ad ad

कारोबार


बीवाईडीकी यमुना भन्छिन्ः विद्युतीय गाडीसम्बन्धी स्पष्ट नीति बनाउन नाडामा मेरो उम्मेदवारी

बीवाईडीकी यमुना भन्छिन्ः विद्युतीय गाडीसम्बन्धी स्पष्ट नीति बनाउन नाडामा मेरो उम्मेदवारी

यमुना श्रेष्ठ


नेपालखबर
मंसिर २०, २०७८ सोमबार १६:५३, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापनाको ४५ वर्ष पुग्दा महिला नेतृत्व शून्य छ।

अटो व्यवसायमा महिला सहभागिता भए पनि छाता संगठन नाडामा सहभागिता हुनसकेको छैन।

नाडामा नयाँ नेतृत्वचयन हुँदै गर्दा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन्। उनी विद्युतीय सवारी मात्रै बिक्री गर्ने कम्पनीको प्रतिनिधि समेत हुन्। 

नाडाको नेतृत्व गर्दा श्रेष्ठले विद्युतीय गाडीसम्बन्धी नीतिको लागि पहल गर्ने बताएकी छिन्। हाल नेपालमा आउने विद्युतीय गाडी कुनै मापदण्डविना नै आयात भइरहेका छन्। सरकारले विद्युतीय गाडीसम्बन्धी कुनै मापदण्ड बनाएको छैन। 

नाडाले कस्ता गाडी ल्याउन पाउने र कस्ता नपाउने भन्ने विद्युतीय गाडीसम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने श्रेष्ठको धारणा छ। 

‘नाडामा अहिलेसम्म विद्युतीय गाडीलाई प्रतिनिधित्व गर्ने कोही पनि थिएन। विद्युतीय गाडीसम्बन्धी सरकारको स्पष्ट मापदण्ड पनि छैन’, श्रेष्ठले नेपालखबरसँग भनिन्, ‘विद्युतीय सवारीसाधनलाई ह्विम (लहर)को रुपमा होइन, बृहत् नीति ल्याई व्यवस्थापन गर्नुपर्छ।’ 

नेपालमा विद्युतीय गाडीको बजार भर्खर विस्तार हुँदै गएको छ। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने नाडाको एजेन्डा बन्नुपर्ने श्रेष्ठ बताउँछिन्। 

मंसिर २२ र २३ गते हुने नाडाको निर्वाचनमा ध्रुव थापा र करण चौधरी अध्यक्षमा उठ्ने घोषणा गरेका छन्। ध्रुव थापाको प्यानलबाट यमुना श्रेष्ठले कार्यसमिति सदस्यको रुपमा उम्मेदवारी घोषणा गरेकी छिन्। 

‘ध्रुव थापाको भिजन सबै अटो व्यवसायीलाई समेटेर अघि बढ्नुपर्छ भन्ने छ। नाडाले साना र ठुला सबै कुरा समेटेर जानुपर्छ भन्ने धारणा छ’, श्रेष्ठले थपिन्, ‘विद्युतीय सवारीसाधनको विषय र नाडासम्बन्धी नयाँ सोच भएको हुँदा उहाँकै प्यानल रोजेकी हुँ।’

नाडा अहिलेकै अवस्थाबाट चलेर नहुने र परिवर्तन हुन आवश्यक रहेको  उनको भनाइ छ। नाडाको पहिचानलाई अभैm फराकिलो बनाउनुपर्ने बताउँदै उनी यसलाई सबैको साझा हुनुपर्छ भन्ने मुख्य एजेन्डासाथ चुनावी प्रतिस्पर्धामा होमिएको बताउँछिन्। 

‘अर्को टिमबाट पनि प्रस्ताव आएको थियो तर विचार नमिलीकन अगाडि बढ्न सकिँदैन’, उनी भन्छिन्, ‘ध्रुव थापासँग विचार मिल्छ, त्यसैले उम्मेदवारी घोषणा गरे। एक्लैले गर्ने होइन, त्यसको लागि टिम बनाएका छौँ।’

व्यवसायीहरुको ठूलो संगठन उद्योग वाणिज्य महासंघको नेतृत्वमा महिला पुगे पनि अटो व्यवसायीको संस्थामा महिला अझै नपुगेकोले यसपटक दाबेदारी दिएको उनको भनाइ छ। 

‘नाडा स्थापना भएको ४५ वर्षसम्म नाडामा महिला नेतृत्व पुगेको छैन। देशकै राष्ट्रपति महिला हुँदा व्यावसायिक क्षेत्रको नेतृत्वमा पनि महिला आउनुपर्छ भन्ने लागेको छ’, श्रेष्ठ भन्छिन्, ‘निर्वाचन लडेपछि जित्ने र हार्ने भन्ने त भइहाल्छ तर प्रतिस्पर्धा गर्न डराउनुहुँदैन भन्ने सन्देश पनि हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .