ad ad

कारोबार


माग सम्बोधन नभएपछि यातायात व्यवसायीले सरकारलाई बुझाए सवारीसाधनको साँचो

माग सम्बोधन नभएपछि यातायात व्यवसायीले सरकारलाई बुझाए सवारीसाधनको साँचो

नेपालखबर
साउन १०, २०७८ आइतबार १३:४९,

आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण गरेका छन्। 

कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण गरेका हुन्। 

आइतबार मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पुर्याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण गरेका हुन्। 

कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए। 

उनले आफूहरुको माग अव पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।

यता, प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन गर्न दवाव दिने गरी बुझाएको सार्वजनिक सवारी साधनको साँचो गृह मन्त्रालयमार्फत् तत्काल प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिबद्धता व्यक्त गरे। 

त्यस अवसरमा उनले कोभिड संकट बढेर जाने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न यातायात व्यवसायीहरुलाई आग्रह पनि गरे।

यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरुको लागि कोभिड खोपको आवश्यक व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको विमा, नवीकरण र जरिवानामा छुट गर्नुपर्ने, सडक कानुन तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका ७ बुँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन्। 

यातायात क्षेत्रसँग सम्बन्धित सबै निकायमा माग सम्बोधन गर्न दिइएको दबाब पूरा नभएपछि प्रधानमन्त्रीलाई सार्वजनिक यातायातको साँचो नै बुझाउन बाध्य हुनु परेको महासंघले जनाएको छ। आफूहरुको माग अब पनि सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि यातायात व्यवसायीहरुको चेतावनी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .