कारोबार


१८ अर्ब पुँजी पुर्‍याएर होटल खोल्ने सूर्य नेपालको प्रस्तावमा उद्योग विभागको यस्तो आशंका

१८ अर्ब पुँजी पुर्‍याएर होटल खोल्ने सूर्य नेपालको प्रस्तावमा उद्योग विभागको यस्तो आशंका

सूर्य नेपालको लोगो र उपाध्यक्ष रवि केसी


नेपालखबर
भदौ १७, २०७८ बिहिबार १८:२१, काठमाडौँ

बूढानीलकण्ठमा पाँचतारे होटल खोल्ने योजनामा रहेको सूर्य नेपाल प्रालि अहिले सरकारसँग ‘लाइसेन्स’ पर्खिरहेको छ। 

कम्पनीले २ वर्षअघि नै लाइसेन्सका लागि उद्योग विभागमा पत्र पठाएको थियो तर त्यो पत्र विभागमा घुमिरहेको छ। 

सूर्य नेपाल नेपालमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा पर्छ। त्यसकारण पनि उसलाई होटल सञ्चालन गर्न नदिने नियतमा विभाग छैन। तर आवेदन परेको २ वर्षसम्म होटल दर्ताचाहिँ हुनसकेको छैन।

खासगरी यसको लगानी मोडालिटीमा विभागले असहमति राख्दा होटलले अनुमति पाउन नसकेको हो। 

तर पनि कम्पनीले उद्योग दर्ताको प्रयास गरिरहेको छ। विवभागले पनि दुई वर्षदेखि विभागमा थन्किएको फाइल हेर्न थालेको छ। 

त्यो फाइल हेर्दा आवेदनकै आधारमा दर्ता गर्न नसकिने उद्योग विभागले भर्खरै सूर्य नेपाललाई जवाफ दिएको छ। 

सूर्य नेपालले उद्योग विभागमा गरेको आवेदनअनुसार उसले आफ्नो सूर्य नेपालको नै पुँजी बढाउने र त्यसको रकमबाट होटल सञ्चालन गर्ने भनेको छ। 

सञ्चालक समितिले कम्पनीको हाल रहेको अधिकृत पुँजी ६ अर्ब ५० करोडबाट बढाएर १८ अर्ब रुपैयाँ पुर्याउने बताएको छ।

सञ्चालक समितिको बैठकले कम्पनीको अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने निर्णय गरेको थियो। 

यसअनुसार १८ करोड कित्ता सेयर विभाजन हुनेछ भने अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुर्याइन उल्लेख छ। सेयरधनीको नाफाबाट नै प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने उसको योजना छ। त्यही बढेको पुँजीबाट होटल सञ्चालन गर्ने उसको योजना हो। 

त्यसमा आफ्नो नाफालाई परिचालन गर्ने कम्पनीको योजना आवेदनमा पेश भएको छ। 

कम्पनीका सेयर होल्डरहरुले उल्लिखित अधिकृत सेयर पुँजीवृद्धि कम्पनीको प्रबन्धपत्र तथा विनियमावलीमा प्रतिविम्बित गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय समेत सञ्चालक समितिले गरिसकेको विभागमा पठाएको विवरणमा उल्लेख छ। 

यसमा उद्योग विभागले भर्खरै नाफाको पैसा त्यो पनि विस्तारै थप्ने गरी उद्योग दर्ता दिन नसकिने बताएको छ। 

उद्योग विभागले आवेदक कम्पनीलाई निरन्तर छलफल गरेर उनीहरुलाई प्रत्यक्ष लगानी हुने गरी नै उद्योग दर्ता गराउने गरी सहमत गराउने योजना बनाएको छ। 

उद्योग विभाग लगानीको प्रवर्द्धन गर्ने निकाय समेत भएकोले बहुराष्ट्रिय कम्पनीबाट आएको थप लगानीको प्रस्तावलाई अघि बढाउने योजनामा विभाग पुगेको हो। 

सूर्य नेपालको होटल योजना विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको खिलाफ हुने आशंका समेत देखिएको छ। 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेश लगानीका कम्पनीलाई करारका उत्पादन (कन्ट्रयाक्ट म्यानुफ्याचरिङ) बन्द गरिदिएको छ। 

तर पनि बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले अहिले पनि सिन्के धूप र आगो बाल्ने सलाई सोही माध्यमबाट उत्पादन गरिरहेको छ। 

सूर्य नेपालले पाँचतारे होटलको लाइसेन्स लिएर सोही माध्यमबाट लगानी गर्न चाहेको समेत आशंका भएको छ। लाइसेन्स पाएपछि करारमा तेस्रो व्यक्तिको लगानीमा तेस्रो व्यक्तिबाट नै सञ्चालन गर्नसक्ने समेत आशंका छ।

गत वर्ष मात्रै संशोधन भएर आएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानीका उद्योगले सरकारी सेवा सुविधा लिएर आफ्नो मुख्य उत्पादन नै करारमा गर्नु सही नभएको व्याख्या गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .