ad ad

कारोबार


पाँचतारे अमेरिकन चेन हाेटल हायात प्लेस दशैँदेखि सञ्चालनमा

पाँचतारे अमेरिकन चेन हाेटल हायात प्लेस दशैँदेखि सञ्चालनमा

हायात प्लेस। तस्बिर : विक्रम राई


वसन्त अर्याल
भदौ १५, २०७८ मंगलबार १२:३७, काठमाडौँ

अन्तर्राष्ट्रिय हस्पिटालिटी ब्रान्ड हायात प्लेस दशैँबाट सञ्चालनमा आउने भएको छ। 

नेपालमा गोल्यान ग्रुपको लगानीमा ताहाचलमा निर्माण भएको होटल दशैँमा ‘सफ्ट लञ्च’ गरी सञ्चालनमा ल्याउने तयारी भएको हो। 

सन् २०२० को सुरुवातमै होटल सञ्चालनमा ल्याउने तयारी गरे पनि कोभिडको कारण ढिला भएको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले बताए। 

उनका अनुसार करिब साढे १० रोपनी क्षेत्रफलमा होटल निर्माण भइरहेको छ। नेपालीका ठूला चाडका बेला होटल सञ्चालनमा ल्याउने उनले जानकारी दिए। 

होटलको भौतिक पूर्वाधारको काम करिब करिब सम्पन्न भएको छ। 

‘हामीले कोभिडको कारण डेढ वर्ष पर्खिसक्यौँ’, अध्यक्ष गोल्यानले नेपालखबरसँग भने, ‘कोभिड खोप अभियान विश्वभर चलिरहेको छ। अब पर्यटकीय गतिविधि पनि बढ्ने देखिएकाले सञ्चालन गर्न लागेका हौँ।’

१४ तले भवन 
हायात प्लेस १४ तले भवनमा छ। जहाँ सवारीसाधन पार्किङको लागि २ तल्लाको ‘बेसमेन्ट’ छ। 

होटलको इन्टेरियरको काम भारत तथा युरोपियन देशका प्राविधिकले गरिरहेका थिए। उनीहरु कोभिडको कारण स्वदेश फिर्ता गएकाले समस्या भएको उनको भनाइ छ। हाल होटलको मुख्य काम सकिएको छ। अब ‘टचअप’ दिनमात्रै बाँकी छ। 

‘हामीले भौतिक पूर्वाधारको काम करिब सकाएका छौँ। अब हायात व्यवस्थापनलाई ह्यान्डओभर (हस्तान्तरण)को काम भइरहेको छ’, गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले भने, ‘सेप्टेम्बर १५ सम्म होटल हस्तान्तरण हुन्छ। त्यसपछि सफ्ट लञ्च हुन्छ।’

निर्माणको काममा ढिलाइ हुँदा होटलको लागत पनि बढिरहेको छ। मुख्यतः बैंकको ब्याज हरेक वर्ष बढ्दै गएको छ। त्यसबाहेक होटलका कर्मचारी, विद्युत, एयरकन्डिसनले लागत बढाएको गोल्यान ग्रुपले जनाएको छ। 

लागत ४ अर्ब पुग्यो 
पहिला सवा ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले करिब ४ अर्ब रुपैयाँ पुगेको होटल निर्माता ग्रुपले जनाएको छ।     

निर्देशक गोल्यानले तयारी अवस्थामा रहेको होटल ‘फुल फ्लेज’मा सञ्चालन गर्न नसके पनि अब बन्द नगर्ने बताए। 

अक्टोबरमा नेपालमा हिमाल आरोहण तथा टे«किङ सुरु हुन्छ। हायात प्लेसले त्यसकारण पनि केही पर्यटक भित्रिने अनुमान गरेको छ। 

‘सुरुमा बरु २५–३० वटा रुम सञ्चालनमा ल्याउँछौँ। महामारीको समयमा कर्मचारी व्यवस्थापन गर्न पनि सहज हुन्छ’, उनले भने, ‘सुरुमा सञ्चालन हुँदा केही प्राविधिक समस्या आउन सक्छ। त्यसलाई समाधान गर्दै पर्यटक आउन थालेपछि पूर्णरुपमा सञ्चालन गर्नसक्छौँ।’ 

क्यासिनोको लागि नयाँ जग्गा 
होटलको हालको संरचनामा क्यासिनो सञ्चालनको लागि पर्याप्त नहुँदा ग्रुपले अहिले नयाँ जग्गा लिजमा लिइएको छ। 

‘होटलभित्र ठाउँ छैन। क्यासिनोका लागि थप जग्गा लिजमा लिएका छौँ’, गोल्यानले भने, ‘उक्त जग्गालाई पार्किङ र क्यासिनो बनाउने योजना छ।’

होटलले ठूलो मात्रामा पर्यटक आउने वातावरण बनेपछि मात्रै क्यासिनो सञ्चालनमा ल्याउने जनाएको छ। 

होटलमा ‘किङ बेड’ र ‘टेरेस’सहितका कोठा
होटलमा १ सय ५३ वटा कोठा रहेका छन्। जसमा ३ वटा सुइट र ७ वटा टेरेस (बार्दली/प्यासेज) सहितका कोठा निर्माण भएका छन्। 

होटलमा चौबीसै घण्टा फिटनेस सेन्टर, आउट डोर स्विमङ पुल र अरु प्रिमियम सुविधा रहनेछन्। ३० वर्ग मिटर फराकिला कोठालाई सोफासहितको बस्न र सुत्न मिल्ने गरी बेड हुनेछन्। 

होटलका सुइट रुम ६० वर्ग मिटरका फराकिला हुनेछन्। जसमा बेडरुम र लिभिङ एरिया छुट्याइएको हुनेछ। सुइट रुममा किङ बेड, सोफा, ४ जना पाहुनालाई राखेर खुवाउन मिल्ने डाइनिङ टेबल हुनेछ। 

ग्राहकले आफूअनुकूल किङ बेडसहित टेरेस, ट्विन बेडसँगै टेरेस, सिटी भ्युसहित सोफा कोठा, सिटी भ्युसहित ट्विन बेड, ट्विन बेडसहित सोफा लगायतका कोठा छन्। 

हायात प्लेसबाट विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूनाथ स्तूपालाई नजिकबाटै नियाल्न सकिन्छ। 

विशेष कार्यक्रमको लागि ४ ब्यान्क्वेट
होटलमा स्पेसल इभेन्टको लागि ४ वटा ब्यान्क्वेट रहेका छन्। ठूला कार्यक्रम गर्न मिल्ने ५ सय वर्ग मिटरको हल हुनेछ। 

दुईवटा फ्लोरमा ३७५ र १२५ वर्ग मिटरको दुई–दुईवटा हल हुनेछन्। जसलाई एउटै कार्यक्रम गर्न वा दुईवटा कार्यक्रम गर्न सकिन्छ। 

‘होटलमा एकैपटक ४ वटासम्म कार्यक्रम सञ्चालन गर्न सकिन्छ’, अक्षय गोल्यानले भने।

कोठामा रेफ्रिजेरेटरसँगै चिया÷कफी बनाउने र हेयर ड्रायर गर्न सकिने जस्ता सुविधा पनि उपलब्ध हुनेछन्। 

अन्तर्राष्ट्रिय चेन हायातकै व्यवस्थापन
हायात प्लेस काठमाडौंमा हायातकै अन्तर्राष्ट्रिय व्यवस्थापन हुने गोल्यान ग्रुपले जनाएको छ। जसमा स्थानीय र अन्तर्राष्ट्रिय स्वादसहितको ‘अल डे डाइनिङ’ रहनेछ। 

खानाको परिकारमा सामान्य खानादेखि दक्षिणपूर्वी एसिया र इटालियन स्वाद हुनेछन्। 

त्यस्तै, होटलमा बार रहनेछ। हरेक कोठामा चौबीसै घण्टा रुम सर्भिस उपलब्ध हुनेछ।    

होटलको पुल साइडमा जिंक स्काई बार र लाउन्ज रहनेछ। होटलमा पार्किङ, लाउन्ड्री र ड्राई क्लिनिङ सर्भिसलगायतका सुविधा समेत रहेका छन्। 

नेपालमा हायातकै फ्रेन्चाइज हायात रिजेन्सी तारागाउँ विकास समितिले सञ्चालन गरिरहेको छ। 

विश्वका विभिन्न सहरमा हायात, ग्रान्ड हायात, हायात हाउस, पार्क हायातको नामका होटल सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .