ad ad

कारोबार


नाडा चुनावः ध्रुव थापाको जितमा अन्जान ‘कि प्लेयर’

नाडा चुनावः ध्रुव थापाको जितमा अन्जान ‘कि प्लेयर’

वसन्त अर्याल
मंसिर २४, २०७८ शुक्रबार २३:११, काठमाडौँ

कर्पोरेट हाउसका ‘बादशाह’का रुपमा चिनिने करण चौधरीलाई चुनावी मैदानमा हराउँदै नाडाको अध्यक्ष चुनिएसँगै ध्रुव थापा अहिले चर्चामा छन्। 

थापा पोखराबाट उदाएका अटो व्यवसायी हुन्। 

अटो व्यवसायीको छाता संस्था नाडामा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीसँग प्रतिस्पर्धा गर्ने उद्घोष गर्दा अन्तिममा थापाले उम्मेदवारी फिर्ता लिने आकलन गरिएको थियो। 

किनभने देशभर ठूलो नेटवर्क रहेको चौधरी ग्रुपको सञ्जाल ध्रुव थापालाई जित हासिल गर्न तगारो हुने अधिकांश व्यवसायीले सोचेका थिए। 

यसको पछाडि अन्य कारण पनि थियो– टाटा, महिन्द्रा, यामाहालगायत देशैभर व्यावसायिक राज गरिरहेका चर्चित अटो ब्रान्डहरु चौधरीकै साथमा थिए। 

त्यसमाथि नाडाको उपाध्यक्ष भएका कारण चौधरीलाई अधिकांश कार्यसमितिको समर्थन थियो। 

ठूला कर्पोरेट हाउसको आडभरोसा पनि नभएको होइन। यति हुँदाहुँदै पनि थापाले नै जितमा बाजी मारे। 

यता करण चौधरीलाई एक कार्यकाल मात्रै नाडामा बिताएकाले अहिले नै अध्यक्षमा नउठ्न केही व्यवसायीले नसुझाएको होइन, तर ठूला घराना र आफ्नो नेटवर्क बलियो भएको विश्लेषण गर्दै उनी निर्वाचनमा होमिए।

ध्रुव थापाको साथमा सुरुमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप र गोल्छा अर्गनाइजेसनको मात्रै समर्थन रहेकोमा विस्तारै जगदम्बा ग्रुप,  दुगड ग्रुपको समर्थन थपियो। 

नेटवर्कका हिसाबले ध्रुव थापाको प्यानलमा हुन्डाई ठूलो नेटवर्क भएको ग्रुप थियो। 

करण चौधरीको साथमा ठूला नेटवर्क भएका बढी घरानीया थिए तर साना व्यवसायी थापाको पक्षमा बढी लागे। पार्ट्स, लुब्रिकेन्टस्, ब्याट्री व्यवसायीले थापालाई समर्थन गरे। 

ध्रुव थापा नाडाको अध्यक्ष हुनुमा सबैभन्दा ठूलो सहयोग लाइन्स क्लबमार्फत भएको अटो व्यवसायीको बुझाइ छ। १७ जना सदस्यमा करण चौधरीका १२ जनाले जित्दा ध्रुव थापाले ६६ मतान्तरले चौधरीलाई हराए। करण चौधरीले १३ सय ४७ मत ल्याउँदा ध्रुवबहादुर थापाले १४ सय १३ मत ल्याए।  

‘ध्रुव थापा जित्नुमा सबैभन्दा ठूलो सहयोग लाइन्स क्लबको सर्कलले गरेको हो’, नाडाका एक पूर्वअध्यक्षले भने, ‘अधिकांश अटो व्यवसायी लाइन्स क्लबमा छन्। थापा पूर्व डिस्ट्रिक्ट गभर्नर हुँदा त्यसको फाइदा भयो।’

ध्रुव थापालाई मोफसल र अधिकांश व्यवसायीको समर्थन थियो। पोखराका अधिकांश व्यवसायी खुलेरै थापाको पक्षमा लागेका थिए। 

‘ध्रुव थापा सानो व्यवसायबाट उदाएका हुन्। अटो क्षेत्रको सबै समस्या थाहा छ,’ एक व्यवसायीले भने, ‘साना र मोफसलका व्यवसायीलाई आफ्नो कुरा सुन्छन् भन्ने लागेर भोट हाले।’

अन्जान श्रेष्ठ थापा जिताउने ‘कि प्लेयर’
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठ ध्रुव थापा जिताउने ‘कि प्लेयर’ मानिएका छन्। उनले आफ्ना भाइ निराकार श्रेष्ठलाई ध्रुव थापाको प्यानलबाट उठाएर ठूला व्यावसायिक घरानाको भोट बाँडिएको थियो। 

कतिपय व्यवसायीले पोखराबाटै उदाएको लक्ष्मी ग्रुपले ध्रुव थापालाई सहयोग गर्नु स्वाभाविक बताए। नाडाका पूर्वअध्यक्ष रहेका श्रेष्ठले आफ्नो भाइमार्फत बढी ‘राजनीतिक चाल’ चालेको व्यवसायी बताउँछन्। 

नाडामा थापाले जित हासिल गरेसँगै अन्जान श्रेष्ठ आफूअनुकूलका पदाधिकारी बनाउने रणनीतिमा लागेका छन्। 

‘अन्जान दाइले ध्रुव थापालाई पूर्ण सहयोग गर्नुभएको छ,’ करण चौधरी प्यानलबाट निर्वाचन जित हासिल गरेका एक सदस्यले भने, ‘सदस्यमा ध्रुव थापाका कम भए पनि उपाध्यक्षदेखि कोषाध्यक्ष कसलाई बनाउँदा थापालाई सहज हुन्छ दाइले त्यसैलाई अघि सार्नुहुन्छ।’

नाडाको पहिलो कार्यसमिति बैठकले पदाधिकारी चयन गर्नेछ। पदाधिकारीमा निराकर श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्र उप्रेती, राजनबाबु श्रेष्ठ, अनुप बराल, विक्रम सिंघानियाको मुख्य दाबेदारी छ। 

को हुन् नयाँ निर्वाचित अध्यक्ष ध्रुव थापा?
करिब २१ वर्षअघि पोखरामा रिकन्डिसन व्यवसायबाट अटो क्षेत्रमा आएका ध्रुवबहादुर थापा अर्बौँको अटोसम्बन्धी कारोबार गर्ने व्यवसायी बनेका छन्। 

थापा हिमालय अर्गनाइजेसनका संस्थापक हुन्। ४ वटा कम्पनीका अध्यक्ष, २ वटा कम्पनीमा प्रबन्धनिर्देशक र एउटा कम्पनीको निर्देशक रहेका छन्। 

फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स, डीएन मोटर पार्टस् प्रा.लि, हिमालय इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीका अध्यक्ष रहेका छन्। 

हिमालय अटो वल्र्ड र अटो भेन्चरमा प्रबन्धनिर्देशक रहेका उनी माउन्ट ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पामा निर्देशक रहेका छन्। थापा हिमालय अटो इन्जिनियरि सर्भिसका सञ्चालक पनि हुन्। मेगा बैंक र एनएमबी बैंकका प्रमोटर रहेका छन्। 

नाडामा सन् २०१५ देखि ०१७ र २०१७ देखि ०१९ सम्म नाडाको उपाध्यक्षको रुपमा थापाले काम गरेका छन्। त्यसअघि २०१३ देखि ०१५ सम्म पश्चिमाञ्चल अटोमोबाइल्स डिलर एसोसिएसन (वाडा)का अध्यक्ष रहेका थिए। 

२००६÷००७ मा लाइन्स क्लब पोखरा चौतारीका अध्यक्ष रहेका थापा २०१५÷१६ मा लाइन्स क्लब्स इन्टरनेशनलका डिस्ट्रिक्ट गभर्नर भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .