ad ad

कारोबार


सवारीसाधन आयातमा ‘रेकर्ड ब्रेक’

सवारीसाधन आयातमा ‘रेकर्ड ब्रेक’

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १९:४,

कोरोना महामारीको बीचमा सवारीसाधनको आयातमा ‘रेकर्ड ब्रेक’ भएको छ। 

गत आर्थिक वर्षमा सवारीसाधनको आयात झण्डै १ खर्ब रुपैयाँबराबरको पुगेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ९७ अर्ब ३७ करोड रुपैयाँको आयात भएको हो। 

यसअघि सर्वाधिक आयात आर्थिक वर्ष २०७५/०७६ मा भएको थियो। उक्त आवमा ९१ अर्ब ३१ करोड ५३ लाखको सवारीसाधन र तिनका पार्टपुर्जा आयात भएको विभागले जनाएको छ। 

आर्थिक वर्ष ०७६/०७७ मा कोभिड महामारीका कारण सवारीसाधनको आयातसँगै व्यापार पनि घटेको थियो। २०७६ चैतदेखि ०७७ असारसम्म लकडाउनको कारण आयात प्रभावित भएको थियो । 

उक्त वर्ष ६५ अर्ब २ करोडको मात्रै आयात भएको छ। तर लकडाउन खुलेसँगै सवारीसाधनको व्यापार बढ्दा गत आर्थिक वर्षमा आयातले इतिहास रचेको हो। 

गत वर्ष लकडाउनको समयमा समग्र आयात तथा व्यापार ठप्प भए पनि लकडाउन खुलेसँगै अटो व्यापार ह्वात्तै बढेको थियो। 

लकडाउन खुकुलो हुनेबित्तिकै दुईपांग्रे सवारीसाधनको व्यापार बढेको थियो। 

गत वर्ष दशैँपछि बढेको चारपांग्रे सवारीसाधनको व्यापार चैतमा ‘पिक’मा पुगेको अटो व्यवसायीले बताउँदै आएका छन्। 

गत वैशाखमा निषेधाज्ञापछि घटेको व्यापार बजार पूर्णरुपमा खुले पनि  लकडाउन खुलेपछि जस्तो चलायमान हुनसकेको छैन। 

हरेक वर्ष सवारीसाधन आयातमा वृद्धि हुँदै गएकोमा आर्थिक वर्ष २०७६/०७७ मा लकडाउनको कारण ‘ब्रेक’ लागेको थियो। 

आर्थिक वर्ष २०७२/०७३ मा ६६ अर्ब २० करोडको आयात भएकोमा २०७३/०७४ मा ७९ अर्ब ५० करोड २२ लाख रहेको छ। त्यसपछिको वर्ष २०७४/०७५ मा ८६ अर्ब ३१ करोड ५३ लाख रुपैयाँको आयात भएको  विभागको तथ्यांकले देखाएको छ। 

गत वर्ष कुन सवारीसाधन कति आयात?
दुईपांग्रे सवारीसाधनको बिक्री ह्वात्तै बढेको छ। गत वर्ष नेपालमा २५० सीसीसम्मका बाइक तथा स्कुटर मात्रै ३ लाख ४५ हजार भित्रिएका थिए। 

त्यसबाहेक २५० देखि ४०० सीसीसम्मका ८ हजार ४३९ वटा बाइक आयात भएको भन्सार विभागले जनाएको छ। 

१ वर्षमा विद्युतीय मोटरसाइकल तथा स्कुटर २३ सय ३३ वटा आयात भएका छन्। साइकल भने ५ लाख ७३ हजार वटा आयात भएका छन्। 

एक वर्षमा हजार सीसीभन्दा कममा गाडी २४ सय ९० वटा आयात भएका छन्। 

एक हजारदेखि १५ सय सीसीसम्मका पेट्रोल इन्जिनका कार, जिप, भ्यान ९ हजार ६९४ वटा नेपाल भित्रिएका छन्। १५ सयदेखि २ हजारसम्मका ३७६ वटा आयात भएका छन्। 

त्यस्तै डिजेल इन्जिनमा १५ सय सीसीसम्मका ११ सय ८४ वटा कार, जिप, भ्यान आयात भएका छन्। १५ सयदेखि २५ सयसम्मका ६८० सवारीसाधन भित्रिएको भन्सार विभागले उल्लेख गरेको छ। 

गत आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा भने गिरावट आएको छ। विद्युतीय गाडीमा १०० किलोवाटसम्मका बढी नेपाल भित्रिएका छन्। 

सरकारले विद्युतीय गाडीमा भन्सारसँगै अन्तःशुल्क समेत थप गरेपछि विद्युतीय गाडीको आयात घटेको थियो। 

जेठमा आर्थिक अध्यादेशमार्फत विद्युतीय गाडीको अन्तःशुल्क खारेज र भन्सार महशुल घटाएसँगै विद्युतीय गाडीको आयात बढ्नथालेको छ। 

कोभिड महामारीको कारण सार्वजनिक यातायातको रुपमा प्रयोग हुने बसको आयात घटेको छ। गत आर्थिक वर्षमा २६ सिटमाथिका २०५ वटा बस आयात भएका छन्। १५ देखि २५ सम्मका १२० वटा मिनिबस आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

सामान ढुवानीसँगै २ जनाभन्दा बढी बोक्नसक्ने पिकअप गाडी २५ सय ५० वटा आयात २ जना सिट क्षमताको पिकअप गाडी ५ हजार ११८ वटा आयात भएका छन्। 

समग्र आयात १५ खर्ब ३९ अर्ब
गत आर्थिक वर्षमा समग्र आयात नै ह्वात्तै बढेको छ। आव २०७६/०७७ मा ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्ब पुगेको छ। 

भन्सार विभागको तथ्यांकअनुसार नेपालको निर्यात साढे ४४ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँले बढेको हो। 

यसअघि ९७ अर्ब ७० करोड रुपैयाँको मात्रै आयात भएको थियो। 

गत आर्थिक वर्षमा निर्यात बढे पनि आयात बढ्दा व्यापारघाटा २७ प्रतिशतले बढेको छ। 

गत वर्षभरमा कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। 

जुन अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी भएको विभागको तथ्यांकले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .