ad ad

कारोबार


१६ अर्ब लगानीको ह्वासिन सिमेन्टले तिहारलगत्तै उत्पादन थाल्ने

१६ अर्ब लगानीको ह्वासिन सिमेन्टले तिहारलगत्तै उत्पादन थाल्ने

वसन्त अर्याल
असोज ५, २०७८ मंगलबार १७:३४, काठमाडौँ

धादिङमा निर्माणाधीन ह्वासिन सिमेन्ट तिहारलगत्तै सञ्चालनमा आउने भएको छ। 

सन् २०२० कै सुरुमा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु भएको उद्योग बल्ल उत्पादन चरणमा पुगेको हो। 

चिनियाँ लगानीमा निर्माणाधीन ३ हजार मेट्रिक टन क्षमताको उद्योग निर्माणको अन्तिम चरणमा छ। स्थानीयको अवरोध, कोभिड १९ महामारी, बाढी लगायतका कारण उत्पादनमा ढिलाइ भइरहेको कम्पनीले जनाएको छ। 

ह्वासिन सिमेन्टका लगानीकर्ता चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्य हुन्। 

ह्वासिन सिमेन्ट नारायणी प्रालिमा वैद्यको २० प्रतिशत लगानी छ भने चिनियाँ ८० प्रतिशत लगानी छ।

वैद्यले उद्योग सञ्चालनको चरणमा पुगेको नेपालखबरलाई जानकारी दिए। 

‘उद्योग अझै सञ्चालनमा आउनसकेको छैन। केही काम बाँकी नै छन्’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्यले भने, ‘अब धेरै ढिला नहोला। तिहारलगत्तै उद्योग सञ्चालनमा ल्याउने तयारी छ।’

सुरुमा करिब १४ अर्ब लागतमा निर्माण गर्ने लक्ष्य राखिएको उद्योगमा  लगभग २ अर्ब लागत बढेको छ। नौ महिनामा निर्माणसम्पन्न गरी दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको हो।

ह्वासिन सिमेन्ट क्लिङ्कर बेस उद्योग हो। २०१६ मा कम्पनी दर्ता भएको कम्पनीले ०१७ मा खानी खरिद गर्यो। २०१८ मा लगानी स्वीकृत भएको कम्पनीले २०१९ मा उद्योग निर्माण सुरु गरेको हो।

२०७५ फागुनदेखि संरचना निर्माणमा लागेको ह्वासिन सुरुदेखि नै विवादमा परेको थियो। उक्त उद्योगले बेनिघाट रोराङ गाउँपालिकामा केही जग्गा किनेर तथा सार्वजनिक जग्गा भाडामा लिएर उद्योगको संरचना निर्माण गरिरहेको छ।

ह्वासिनले नेपालभन्दा पछि प्रक्रिया थालेको तान्जानिया र उज्वेकिस्तानमा दुई उद्योगबाट सिमेन्ट उत्पादन सुरु भइसक्दा नेपालमा गर्नसकेको छैन। 

धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा निर्माणाधीन उद्योगमा नेता राजेन्द्र पाण्डेले आफूसँग ‘समन्वय’ नगरेको भन्दै अवरोध सिर्जना गरेका थिए। स्थानीयले कहिले बाटो, कहिले विद्युत् लाइनको कारण देखाउँदै अवरोध गर्दै आएका छन्।

कोभिड महामारीको समयमा घर फर्किएका चिनियाँ प्राविधिक लामो समय उद्योगमा फर्किन सकेनन्। जसले उत्पादनको लागि आवश्यक पर्ने उपकरण भित्रिँदा पनि सिमेन्ट उत्पादन हुन सकेन। यस्तै किसिमका स–साना अवरोधले उत्पादन सुरु गर्न ढिलाइ भएको कम्पनीको भनाइ छ। 

‘अहिले विस्तारै काम भइरहेको छ। फेरि देशमा चुनाव आउँदै छ’, वैद्यले भने, ‘चन्दा वा विभिन्न माग उठाएर फेरि अवरोध हुनसक्छ।’

उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन गर्नसक्ने जनाएको छ। 

ह्वासिन नेपालको सिमेन्ट उद्योग करिब ५ सय रोपनी जग्गामा उद्योग निर्माणको काम भइरहेको छ। धादिङ र मकवानपुरमा रहेको आफ्नै चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने योजना छ। 

सरकारले सिमेन्ट उद्योगमा पुग्ने बाटो र विद्युत् लाइनको निर्माण गर्नुपर्ने भए पनि सरकारी ढिलाइले उद्योग आफैँले निर्माण गरिरहेको छ। तर स्थानीयले यसैमा समेत विरोध जनाउँदा विद्युतको काम अझै बाँकी रहेको कम्पनीले जनाएको छ। 

ह्वासिनले १ हजार बढीलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिने उल्लेख गरेको छ। ह्वासिन सिमेन्ट सञ्चालनमा आएपछि भारतमा १ लाख टन सिमेन्ट निर्यात गर्ने घोषणा गरेको थियो। ह्वासिन नेपालमा चिनियाँ लगानीकै होङ्सी शिवम् पछिको दोस्रो ठूलो सिमेन्ट उद्योग हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .