ad ad

कारोबार


विदेशी पर्यटकको बुकिङ बढ्दो, खोप लगाएकालाई क्वारेन्टिन बस्ने व्यवस्था हटाउन माग

विदेशी पर्यटकको बुकिङ बढ्दो, खोप लगाएकालाई क्वारेन्टिन बस्ने व्यवस्था हटाउन माग

फाइल तस्बिर


वसन्त अर्याल
भदौ २२, २०७८ मंगलबार १७:२८, काठमाडौँ

पूर्णरुपमा खोप लगाएकालाई क्वारेन्टिन व्यवस्था हटाए शरद ऋतुमा धेरै विदेशी पर्यटक आउने देखिएको छ। 

पर्यटन व्यवसायीले शरद् ऋतुमा विदेशी आउनको लागि ‘इन्क्वाइरी’ बढेको बताएका छन्। 

कोभिड महामारीको दोस्रो लहरका कारण वैशाखदेखि बन्द भएका अधिकांश पर्यटकीय गन्तव्य अहिले खुलेका छन्। अन्तर्राष्ट्रिय र आन्तरिक उडानको संख्या समेत बढ्दै गएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान दैनिक १५ देखि १८ वटासम्म भइरहेको बताए। आन्तरिकतर्फ दैनिक १०० भन्दा बढी उडान भइरहेका छन्। 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले अक्टोबर र नोभेम्बरमा विदेशी पर्यटकको बुकिङ सुरु हुनलागेको बताए। 

‘हाल आन्तरिक यात्रुको चाप राम्रै भए पनि विदेशी पर्यटक खासै छैनन्’, बर्तौलाले भने, ‘यो सिजनमा धेरै विदेशी पर्यटक आउने देखिएको छ। अहिले बुकिङसँगै इन्क्वाइरी बढेको छ।’

विदेशबाट आएका पर्यटक होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था छ। नेपाली पर्यटन व्यवसायीले पूर्ण खोप लगाएकालाई क्वारेन्टिन राख्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग गर्दै आएका छन्। 

दुवईलगायतका देशले पूर्णखोप लगाएका पर्यटकलाई क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाइसकेका छन्। 

नेपालले खोप लगाएकालाई क्वारेन्टिनमा राख्ने व्यवस्था कायम गरे पर्यटक अरु देशमा जाने व्यवसायी बताउँछन्। 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत शर्मा गुरागाईंले पूर्ण खोप लगाएकालाई क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने बताए। 

‘विदेशका अधिकांश देशले पर्यटकलाई लक्षित गर्दै पूर्ण खोप लगाएकालाई क्वारेन्टिन व्यवस्था हटाएका छन्’, गुरागाईंले भने, ‘नेपालमा क्वारेन्टिन व्यवस्था भए यहाँ आउने पर्यटक डाइभर्ट हुन्छन्। छिट्टै हटाउनुपर्छ।’

विदेशी पर्यटकलाई अन अराइभल भिसा सहज हुनुपर्ने उनको भनाइ छ। त्यस्तै पूर्ण खोप लागाएका भारतीय पर्यटकलाई स्थलमार्गबाट आउन दिनुपर्ने बताएका छन्। नेपालका अधिकांश पर्यटन व्यवसायीलाई पूर्ण खोप लगाएको व्यवसायीको भनाइ छ। 

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले पनि शरद् ऋतुमा विदेशी पर्यटकको चाप बढ्ने बताए। 

‘पर्यटक आउने सिजन सुरु हुँदै छ। धेरै विदेशीले नेपालमा के–के गर्नुपर्छ भन्ने जिज्ञासा राखिरहेका छन्’, लामिछानेले भने, ‘नेपालमा खोप लगाएकालाई क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउन माग भइरहेको छ।’

उनले क्वारेन्टिन व्यवस्था हटाए पर्यटकको संख्या ह्वात्तै बढ्ने बताए। 

‘इन्क्वाइरी यति धेरै छ। क्वारेन्टिन व्यवस्था हटाए पर्यटकको संख्या ह्वात्तै बढ्छ’, उनले भने, ‘क्वारेन्टिनको व्यवस्था भए पनि केही विदेशी पर्यटक आउँछन्।’

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिन सुरु गरेका छन्। सोमबारसम्म मनास्लु हिमाल आरोहण १५७ जना र कञ्चनजंघा हिमाल आरोहणमा ३ जनाले अनुमति पाइसकेका छन्। 

व्यवसायीका अनुसार युरोप अमेरिकाका पर्यटक प्रायः १ महिनाअघि नै आफ्नो गन्तव्यको बुकिङ गर्छन्। 

एसिया क्षेत्रका पर्यटक २ हप्ताअघि मात्रै पनि बुकिङ गरी नेपाल आउने गरेका छन्। नेपालमा टे«किङ र हिमाल आरोहण गर्न बढी पर्यटक आउने व्यवसायीको आकलन छ। 

पर्यटन व्यवसायीसँग स्वास्थ्य राज्यमन्त्री र गृहमन्त्रीले खोप लगाएकालाई सहजीकरण र अराइभल भिसामा सरल बनाउन सहमत भएका छन्। 

पर्यटन मन्त्रालयले सीसीएमसीमा खोप लगाएकालाई क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउन सिफारिस भएको छ। 

पर्यटन मन्त्रालयकी सहसचित तथा पर्यटन महाशाखा प्रमुख लक्ष्मी कुमारी बस्नेतले सीसीएमसीमा पूर्ण खोप लगाएकालाई क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने प्रस्ताव गएको बताइन्।

‘मन्त्रालयले लगेको प्रस्तावलाई सीसीएमसी र मन्त्रिपरिषदले पास गरे कार्यान्वयन हुन्छ’, उनले भनिन्। 

पूर्ण खोप लगाएकालाई गन्तव्यमा जान अनुमतिः स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले क्वारेन्टिन व्यवस्था हट्ने संकेत गरेका छन्। उनले कोभिड १९ महामारीबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई क्रमशः पुनर्बहाली गर्न नयाँ व्यवस्था गर्न लागिएको उल्लेख गरेका छन्। 

‘पूर्णमात्रा खोप लगाइसकेका पर्यटकहरूलाई नेपाल आइसकेपछि तत्काल गरिने पीसीआर रिपोर्ट नेगेटिभ आएमा गन्तव्यमा जान अनुमति दिने व्यवस्था छिट्टै लागू गरिनेछ’, उनले भनेका छन्। 

त्रिभुवन विमानस्थलमा पीसीआर टेस्ट मेसिन नहुँदा तत्काल रिपोर्ट दिन समस्या हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .