जहाँ मेला महोत्सव हुन्छन्, त्यहाँ कोट, झोला र टोपी बोकेर पुगिहाल्छन् उनीहरु।
प्रमुख दलका नेता र कार्यकर्तालाई पार्टीको चुनाव लाग्दा प्युठानको खेमबहादुर बुढामगर दम्पतीलाई पनि यसको रौनकले छोएको छ।
तर राजनीतिप्रतिको चासोले होइन, व्यापारिक मोहका कारण पार्टीहरुको महाधिवेशनमा उनीहरु लालायित भएका हुन्।
१८ वर्षदेखि अल्लो व्यापार गरिरहेका उनीहरुलाई अहिले चलिरहेको राजनीतिक पार्टीहरुको महाधिवेशन उत्सव नै बनेको छ।
एमालेको चितवन महाधिवेशनदेखि कांग्रेसको काठमाडौं महाधिवेशनसम्म उनीहरुलाई भ्याइनभ्याइ छ।
महाधिवेशन अवधिमा मात्रै उनीहरुले करिब ८ लाखको व्यापार गरे।
प्युठान आसपासमा हुने मेला महोत्सवमा व्यापार गर्दै हिँड्ने दम्पती एमालेको महाधिवेशनमा लाखौँ मानिस आउने थाहा पाएपछि मंसिर ७ गते नै प्युठानबाट चितवनमा आएका थिए। त्यहाँ ५ दिने बसे, व्यापार गरे।
त्यसपछि भैरहवामा कांग्रेसको प्रदेश अधिवेशन हुन लागेको थाहा पाए। व्यापार न हो, उतै हानिए।
त्यसलगत्तै काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन भएको थियो। योचाहिँ उनीहरुले पत्तै पाएनन्।
‘काठमाडौंमा राप्रपाको महाधिवेशन थाहा नहुँदा भैरहवा गयौँ’, खेमबहादुर बुढामगरले नेपालखबरसँग भने, ‘भैरहवामा नेपाली कांग्रेसकै प्रदेश अधिवेशनमा आफ्नो व्यापार गरेर फेरि काठमाडौं आएका छौं।’
टोपी किन्ने धेरै
मगर दम्पतीका अनुसार सबैभन्दा बढी टोपी बिक्री हुने गरेको छ। जसको मूल्य ५ सय रुपैयाँ रहेको छ। उनीहरुले ७ सयदेखि २५ सयसम्मका अल्लोबाट बनेका झोला बिक्री गर्छन्।
फुलकोटको मूल्य ९ देखि १० हजारसम्मका रहेको उनीहरुले बताए। त्यस्तै हाफ कोटको मूल्य ४ हजारदेखि ५ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको छ।
एमाले महाधिवेशनमा उनको कारोबार बढी भएको थियो। चितवनमा दिनमै झण्डै एक लाख रुपैयाँको कारोबार गरेका थिए।
‘चितवनमा हामीले धेरै आइटम पनि ल्याएका थियौँ। मानिस पनि धेरै हुँदा कारोबार बढी भयो’, मगरले सुनाए, ‘दिनकै १ लाखसम्म कारोबार गरेका थियौँ।’
नेकपा एमालेको महाधिवेशन प्रतिनिधि २ हजारमात्रै भए पनि उद्घाटनसत्रमा लाखौं कार्यकर्ताको उपस्थिति थियो। कांग्रेसका प्रतिनिधि ४७ सय ४३ रहे पनि शक्ति प्रदर्शन गरेन। जसले मगर दम्पतीको व्यापार एमाले महाधिवेशनमा जति भएन।
मगरका अनुसार कांग्रेसको उद्घाटन सत्रको दिन करिब १२ हजार रुपैयाँको कारोबार भएको थियो भने शनिबार करिब २५ हजारको कारोबार भयो।
‘प्रहरीको डिस्टर्ब’
‘चितवनमा आनन्दसँग व्यापार गर्न पाउँथ्यौँ। त्यहाँ प्रहरीले डिस्टर्ब गर्दैनथ्यो’, उनकी श्रीमतीले भनिन्, ‘यहाँ प्रहरीले कति बेला उठाउँछ थाहै हुँदैन। सामान उठाउँदै हिँड्नुपर्छ।’
काठमाडौंमा उनीहरु एउटा कोठा लिएर सुन्धाराको होटलमा बसेका छन्। होटलले एक दिनको हजार रुपैयाँ लिने गरेको छ। ‘महाधिवेशनले होटल भरिँदा महंगोमा कोठा लिनुपरेको छ’, उनीहरुको भनाइ छ।
‘आज (आइतबार) प्रहरीले लखेटेको छैन। हिजोअस्तिभन्दा धेरै हुने आशा गरेका छौँ’, उनीहरु भन्छन्।
मगर दम्पतीले ल्याएको सामान सकिएपछि प्युठानबाट मगाउने गरेका छन्।
‘बाग्दुलाबाट गाडीमा हालिदिन्छन्। बसपार्क गएर ल्याएर आउँछौँ’, उनले भने, ‘कांग्रेसको अधिवेशन सकिएपछि प्युठान नै फर्किन्छौँ।’
अल्लोका कपडाः जाडोमा न्यानो गर्मीमा शीतल!
अल्लोका कपडाले जाडोको समयमा न्यानो र गर्मीको समयमा शीतल प्रदान गर्ने मगर बताउँछन्। अल्लोका कपडाले एलर्जी निको पार्ने उनको दाबी छ।
बुढामगर दम्पतीले अल्लो आफैँ निकाल्छन्। मेला महोत्सव नहुँदा घरमा श्रीमतीले टोपी र कोट बुन्छिन्। अल्लोका कपडा बनाउँदा हातकै प्रयोग हुँदा धेरै पर्ता (फाइदा) भने नहुने उनीहरुको अनुभव छ।
‘अल्लोबाट धागो निकाल्न गाह्रो छ। धागो निकालेपछि बुन्नै समय लाग्छ। कपडा बुनेर मात्रै भएन, त्यसलाई कोटको आकार, टोपीको आकार, झोलाको आकारमा बुन्न अर्कैकोमा लैजानुपर्छ’, उनले अनुभव सुनाए।
गाउँमै सिलाउनुपर्ने भए पनि मंहगो लिने गर्छन्।
‘जो पायो, त्यसले सिलाउनै मान्दैन। अल्लोका कपडा मोटो हुँदा सियो भाँचिन्छ, मेसिन बिगारिन्छ भन्दै सिउँदैनन्’, उनले भने।
मगर दम्पती २०६२ सालदेखि अल्लोको व्यापारमा लागेका थिए। गाउँमा अरु पनि अल्लोका व्यापारी रहेको उनीहरुको भनाइ छ।
उनीहरु पेशागत रुपमा काम नगरेको बताउँछन्। आफ्नो घरपरिवार धान्नको लागि अल्लोको व्यापार नै रहेको छ।
गाउँमा धेरैले अल्लोको संकलन गर्ने गरेका छन्। उनीहरु त्यसलाई किलोको हिसाबमा किन्छन् र कपडा बनाउँछन्।
एक किलो अल्लोको १२ सय रुपैयाँ पर्ने उनीहरुले बताए। त्यसबाट ५–६ वटा टोपी बन्छन्। मगर दम्पती अहिले त्यही बनाएको टोपीलगायत बिक्री गरिरहेका छन्।
Shares
प्रतिक्रिया