ad ad

कारोबार


एमाले महाधिवेशनलाई ४ हजार बस रिजर्भ, कहाँबाट कति कार्यकर्ता ल्याइँदै?

एमाले महाधिवेशनलाई ४ हजार बस रिजर्भ, कहाँबाट कति कार्यकर्ता ल्याइँदै?

नारायणगढस्थित पाेखरा बसपार्ककाे दृश्य। तस्बिर : विक्रम राई


वसन्त अर्याल
मंसिर ८, २०७८ बुधबार २२:१५, काठमाडौँ

नेकपा एमाले महाधिवेशनको लागि ४ हजार बस बुकिङ भइसकेका छन्। 

एमालेले ६ हजार बस आवश्यक पर्नेमा ४ हजार मात्रै उपलब्ध भएको जनाएको छ। 

५ लाख जनसहभागिता गराउने गरी एमालेले मंसिर १० गते चितवनमा महाधिवेशन उद्घाटन गर्दैछ। 

चितवन आसपासका जिल्लाबाट जनपरिचालन गरी जनसहभागिता बढाउने तयारी गरेको पार्टीका बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले नेपालखबरलाई जानकारी दिए।

पोखरेलले बागमती, प्रदेश २, लुम्बिनी र गण्डकीबाट बढी सहभागिता गराउने र बाँकी प्रदेशबाट स्वस्फुर्त रुपमा सहभागी गराउने योजना रहेको बताए।  

‘चितवनसहित बागमती प्रदेशबाट करिब ३ लाख आउँछन्। प्रदेश २ बाट १ लाख मानिस आउँदै छन्’, पोखरेलले भने, ‘लुम्बिनीबाट ७५ हजार, गण्डकीबाट ५० हजार र प्रदेश १ बाट २५ देखि ३० हजार मानिस आउँछन्।’

उनले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट स्वस्फुर्त रुपमा कति आउने एकीन नभएको उल्लेख गरे। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सम्पादकहरुसँग कुरा गर्दै सवारीसाधनले बोक्न सक्ने मानिस महाधिवेशनमा उतार्ने उल्लेख गरेका छन्। 

‘पैदल हिँडेर आउन सक्ने ठाउँबाट पैदल हिँडेर आउनेछन्। बाँकी सवारी साधन प्रयोग हुनेछन्’, अध्यक्ष ओलीले भने, ‘सार्वजनिक यातायातको रुपमा प्रयोग भएका ठूला र लामो दूरीमा चल्ने सवारीसाधनहरुले बोक्न सक्नेजति मानिस ल्याउँछन्।’ 

ओलीले नेपालका बसहरुको क्षमता थाहा नभएको बताउँदै बसले एक पटकमा बोक्न सक्नेजति मानिसहरुको उपस्थिति हुने दाबी गरेका छन्। 

‘न्यूनतम रुपमा पनि ५ लाख बढी आवागमनको सुविधा छ भन्ने ठानेका छौँ’, उनको दाबी छ, ‘जनसहभागिताको कमी हुँदैन, बरु वाहनको कमी हुनसक्छ। उपस्थिति हामीले १०/१५ लाख गराउन सक्ने भए पनि सवारीसाधन उपलब्धताको सीमाले सीमित गर्नेछ।’ 

महाधिवेशन व्यवस्थापन गरिरहेका जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सवारी व्यवस्थापनको जिम्मेवारी केन्द्रबाट प्रदेश कमिटीलाई दिएको जानकारी दिए। 

‘प्रदेशले जिल्लालाई, जिल्ला कमिटीले मातहतका कमिटीलाई सवारी व्यवस्थापनको जिम्मेवारी दिएको छ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘सबै बसमै आउँछन् भन्ने छैन। कोही निजी गाडी र मोटरसाइकलमा समेत आउने हुन्छन्।’ 

उनले उद्घाटन सत्रमा चितवन, नवलपुर र पर्सा जिल्लाबाट सबैभन्दा बढी सहभागिता हुने बताए। गण्डकी प्रदेशको मुस्ताङबाट भन्दा नवलपुरबाट सहभागिता गराउन सहज हुन्छ, त्यहीअनुसारको निर्देशन भएको श्रेष्ठको भनाइ छ। 

‘बागमती प्रदेशअन्तर्गत चितवन जिल्लालाई ७५ हजार जिम्मा दिएका छौँ तर १ लाखको सहभागिता गराउने प्रतिबद्धता गरेको छ’, श्रेष्ठले थपे, ‘नजिक–नजिक अलि धेरै ल्याउन प्रेसर रहेको छ टाढाबाट कम आउँछन्।’

बागमती अध्यक्ष पोखरेलले सम्बन्धित जिल्ला, पालिका र वडा कमिटीले नै बसको खर्च व्यवस्थापन गर्ने बताए।  

‘मैले २०४९ देखि महाधिवेशनमा भाग लिँदै आएको छु। यो पटक कार्यकर्ता आफैँ खर्च गर्न तयार भएको देखिएको छ’, महाधिवेशनप्रति उत्साहित देखिएका पोखरेलले भने, ‘प्रदेश २ बाट ग्यास, खानेकुरा आफैँ बसमा हालेर ल्याउने जानकारी आएको छ।’ 

११ ठाउँमा पार्किङ, शुक्रबार भरतपुरका मुख्य सडक बन्द 
पार्टीको दशौँ महाधिवेशन गर्न लागेको एमालेले चितवनका ११ ठाउँमा पार्किङको व्यवस्था गरेको जनाएको छ। 

देशभरबाट आउने सवारीसाधन ११ ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाइएको जिफन्ट अध्यक्ष श्रेष्ठले बताए। उनले उद्घाटन सत्रमा भाग लिनेले कहाँ पार्किङ गर्ने, कहाँबाट ¥याली आउने भन्ने विषय एमाले पार्टीको एप्सबाट सबैलाई म्यासेज जाने जानकारी दिए। 

‘पश्चिम बुटवल हुँदै आउने सवारीसाधनको पार्किङ नारायणी नतर्दै गैँडाकोटको भृकुटी कागज कारखानामा गर्ने व्यवस्था गरिएको छ’, श्रेष्ठले भने, ‘पूर्वबाट आउने सवारीसाधन भरतपुर बसपार्कमा सबैलाई ओरालेपछि टिकौलीको जंगलमा रहेको चउरमा पार्किङ हुन्छन्।’

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य सहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको जानकारी दिए। 

ट्राफिक व्यवस्थापन गर्न बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँड्डुल गर्ने व्यवस्था मिलाइने प्रजिअ तामाङले बताए।  

पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिनेछ। पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने एमालेको तयारी छ।

यता मुग्लिङ हुँदै काठमाडौं, पोखराबाट आएका गाडी बजारभन्दा बाहिर आँपटारीमा रोकिनेछन्। 

यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने एमालेले जनाएको छ। 

यो पनि- एमाले महाधिवेशनः ५ दिनलाई ६५ सय कोठा बुकिङ, १० करोडसम्म काराेबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .