कारोबार


ग्यास चुल्हो किन बाल्ने? हामीसँग बिजुली नै फालाफाल छ : प्रधानमन्त्री

ग्यास चुल्हो किन बाल्ने? हामीसँग बिजुली नै फालाफाल छ : प्रधानमन्त्री

नेपालखबर
कात्तिक ३०

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। 

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २०औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। 

उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए। 

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए। उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे। 

उनले भने, ‘हामीले किन यो ग्यासको चुल्हो बाल्ने? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुनसक्छ। हामी नेपालभरी नै विस्तार विस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौँ।’ 

काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडीहरु सञ्चालन गर्न उनको आग्रह थियो। 

‘घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाऔँ। भोलि तराई, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ’, उनको आग्रह थियो, ‘उद्योगपतिहरुलाई के भन्न चाहन्छु भने, तपाईंहरु सुरु गर्नुस्। सरकारले इन्सेन्टिभ दिन्छ। अघि हाम्रो मन्त्रीजीले भन्नुभयो खल्तीमा लाइसेन्स लिएको छ, काम गर्दैनन्। त्यो पनि भएन नि!’ 

उनले यसमा काम गर्न आग्रह गर्दै सहुलियत दिन तयार रहेको बताए। 

उनले भने, ‘तपाईंहरु ब्याट्रीमा जानुस्। नेपाललाई नमूना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ।’

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन्। 

निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरिन्। 

उनले भनिन्, ‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ। यस सम्बन्धमा मैले अस्ति मात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी विक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत आउनुस् अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौँ।’

मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताइन्। विद्युत खेरजाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति व्यहोर्नुपरेको उनको भनाइ छ।

कात्तिक ३०, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .