ad ad

कारोबार


पार्क सफारीमा ओलीका ५ दिनः मेनुमा पाकेको खाए, भद्र व्यवहारले छक्कै पारे

पार्क सफारीमा ओलीका ५ दिनः मेनुमा पाकेको खाए, भद्र व्यवहारले छक्कै पारे

वसन्त अर्याल
मंसिर १८, २०७८ शनिबार १९:४, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले लाखौँ मानिस उतारेर आफ्नो दशौँ महाधिवेशन चितवनमा भर्खरै सम्पन्न गर्यो। 

यही मंसिर १० देखि १४ गतेसम्म चलेको महाधिवेशनले पर्यटकीय स्थान सौराहा चर्चामा रह्यो। त्यसमा पनि विशेष चर्चा त पार्क सफारी रिसोर्टको रह्यो जहाँ अध्यक्ष केपी शर्मा ओलीले पाँच दिन बिताए। 

महाधिवेशनकै लागि एमालेले चितवनका ३५ सय होटल बेड बुक गरेको थियो। एमालेको महाधिवेशन प्रतिनिधिका लागि आवाससम्बन्धी संयोजक कृष्णभक्त पोखरेलले सौराहाका प्रायः सबै होटलमा कोठा बुक गराएका थिए। 

तर होटल व्यवसायीलाई सुरुमा अध्यक्ष ओली कुन होटलमा बस्छन् भन्ने नै जानकारी गराइएको थिएन। पछि मात्र उनीहरुले ओली पार्क सफारीमै बस्ने थाहा पाए। 

‘हाम्रो होटलका कोठा बुक भएका थिए। पार्क सफारी रिसोर्टमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बस्नुहुन्छ भन्ने मैले पनि अन्तिममा थाहा पाएँ’, पार्क सफारीका कार्यकारी निर्देशक महेश खनाल भन्छन्, ‘पार्क सफारी रिसोर्टमा ५० कोठा छन्। १२ वटा कोठा केपी शर्मा ओली र मुख्य नेताको लागि छुट्याइएको थियो।’

पूर्वप्रधानमन्त्री तथा चर्चित नेता ओली पार्क सफारीमा बस्ने भएपछि होटल व्यवस्थापकलाई ओली के खान्छन् र कसरी आतिथ्य पस्किने भन्ने चिन्ता थियो। खनाललाई रिसोर्टमा बस्दा व्यवस्थापन गर्न अलि अप्ठ्यारो हुन्छ कि भन्ने लागेको थियो। 

‘पूर्वप्रधानमन्त्री भएको हिसाबले राम्रो व्यवस्थापन गरेर राख्नुपर्छ भन्ने त थियो नै’, खनाल सम्झिन्छन्, ‘त्यसमाथि उहाँले दुई/दुई पटक मिर्गौला प्रत्यारोपण गरेका कारण खानपान कसरी मिलाउने भन्ने चिन्ता थियो।’

‘विशेष अर्डर गरेनन्, फुर्तिला ओलीले सबैलाई छक्कै पारे’
७० वर्ष पुगेका ओली दुई पटक मिर्गौला प्रत्यारोपण गर्दा कमजोर हुनसक्ने खनालको अनुमान थियो। खनालले आफ्ना स्टाफलाई चौबीसै घण्टा ‘स्ट्यान्ड बाई’ राखेका थिए। 

तर जब ओली होटल आएर बसे उनको बानी व्यवहार देख्दा खनाल छक्क परे। किनकि उनले सोचेभन्दा ओली धेरै फरक देखिए। 

पार्क सफारीमा रहँदा ओलीले सबैसँग बसेर खाना खाएको खनाल बताउँछन्। ओलीको लागि खानाको ‘स्पेसल रिक्वायरमेन्ट’ केही थिएन। 

‘पूर्वप्रधानमन्त्री ओली रिसोर्टमा बस्दा आफ्नो परिवार सदस्यजस्तै गरेर बस्नुभयो’, खनाल भन्छन्, ‘हाम्रा स्टाफसँग भेट हुँदा सामान्य व्यवहार प्रदर्शन गर्नुभयो। होटलको मेनुमा जे पाक्थ्यो त्यही नै खानुभयो।’

ओलीले प्रायः रोटी रुचाएको बताउँछन् उनी। पार्क सफारीमा ओलीले थोरै खाना र बढी ‘तावा रोटी’ खाए। तरकारीमा उनले चितवनकै हरियो सागसब्जी रोजे। 

खनालले नेपालखबरसँग भने, ‘उहाँको लागि होटलले छुट्टै परिकार बनाउनुपरेन।’ 

ओली बस्ने कोठामा होटलले पानी तताउने, चिया, कफी पकाउने सबै व्यवस्था गरेको थियो। पत्नी राधिका शाक्य पनि सँगै बसेकी थिइन्। शाक्य आफैँले चिया र कफी बनाइन्। 

रिसोर्टमा ओलीबाहेक अन्य शीर्ष नेता पनि बसेका थिए। ओलीले उनीहरुसँगै बसेर खाना खाए। 

भेटघाटमै व्यस्त 
५० वटा कोठा भएको रिसोर्टमा मुख्य नेताबाहेक कार्यकर्ताको लागि समेत बुकिङ थियो। अनलाइनबाट बुकिङ गरेका विदेशी पर्यटक समेत उक्त पार्क सफारीमा थिए। 

ओली रिसोर्टमा बस्दा धेरैजसो समय भेटघाटमै बिताए। 

महाधिवेशनमा सहमतिको प्रयास गर्दा धेरै नेता र कार्यकर्तालाई पनि त्यहीँ भेटे। त्यो सबै देखेका खनालका अनुसार ओलीले धेरै आराम नै गर्न पाएनन्। 

‘होटलमा बस्दा जुन रुपमा खटेको देखियो, उहाँ (ओली)लाई केही पनि भएको रहेनछ भन्ने अनुभूति भयो’, उनले नेपालखबरसँग भने।

६ वर्षदेखि सञ्चालन​मा
सौराहामा पार्क सफारी रिसोर्ट विगत ६ वर्षदेखि सञ्चालनमा छ। होटल सञ्चालनमा आएसँगै नाकाबन्दी र बाढीको प्रभाव खेपेको रिसोर्टमा कोरोनाले गर्दा राम्रोसँग चहलपहल हुन पाएको थिएन। 

पार्क सफारी रिसोर्टको सबैभन्दा पहिलो विशेषता उपयुक्त ‘लोकेसन’ हो। रिसोर्टबाट चितवन राष्ट्रिय निकुञ्ज करिब १ किलोमिटर दूरीमा मात्रै छ। रिसोर्टको छेउमा राप्ती खोला बग्छ जहाँ ‘मुड फ्रेस’ गराउने सुन्दर बगैँचा छ। 

यतिमात्र होइन रिसोर्टका पूर्वाधार पनि राम्रा छन्। लोकेसन र पूर्वाधार त भनेजस्तो छँदै छ, होटलको सेवा र खानाको प्रबन्ध पनि राम्रो छ।

यसैलाई शिरोधार्य गरेर व्यवसाय गरिरहेको बताउँछन् खनाल। खानपानमा ‘हाइजेनिक’ र ‘टेस्ट’लाई रिसोर्टले प्राथमिकता दिएको उनी बताउँछन्।  

‘ओली बस्दा रिसोर्टको भव्य प्रचार’
नेपालको शक्तिशाली पदमा पुगिसकेको व्यक्तित्वलाई आतिथ्य दिँदा रिसोर्टको राम्रै प्रचार भएको बताउँछन् खनाल। 

‘पार्क सफारी रिसोर्टमा मुख्य नेता बस्दा त्यसको बढी प्रचारप्रसार भयो। हामीले जति पैसा खर्च गरेर विज्ञापन गर्न सक्थ्यौँ, त्योभन्दा बढी प्रचार भएको छ’, उनी भन्छन्, ‘एमालेको महाधिवेशन चितवनमा हुँदा समग्र चितवन उठ्नको लागि पनि ठूलो सहयोग भएको छ।’ 

महाधिवेशनको समय भएकाले ओलीसँग फुर्सद थिएन। ५ दिन रिसोर्टमा बस्दा उनी एक दिन मात्रै गार्डेनमा घुम्न निस्किए। हात्ती, चराचुरुङ्गी हेरेर आनन्द लिए। 

ओलीसँगै होटल सञ्चालक खनाल। तस्बिर :फेसबुकबाट

उत्साहित छन् पर्यटन व्यवसायी
एमाले महाधिवेशनले पार्क सफारी मात्र खुसी छैन, चितवनका समग्र पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ। 

कोभिडको कारण समग्र पर्यटन व्यवसाय थला परेको अवस्थामा लाखौँको जमघटले पर्यटन प्रवर्द्धनमा राहत मिलेको खनालको भनाइ छ। 

उनले थपे, ‘राहत र सहयोगको कुनै महशुस गर्न पाएका थिएनौँ। एमाले महाधिवेशनले सबै पर्यटन व्यवसायीमा उत्साह थपिएको छ।’

त्यसो त एमाले महाधिवेशन यहाँका व्यवसायीका लागि चुनौती र अवसर दुवै थियो।

‘व्यवस्थापनको तर्फबाट हेर्दा आगामी दिनमा अझै राम्रो सेवा कसरी प्रदान गर्ने भन्ने चुनौती छ भने काम गर्ने अवसर पनि मिलेको छ’, खनाल भन्छन्। 

एमालेका मुख्य नेता बस्दा देशभर होटलले आफूलाई चिनाउने मौका पाएको छ। व्यवसायीहरुलाई अहिले कारोबार ठीकै भए पनि भविष्यको लागि राम्रो भएको छ। 

‘ओली बसेको होटल’
अध्यक्ष ओलीले ५ दिन बिताएको पार्क सफारीले अहिले उपनाम नै पाएको छ– ‘ओली बसेको होटल’।

‘ओली बसेको होटल भनेर बिहीबार होटल पूरै प्याक भएको छ’, खनाल भन्छन्, ‘सोही कारण शुक्रबार बुकिङका लागि आएका पर्यटकलाई हामीले राख्नसक्ने अवस्था नै रहेन।’

हुन पनि ओली होटल छाडेर काठमाडौं आएपछि होटल पूरै बुकिङ भएको छ। अहिले होटल पुग्ने जो कोही ‘ओली बसेको होटल’ भन्दै सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

‘सौराहाको म प्रतिनिधि मात्रै हो। समग्र सौराहा गहनाको रुपमा परिचित भएको छ’, खनालले भने। 

उनका अनुसार पार्क सफारीबाट निस्किने बेला ओलीले सबै स्टाफलाई धन्यवाद व्यक्त गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .