Draft


देवकोटा संग्रहालयः एक वर्षमा २ करोड ५० लाखको सहमति

देवकोटा संग्रहालयः एक वर्षमा २ करोड ५० लाखको सहमति

कृष्ण आचार्य
कात्तिक ८, २०७६ शुक्रबार ९:४९,

काठमाडौं मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको कर्म घरलाई संग्रहालय बनाउने एक वर्षअघिको तयारीले खासै गति लिन सकेको छैन। 

गत वर्ष बालुवाटारमा आयोजित देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए। तर, घोषणा गरेको एक वर्ष पुगिसक्दासमेत जग्गाको मुआब्जा निर्धारणबाहेक उपलब्धी भएको देखिँदैन।

प्रधानमन्त्री ओलीले देवकोटाको परिवारसँग कुनै सल्लाह नै नगरी संग्रहालय बनाउने घोषणा गरेका थिए। त्यसैले जग्गाको मोलमोलाइ गर्न र परिवारका सदस्यसँग सहमति गर्नमै समय लागेको हो।

devkota4

यसरी बित्यो एक वर्ष
प्रधानमन्त्रीको घोषणापछि २७ मंसिर २०७५ को मन्त्रिपरिषद् बैठकले देवकोटाको घरलाई नेपाल प्रज्ञा प्रतिष्ठान मातहतमा ल्याएर संग्रहालय बनाउने काम अघि बढाउने निर्णय गरेको गर्याे।

मैतिदेवीको १२ आना जग्गाको मुआब्जा निर्धारण गर्न एउटा समितिसमेत बन्यो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा गठन भएको समितिमा देवकोटाका परिवारका सदस्य, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, नापी, मालपोत र गुठी कार्यालयका एक–एक जना प्रतिनिधि थिए।

समितिले यसबीच देवकोटाको परिवारसँग सल्लाह गर्न खोज्यो। तर, दुई छोरा पद्म र दीपक विदेशमा रहेका कारण कुरा अघि बढ्न सकेन। छोरी अम्बिकादेवीसँगको छलफल केवल औपचारिकतामा मात्र सीमित रह्यो।

भिडियोः

‘भाइहरु विदेशबाट आएपछि मैतिदेवीको जग्गाको साटो अन्तै जग्गा दिने या नगद भन्ने विषयमा छलफल भयो’, देवकोटाकी छोरी अम्बिकादेवी भन्छिन्, ‘सो जग्गा गुठीको रहेका कारण प्रक्रियामा केही ढिलाई भयो।’

सो जग्गा देवकोटा पुत्री मीराको नाममा थियो। उनको निधन भइसकेको छ। त्यसैले दुई छोराको नाममा नामसारी गर्न केही समय लाग्यो। छोराहरु विदेशबाट आएपछि बल्ल सो प्रक्रिया अगाडि बढ्यो र मोटामोटी सहमति जुट्यो।

devkota3

२ करोड ५० लाखमा सहमति
समितिले १२ आना जग्गाको ५ करोड रुपैयाँ मूल्य निर्धारण गरेको थियो। गुठीको जग्गा भएकाले उसको ६० प्रतिशत र भोगचलन गर्दै आएको पक्षको ४० प्रतिशत हक हुन्छ। यो व्यवस्था ऐनमै उल्लेख छ।
तर, देवकोटा परिवारलाई ५० प्रतिशत अधिकार दिनेगरी आपसी सहमति भयो। जसअनुसार परिवारका सदस्यले २ करोड ५० लाख रुपैयाँ पाउने भए।

‘अब स्वामित्व प्रज्ञाको नाममा सार्नका लागि सरकारले सो रकम दिनुपर्ने हुन्छ, त्यसका लागि पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा ताकेता गरिसकेको छ’ प्रज्ञा कुलपति गंगाप्रसाद उप्रेती भन्छन्, ‘जग्गा हाम्रो नाममा आउनासाथ संग्रहालय निर्माणको काम अघि बढाउने छौँ।’

फोटोफिचरः भित्ताबाट आफ्नै घरको दुरावस्था चिहाइरहेका छन् देवकोटा

अर्थले रकम भुक्तानीका लागि प्रक्रिया अघि बढाइसकेको छ। तिहारपछि यसले अन्तिमरुप लिने बुझिएको छ। देवकोटा परिवारले पैसा दिएपछि मोहिको हैसियत प्रज्ञाले लिनेछ। त्यसबापत प्रज्ञाले गुठीलाई कर तिर्नेछ।

devkota2

कहिले बन्ला?
जग्गा प्रज्ञाको नाममा नै नआएकाले देवकोटा संग्रहालय कहिले बन्ने भन्ने कुनै टुंगो छैन।

अर्थ मन्त्रालय स्रोतकाअनुसार मन्त्रालयबाट पैसा निकासा हुन अझै केही समय लाग्छ। त्यसपछि नामसारी लगायतका काममा समय जाने देखिन्छ। देवकोटाका दुवै छोरा यतिबेला विदेश गइसकेका छन्।
पैसा निकासा भएपछि नामसारीका लागि उनीहरु आउनुपर्नेछ। त्यसपछि जग्गा प्रज्ञाको नाममा आउनेछ।

‘प्रज्ञाको नाममा आएपछि बल्ल काम सुरु हुने हो’, कुलपति उप्रेती भन्छन्, ‘त्यसअघि हाम्रो भूमिका केही छैन, काम पनि सुरु गर्न सक्दैनौँ।’

प्रज्ञाको नाममा जग्गा आएपछि डिपीआरको काम सुरु हुन्छ। त्यसका लागि कम्तिमा पनि ५ महिनाको समय लाग्ने देखिन्छ।

डिपीआर बनेपछि प्रज्ञाले सरकारसँग भवन निर्माणका लागि पैसा माग्नेछ। मन्त्रिपरिषद्बाट पारित भएपछि प्रज्ञाले पैसा पाउँछ। त्यसपछि बल्ल ठेक्का प्रक्रिया अगाडि बढ्छ।

पहिला घर बनेपछि त्यहाँ के–कस्ता सामग्री राख्ने भन्ने टुंगो लगाइनेछ। पछिल्लो एक वर्षसम्मको गति हेर्दा भवन निर्माण हुनै अझै केही वर्ष लाग्ने निश्चित छ।

यो पनिः
लक्ष्मीप्रसाद देवकोटा संग्रहालः ‘गोली बनोस् ओलीको बोली’
महाकविको घरलाई संग्रहालय बनाउन छोराछोरी राजी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .