ad ad

कारोबार


अटोमोबाइल व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन चौधरी प्यानलको जित आवश्यक छः राजनबाबु श्रेष्ठ

अटोमोबाइल व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन चौधरी प्यानलको जित आवश्यक छः राजनबाबु श्रेष्ठ

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ। तस्बिर : विजय सिंह


वसन्त अर्याल
मंसिर २१, २०७८ मंगलबार ६:५८, काठमाडौँ

राजनबाबु श्रेष्ठ टाटा मोटर्सको नेपालको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को यही २२ गतेदेखि साधारणसभा र चुनाव हुँदै छ। यसमा करण चौधरी र ध्रुव थापाले अध्यक्षमा उठ्ने घोषणा गर्दै प्यानल नै सार्वजनिक गरिसकेका छन्। सीईओ श्रेष्ठ पनि नाडा कार्यसमिति सदस्यमा करण चौधरीको प्यानलबाट चुनावमा होमिँदै छन्। यही सन्दर्भमा सीईओ श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी :

यसअघिको चुनावमा सर्वसम्मत नेतृत्वचयन भएको थियो। यसपटक किन दुई समूह बनाउनुपर्ने अवस्था सिर्जना भयो?
निर्वाचनमा जाने हाम्रो पहिलो विकल्प चाहिँ पक्कै थिएन। विभिन्न चरणको छलफल, सहमतिको प्रस्ताव र अन्तिममा पूर्वअध्यक्षहरुसँगको छलफलबाट पनि सहमतिको बाटोको सिर्जना हुन नसकेपछि अन्ततः निर्वाचनमा जानुपर्ने अवस्था आइपरेको हो। 

साथै यही छलफलको दौरान धेरै व्यवसायी साथीहरुले हाम्रो प्यानलको अटोमोबाइल उद्योगतर्फको प्रगति र एकताको प्रतिबद्धता सायद देख्नुभयो, जसको कारण अटोव्यवसायी साथीहरुले करणजीको टिमलाई खुल्ला रुपले समर्थन जनाउन थाल्नुभयो। 

तसर्थ साना, ठूला, मझौला, सबै व्यवसायीहरुको समर्थन पाएपछि हामी पनि निर्धक्क चुनावी प्रतिस्पर्धामा उत्रिएका हौँ। त्यसैले संक्षेपमा भन्नुपर्दा केही साथीहरुको असहमतिको कारण निर्वाचनको अवस्थामा आइपुगेका हौँ।

के कारणले सहमति जुटेन त? 
सर्वप्रथम यो जानकारी दिन चाहन्छु कि निर्वाचनमा जानुभन्दा सहमतिबाट नै उपाय खोजौँ भन्ने थियो। केही साथीहरुले मान्नुभएन। विभिन्न चरणको छलफल पनि गरेका हौँ। सहमतिको प्रस्तावबाट पनि सहमतिको बाटोको सिर्जना हुन नसकेपछि अन्ततः निर्वाचनमा जानुपर्ने अवस्था आएको हो। 

तपाईंले करण चौधरीको प्यानल किन रोज्नुभयो? 
मैले करण चौधरीको प्यानल रोज्ने वा नरोज्ने भन्दा पनि हामी सम्पूर्ण अटो व्यवसायीको हित र संगठनलाई थप मजबुत र प्रभावशाली बनाएर अटोमोबाइल व्यवसायलाई अझै नयाँ उचाइमा पु¥याउन जुन उद्देश्य लिएर हिँडिएको छ, त्यो मार्ग रोजेको हो। यसरी नै बुझ्दा उपयुक्त हुन्छ। 

नाडाको निर्वाचन ठूला व्यावसायिक घरानाबीचको प्रतिस्पर्धाको रुपमा देखिएको छ। यसले व्यवसायीबीच मनमुटाव सिर्जना हुने त होइन?
हाम्रो प्यानलमा ठूला घरानाहरुको मात्र समूह छ भनेर विरोधी साथीहरुबाट आक्षेप आइरहेको हामीले पनि सुनेका हौँ। तर हाम्रो प्यानलको उम्मेदवारहरुको वास्तविक पाश्र्वचित्र सबैले आफैँ हेर्न सक्नुहुन्छ। 

हाम्रो समूहमा सबै क्षेत्रका व्यवसायीहरुको मिश्रित टिम रहेको छ। हाम्रो समूहमा विगत २३ वर्षभन्दा बढी यही अटो व्यवसायमा रहेर यही व्यवसायको उत्तारचढावमा अघि बढ्नुभएको अनुभवदेखि यो व्यवसायमा अझै सम्भाव्यता छ भनेर लागि परिरहनुभएको नयाँ जोस र ऊर्जा मिसिएको छ। 

गाडी, मोटरसाइकल, पार्ट्स, ल्युब, ब्याट्री, टायर, सर्भिस सेन्टर, खुद्रा रिटेल दुकानसम्मका व्यवसायीहरुको टिम हामीले निर्माण गरेका छौँ। साथै हाम्रो लागि सबै अटो व्यवसायमा संलग्न व्यवसायीहरुको दर्जा एउटै रहेको छ। एक–अर्काको साथ विना अटो व्यवसायको विकास असम्भव छ। त्यसैले यो ठूला घराना, साना घरानाको मतभेद किन आइरहेको छ भन्ने कुरामा हामी अचम्म परेका छौँ।

नाडाको निर्वाचन भइरहँदा गाडी आयातकर्ता र अरु व्यवसायीको छुट्टै संगठन हुनुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ। के यो सत्य हो ?
मलाई र मेरो समूहलाई सोध्नुहुन्छ भने – बिल्कुल होइन। हामी कुनै फुटको पक्षमा कहिले थिएनौँ र छैनौँ पनि। सर्वप्रथम त फुट नहोस् भन्नका लागि चुनाव होइन सहमति गर्नुपर्छ भन्ने पक्षमा थियौँ र चुनाव हुने नै भएपछि पनि सम्पूर्ण गाडी आयातकर्ता, पार्ट्स आयातकर्ता, टायर आयातकर्ता, लुब्रिकेन्ट्स आयातकर्ता, ब्याट्री आयातकर्ता, रिटेल दुकान, सर्भिस सेन्टर सबै क्षेत्रलाई प्रतिनिधित्व गर्न सक्ने सक्षम साथीहरुको समूहलाई लिएर चुनावमा उत्रिएका छौँ।

सबैलाई समेटिएको टिम भएपछि फुट्नपर्ने आवश्यकता कहाँ आइपर्छ र? अझै हामी त सबै सँगै मिलेर गए यो व्यवसायलाई अझै माथि लैजान सकिन्छ भनेर विश्वास गर्ने समूह हो।

चुनाव नजिकै आइसक्यो, नाडाका मतदातालाई के भन्नुहुन्छ? 
पछिल्लो समयमा नेपालको राजस्व संकलनमा सबैभन्दा धेरै योगदान दिने निजी क्षेत्रको छाता संगठनको रुपमा नाडाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाइराखेको छ। नेपालको निजी क्षेत्रका संघ तथा संगठनहरुको छाता संस्थान उद्योग वाणिज्य महासंघमा वर्तमान र विगतमा पटक–पटक नेतृत्वको बागडोर नाडाकै पूर्वअध्यक्षहरुले गरिरहनुभएको इतिहास छ। 

गर्विलो इतिहास बोकेर नेपालको सुनौलो भविष्यका लागि विशेष योगदान पुर्‍याइरहेको निजी क्षेत्रको महत्वपूर्ण संगठन नाडाको आगामी कार्यसमिति निर्वाचनका लागि प्रत्याशी करण चौधरी र उहाँको नेतृत्व प्यानलका सदस्यहरुलाई भोट दिएर विजयी बनाउन हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .