महिला तथा बालबालिका सम्बन्धी घटना पनि बढेको छ। गत वर्ष १०९९ र यसवर्ष १२३४ वटा घटना भएका छन्। सवारी ज्यानसम्बन्धी गतवर्ष ४९४ र यसवर्ष ६६३ घटना भएका छन्। अन्य घटना २३४ प्रतिशतसम्म बढेको छ। गत वर्षको तीन महिनामा अन्य घटना ५५७ मात्रै भएका थिए। तर यस वर्षको तीन महिनामा १८६३ भएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सार्वजनिक गरेका छन्। 

गत वर्ष कोभिडका कारण अपराध कम भएपनि यसवर्ष बढेको आईजीपी सिंहले बताए। अपराधसँगै कारबाही पनि बढाइएको प्रहरीको दाबी छ। गत वर्ष यो अवधिमा ९ हजार ७१६ वटा मुद्दा दर्ता भएका थिए। यसवर्ष मुद्दाको संख्या बढेर १३ हजार १२७ पुगेको छ। 

यी अपराधमा गत वर्ष ९ हजार ७७८ जना अभियुक्त थिए। ती मध्ये ७ हजार २२८ जना पक्राउ गरेको थियो। २ हजार ५५२ जना फरार थिए। यसवर्ष १३ हजार १२२ जना अभियुक्त रहेकोमा ९ हजार ४७० जनालाई पक्राउ गरेको छ। ३ हजार ६५२ जना अझै फरार छन्। 

यसवर्ष साइबर अपराध पनि बढेको छ। वैशाखमा गत वर्ष ४ वटा मात्रै साइबर अपराधका मुद्दा दर्ता भएका थिए। यसवर्ष ११ वटा मुद्दा दर्ता भएका छन्। जेठ र असारमा ११/११ वटा मुद्दा दर्ता भएको थियो। यसवर्ष जेठमा १५ र असारमा १७ वटा मुद्दा दर्ता भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .