ad ad

कारोबार


बस भाडामा व्यवसायीको मनपरीः यात्रुले किचकिच गरे १५, नगरे २० रुपैयाँ

बस भाडामा व्यवसायीको मनपरीः यात्रुले किचकिच गरे १५, नगरे २० रुपैयाँ

थापाथलीमा बसलाई कारबाही गर्दै ट्राफिक प्रहरी । (फाइल तस्बिर)


वसन्त अर्याल
असोज १७, २०७८ आइतबार १८:१४, काठमाडौँ

यातायात व्यवसायीले आफूखुसी भाडा बढाएका छन्। 

सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारले भाडा नबढाएको भन्दै आफैँले मनपरी भाडावृद्धि गरेको हो। 

केन्द्रीय महासंघले संघीय सरकारले भाडा बढाए पनि प्रदेश सरकारले भाडा नबढाएको भन्दै आफैँ भाडा सार्वजनिक गरेको छ। 

महासंघले भाडा बढाउन सबै प्रदेश कमिटी, उपत्यका विशेष कमिटी र यातायात व्यवसायी कम्पनीहरुलाई भाडा समायोजन गर्न पत्र काटेको छ। 

‘महासंघद्वारा नेपाल सरकारलाई वैज्ञानिक भाडादर समायोजन निम्ति मौखिक अनुरोध गरेपश्चात् असार २८ गते अन्तप्र्रदेश २८ प्रतिशत भाडा वृद्धि गरेको छ’, महासंघका महासचिव भरत नेपालले भने, ‘तर प्रदेशभित्र लागू हुने भाडा २०६९ देखि एउटै छ।’

महासंघको असोज १३ गतेको केन्द्रीय सचिवालय बैठक र १४ गते उपत्यका व्यवसायी भेलाको निर्णयबमोजिम भाडा बढाएको महासचिव नेपालले जानकारी दिए। 

संघीय सरकारले बढाएको भाडालाई आधार मानी उपत्यकाभित्रका सवारीसाधनमा सुरुवाती भाडा २० कायम गरी भाडा लिने निर्णय गरेको छ। केन्द्रीय महासंघले सबै ठाउँमा २८ प्रतिशत बढी भाडा लिन भनेको छ। 

यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सार्वजनिक यातायातमा भाडा बढेको जानकारी नभएको बताएको छ। 

राष्ट्रिय महासंघले संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारले स्वतः भाडा बढाउनुपर्ने उल्लेख गरेको छ। 

‘संघले भाडा बढाएपछि प्रदेश सरकारले स्वतः भाडा बढाउनुपर्छ। प्रदेश सरकार निकम्मा भएर बसेको छ’, राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘व्यवसायीले स्वतःस्फुर्त भाडा बढाएको जानकारी छैन। प्रदेश सरकारले भाडा कहिले बढाउँछ। कुरिरहेका छौँ।’

उनले प्रदेश सरकारसँग १० पटक धाउँदा पनि मूल्यवृद्धिअनुसार भाडा नबढाएपछि समस्या रहेको बताए। 

‘नेपाल भन्ने एउटा देश हो। प्रदेश भनेको भुटान, श्रीलंका, बर्मा होइनन्’, सिटौलाले भने, ‘एउटा सरकारले समायोजन गर्ने अर्कोले नगर्ने भन्ने कसरी हुन्छ?’
 
यात्रु किचकिच गरे १५, नभए २० रुपैयाँ भाडा
सरकारले तोकेअनुसार छोटो दूरीको सार्वजनिक यातायातमा न्यूनतम १५ रुपैयाँ भाडा रहेको छ। 

विद्यार्थी, ज्येष्ठ नागरिकलाई १० रुपैयाँ भाडा सरकारले तोकेको छ। 

केन्द्रीय महासंघले न्यूनतम २० रुपैयाँ भाडा तोकेको छ। विद्यार्थी, ज्येष्ठ नागरिकको लागि १२ रुपैयाँ तोकेको छ। तर यात्रुले किचकिच गरे १५ रुपैयाँ नै लिने गरेका छन्। 

‘संघले २० रुपैयाँ भाडा लिनु, यात्रु किचकिच गरे १५ रुपैयाँ लिँदा हुन्छ भनेको छ’, थानकोट–मूलपानी सञ्चालन हुँदै आएको रिद्धि सिद्धिका एक सहचालकले नेपालखबरसँग भने, ‘कसैलाई २०, कसैलाई १५ कसरी लिने? झन् धेरै झगडा हुन्छ।’

केन्द्रीय महासंघका महासचिव नेपालले भने सरकारले भाडा नबढाएकाले यात्रु धेरै नै झगडा गरे जबर्जस्ती नगर्न भनेको उल्लेख गरे। 

‘२० रुपैयाँमा कालो चिया पनि आउँदैन। कुनै यात्रु झगडा नै गर्छ भने पुरानै भाडा लिनु भनेको हो’, नेपालले भने, ‘हामी आफू मनखुसी बढाएको हैन। संघीय सरकारले बढाएको भाडा प्रदेशमा लागू गर्ने भनेका हौँ।’

त्यस्तै केन्द्रीय महासंघले काठमाडौं उपत्यकामा सञ्चालित मिटर जडित ट्याक्सीको हकमा चक्रपथभित्र १०० र चक्रपथबाहिर ५ किलोमिटरसम्म १५० प्रत्येक टिपमा थप गरी लागू गर्ने निर्णय गरेको छ। 

महासंघले पर्यटकीय सवारी साधनले लिई आएको भाडादरमा थप २८ प्रतिशत र छोटो दूरीको ढुवानी सेवाको सवारी भाडामा समेत २८ प्रतिशत भाडा लागू गरेको छ। 

बढी भाडा असुल्नेलाई दैनिक कारबाही : ट्राफिक प्रहरी 
ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने सबै गाडीलाई कारबाही गरेको बताएको छ। 

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासले एक दिनमा ६५ वटा गाडी होल्ड गरेको जनाएका छन्।

‘व्यवसायीलाई जथाभावी भाडा बढाउने अधिकार छैन’, एसपी शर्माले नेपालखबरसँग भने, ‘हामीले धमाधम कारबाही गरेका छौँ। १ दिनमा ६५ वटा गाडी होल्ड गरेका छौँ।’

ट्राफिक प्रहरीले यात्रुको सूचना र अनुगमन गर्दा बढी भाडा लिनेलाई कारबाही गरेको बताएको छ। 

‘एक सिफ्टमा ४० जना प्रहरीलाई अनुगमनमा खटाएका छौँ’, उनले भने, ‘चिट काट्न खोज्दा कागजपत्र नदिनेका गाडी होल्ड गरिदिएका हौँ।’

जबसम्म बढी भाडा लिन्छन् तबसम्म निरन्तर कारबाही जारी रहने एसपी शर्माले बताए। 

सार्वजनिक केन्द्रीय महासंघका महासचिव भरत नेपालले प्रहरीले सबै गाडी समाए पनि भाडा समायोजन गरेरै लिने बताए। 

‘मर्ता क्या नै कर्ता भनेझैँ हामी अहिलेको अवस्थामा टिक्न सक्दैनौँ’, नेपालले भने, ‘पुरानो भाडादरमा गाडी गुडाउँदा खर्च उठ्दैन कसरी चलाउने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .