प्रवास


नेपाली पहिचान जोगाउन बेलायतमा ‘प्रतिभा नक्षत्र’

जहाँ विश्वभरका नेपाली बालबालिका तथा किशोर-किशोरीले देखाउन पाउनेछन् आफ्ना प्रतिभा
नेपाली पहिचान जोगाउन बेलायतमा ‘प्रतिभा नक्षत्र’

मगेन्द्र राई
बैशाख २७, २०८२ शनिबार २०:१, बेलायत

सन् १९८५ मा वैदेशिक रोजगार ऐन लागु भएपछि ठूलो संख्यामा नेपालीहरू विदेशिन थाले। थातथलो र माटो छाडेसँगै भाषा, कला, संस्कृति र परम्परा ओझेलमा पर्दै गए, गइरहेका छन्।

पछिल्लो समय बेलायत बसोबास गर्ने नेपालीको स‌ंख्या पनि बढिरहेको छ। विशेष गरी पूर्वगोर्खा र तिनका परिवारले आवासीय अधिकार पाएपछि बेलायतमा नेपालीको संख्या बढ्न पुगेको हो।

त्यसो त व्यापार, रोजगारी, अध्ययन गर्न आउनेलगायत कारण पनि बेलायतमा नेपालीको उपस्थिति उल्लेख्य भएको हो। 

एकातिर मातृभूमि छाड्दै परदेशिएकाहरूले आफ्ना चालचलन, रहनसहन, भाषा, कला-संस्कृति र पहिचान बिर्संदै जाने जोखिम छ भने अर्कातिर बेलायतमै जन्मिएर हुर्किंदै गरेको नयाँ पुस्ता त नेपाली भाषासमेत बोल्न नसक्ने स्थिति सिर्जना भएको छ।

भाषा, कला, संस्कृति तथा रीतिरिवाज गुम्दा नेपाली समुदायले आफ्नो पहिचानसमेत गुमाउँछ। पहिचान गुमे अस्तित्वमै संकट आउन सक्छ।

यही संवेदनशीलता विचार गरेर बेलायतवासी नेपालीले नेपाली भाषा, कला, संस्कृति, परम्परा संवर्द्धन र संरक्षणका लागि विश्वभर छरिएर रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने अभियान सञ्चालन गर्ने गरेका छन्।

उनीहरूले बालबालिका र युवालाई लक्ष्य गरी केही वर्षदेखि वार्षिक रूपमा ‘प्रतिभा नक्षत्र’ प्रतियोगिता आयोजना गरिरहेका हुन्।

जहाँ विश्वभरका नेपाली बालबालिका तथा किशोर-किशोरीले आफ्ना प्रतिभा तथा कला प्रस्तुत गर्ने अवसर पाउँछन्। 

ककसले भाग लिन पाउछन्, कसरी दिने आवेदन?
आउने अंग्रेजी महिना अगस्टको दोस्रो हप्ता दक्षिणपूर्वी लन्डनको वुलविचस्थित सेन्ट जोर्ज ग्यारिजन चर्चमा आयोना हुने ‘प्रतिभा नक्षत्र’मा सहभागिताका लागि आवेदन खुला गरिसकिएको छ।

आवेदन विश्वभरका ६-११ वर्षका बालबालिका तथा यसभन्दा माथि १९ वर्षसम्मका किशोरकिशोरीले जुलाई ७ सम्म दिन पाउनेछन्। 

आयोजकका अनुसार अनलाइनमार्फत आवेदन दिन सकिनेछ। त्यसका लागि प्रतियोगिता आयोजकको आधिकारिक वेबपेज www.pratibhanakshatra.org मा गएर आवेदन फाराम भर्न सकिनेछ।

यस्तै ‘प्रतिभा नक्षत्र’ फेसबुकमार्फत पनि आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ। 

प्रतिभा देखाउने उत्तम थलो
संसारभरका नेपाली बालबालिका तथा किशोरकिशोरीले उक्त कार्यक्रममार्फत आफ्नो खुबी देखाउन पाउनेछन्। 

नेपाली गीत, स‌ंगीत, नृत्य, साहित्य, कला, चित्रकलालगायत विधामा भाग लिन पाइनेछ। 

उत्कृष्ट हुनेहरूलाई नगद तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। 

एक तीर, दुई सिकार
कार्यक्रममा प्रतिभा भिलेज र नेपाली एक्पो गरी प्रमुख दुई आकर्षण हुनेछन्। प्रतिभा भिलेजअन्तर्गत नेपालको झल्को दिने प्रवेशद्वार, नेपाली परिकार, खेल, मौलिक बाजा, परम्परागत डोको, नाङ्लो, ढिकी, जाँतो, विभिन्न नेपाली चाडपर्वमा नाचिने  सांस्कृतिक नाच, विभिन्न जातजातिका मौलिक पहिरनलगायत प्रदर्शन हुनेछन्।

साथै स्वस्थ वातावरणजस्ता चेतनामूलक कार्यक्रम पनि हुनेछ। जसबाट नेपाली मात्र नभएर विदेशी नागरिकले समेत नेपालबारे जान्नेबुझ्ने मौका पाउनेछन्।

नेपाली एक्पोमार्फत विषेशगरी नेपाली अर्गानिक खाद्यान्न, लत्ताकपडा, मौलिक गरगहना, पोसाकरुको बिक्री तथा प्रवर्द्धन गरिनेछ।

‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ नाराका साथ उक्त प्रदर्शनी हुनेछ।

सन् २०१७ देखि गर्न थालिएको उक्त कार्यक्रमलाई ब्रान्डिङ गर्दै विश्वभर फ्रेन्चाइजका रूपमा विकास गर्ने योजना रहेको कार्यक्रमका परिकल्पनाकार तथा संयोजक राजेन्द्र खसले नेपालखबरसँग बताए।

‘नेपालमै पश्चिमा संस्कृतिले प्रभाव परिरहेको अवस्थामा प्रवासमा त झन् त्यसको प्रभाव नपर्ने कुरै भएन। हाँगा जहाँसम्म फैलिए पनि जरा त हाम्रो नेपाल नै हो। हामीले आफ्नो मौलिकता गुमायौँ भने हाम्रो पहिचान गुम्छ, पहिचान गुमे अस्तित्व नै संकटमा पर्न सक्छ,  उनले भने, त्यसैले हामी बेलैमा सचेत हुनुपर्छ। हामी जहाँ रहे पनि हाम्रो शरीरमा त नेपाली रगत नै बगिरहेको छ, जुन कहिल्यै परिवर्तन हुँदैन।’

उनले कार्यक्रममार्फत विश्वभरका नेपालीलाई एउटै मञ्चमा उभ्याउन चाहेको बताए। 

आफैँलाई बुझ्ने, अरूसँग जोडिने र अन्तरक्रिया गर्दै नेपालीमाझ नेपाली कला, संस्कृति, भेषभूषा, परम्परा, भाषा, साहित्यको संरक्षण र संवर्द्धन गर्दै नयाँ पुस्तालाई आफ्नो विरासत हस्तान्तरण गर्नु कार्यक्रमको मूल मर्म रहेको उनको भनाइ छ। 

उनका अनुसार एक दिनभरि सञ्चालन हुने उक्त कार्यक्रम बेलायतमा रहेका विभिन्न संघसस्था आयोजकका रूपमा रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad