ad ad

कारोबार


प्यानल घोषणा गर्दै करणले भने– अध्यक्षमा निर्वाचित भए समग्र अटो क्षेत्रको हित हुने निर्णय गर्नेछु

प्यानल घोषणा गर्दै करणले भने– अध्यक्षमा निर्वाचित भए समग्र अटो क्षेत्रको हित हुने निर्णय गर्नेछु

वसन्त अर्याल
मंसिर १५, २०७८ बुधबार १९:३, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को चुनावका लागि हालका उपाध्यक्ष तथा व्यवसायी करण चौधरीले पनि आफ्नो प्यानल घोषणा गरेका छन्। 

चौधरीले हालको कार्यसमितिमा रहेका ८० प्रतिशत सदस्यसहित आफ्नो टिम घोषणा गरेका हुन्। 

मारुती सुजुकीका आधिकारिक बिक्रेता रहेका चौधरीले चुनावी प्रतिस्पर्धाको लागि बुधबार होटल अलफ्टमा देशभर ठूला नेटवर्क रहेको टाटा मोटर्स, हिरो होन्डा, यामाहाका प्रतिनिधि समेट्दै आफ्नो प्यानल घोषणा गरेका छन्। 

उनका प्रतिस्पर्धी ध्रुव थापाले यसअघि नै आफ्नो टिम सार्वजनिक गरिसकेका थिए। दुवै समूहले अध्यक्षबाहेक १७ जनाको टिम सार्वजनिक गरेका छन्। नाडाको विधानअनुसार उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीमा चुनिने १७ जनाले छनोट गर्ने व्यवस्था रहेको छ। 

नाडाको ४५औँ साधारणसभा मंसिर २२ र २३ गते काठमाडौंमा हुँदै छ। 

चौधरीले आफूबाहेक १७ जनामा टाटाका राजनबाबु श्रेष्ठ, हिरोका अभिक ज्योति, एमएडब्लुको तर्फबाट मिलनबाबु मल्ल पनि रहेका छन्। 

त्यस्तै नाडाको हाल कार्यसमितिमा रहेका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती पनि चौधरीकै प्यानलमा रहेका छन्। 

यसबाहेक विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीले चौधरीको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गर्नेछन्।  

चौधरीले सर्वसम्मतिको प्रयास गरे पनि हुन नसकेपछि प्यानल घोषणा गरेको बताएका छन्। 

‘मैले नाडामा सर्वसम्मतिको लागि ठूलो प्रयास गरेको छु। तर अझै सफल हुन सकिएन’, टिम घोषणासभामा चौधरीले भने, ‘२२ गतेसम्म सर्वसम्मतिको प्रयास जारी रहनेछ।’

चौधरीले आफ्नो टिम उद्योगमैत्री भएको बताएका छन्। उनले गाडी एसम्बल, बाइक एसेम्बल, लुब्रिकेन्ट्स उद्योग, टायर उद्योग व्यवसायीको टिम रहेको बताएका छन्। 

‘म नाडाको नेतृत्व गर्दा मेरो कम्पनी घाटामा जाने देखिए पनि समग्र अटो क्षेत्रको फाइदा हुने निर्णय गर्छु’, चौधरीले भने, ‘डिलर, रिटेलर, मोफसलका व्यवसायीलाई पूर्णरुपमा समेट्नेछु।’

सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले सहमति नभए पनि आफ्नो टिमले प्रतिस्पर्धामार्फत जित्ने दाबी गरेका छन्। 

‘निर्वाचन गर्दा व्यवसायीबीच फाटो आउन सक्छ भनेर सर्वसम्मतिको प्रयास गरेका हौँ’, श्रेष्ठले भने, ‘निर्वाचन भए हामी जित्ने पक्काजस्तै छ।’


 
कुन कम्पनीका व्यवसायी कता ?
चौधरीको टिममा रहेको राजनबाबु श्रेष्ठ सिप्रदी ट्रेडिङका सीईओ हुन् भने अभिक ज्योति हिरो मोटर्सका कार्यकारी निर्देशक छन्। 

हालका महासचिव सुनिल रिजाल पार्ट्स व्यवसायी भने सचिव अनुप कुमार बराल सुजुकी डिलर हुन्। प्रकाश कपुरी नाडाको पूर्वउपाध्यक्ष हिरो डिलर समेत हुन्। 

ब्याट्री उद्योगी सुरेन्द्र कुमार उप्रेती, टायर व्यवसायी विक्राम सिंघानिया, एमएडडब्लुको तर्फबाट मिलनबाबु मल्ल, पंकज अग्रवाल पार्ट्स रिटेलर, निलामणि पाठक पार्टस, देवराज भणडारी पार्टस व्यवसायी, गंगाराज भट्टराई लुब्रिकेन्ट्स, गोपाल भट्टराई चितवनका अटो व्यवसायी हुन्। 

थापाको प्यानलमा हुन्डाईको आधिकारिक बिक्रेता तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ छन् भने नाडाका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छा छन्। 

बीवाईडीकी यमुना श्रेष्ठ, हिक्टो प्रा.लिका प्रदिपमान प्रधान, अमर ज्योति रञ्जित, रिकन्डिसन व्यवसायी बीएन पाठक, दिपक कुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन कन्साकर, सञ्जय कुमार खेतान, सुवासिस थपलिया रहेका छन्। 

कुन टिमका कस्ता एजेन्डा?
करण चौधरीले आफ्नो टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्य रहेकाले यसको निरन्तरता रहने बताएका छन्। उनले आफ्नो आगामी दिनमा व्यवसायीलाई तालिम र प्रदेश संरचना विस्तार मुख्य रहेको बताए। 

उनले देशभरका अटो व्यवसायीको हितको लागि काम गर्ने जनाएका छन्। 

‘मेरो एजेन्डा भनेकै देशभरका अटो व्यवसायीको हितमा काम गर्नु हो’, चौधरीले भने, ‘गाडी आयातकर्तादेखि डिलर, लुब्रिकेन्ट्स, रिटेलर सबैको हित हेर्छौँ।’

सरकारले नीति निर्माण गर्दा नाडासँग छलफल गर्नुपर्ने वातावरण बनाएको चौधरीले दाबी गरेका छन्। 

यता ध्रुव थापाले सवारीसाधन एसेम्बल र उत्पादनमा प्रस्ट खाका निर्माण गर्ने, अत्यावश्यक साधानको सूचीमा सवारीसाधनलाई राख्न पहल गर्ने, विज्ञ टिम निर्माण गरेर अटो क्षेत्रका समस्या र समाधानको उपायसहित राजइसंग सार्थक सम्वाद गर्ने एजेन्डा अघि सारेका छन्।  

थापाले नाडा सचिवालयलाई सुधार गर्ने योजना समेत ल्याएका छन्। नाडाको आफ्नै भवन निर्माण कार्य थाल्ने उल्लेख गरेका छन्। 

नाडा अटो शोलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र आन्तरिक बजार प्रवर्द्धन केन्द्रित गर्दै प्रदेशमा थालनी गर्ने, नाडा अटो शोको प्याटेन्ट दर्ता गर्ने, अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य र समन्वय गरेर बृहत् अटो शो आयोजना गर्ने उल्लेख गरेको छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .