ad ad

कारोबार


‘विनोद दाइ! मास्क खोल्दिनु न, एउटा सेल्फी खिचौँ’

‘विनोद दाइ! मास्क खोल्दिनु न, एउटा सेल्फी खिचौँ’

कांग्रेस केन्द्रीय सदस्यमा उठेका अर्बपति विनोद चौधरीसँग सेल्फी लिँदै कांग्रेस कार्यकर्ता। तस्बिर : विक्रम राई/नेपालखबर


वसन्त अर्याल
मंसिर २७, २०७८ सोमबार २०:२८, काठमाडौँ

प्रदर्शनीमार्गमा बाक्लो भीड छ। त्यही भीडको बीचबाट हात जोड्दै निस्किन्छन् खर्बपति विनोद चौधरी। 

उनको साथमा अरु दुई जना पनि छन्। चौधरी भीडतर्फ अघि बढ्छन्। त्यतिकैमा भीडबाट आवाज आउँछ– ‘दाइ! मास्क खोलिदिनु न, एउटा सेल्फी खिचौँ!’

सोमबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको दृश्य हो यो।

यसकै लागि ४५ सय बढी प्रतिनिधि गत शुक्रबारदेखि नै भेला भएका छन्। यो महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्दै छ भने विभिन्न पदाधिकारी नवनियुक्त हुनेछन्।

बेलाबखत प्रसिद्ध म्यागेजिन फोर्ब्सका समाचारमा अटाइरहने चौधरी कांग्रेस केन्द्रीय सदस्यका लागि मधेशी कोटाबाट निर्वाचनमा उठेका हुन्। त्यसकै लागि उनी प्रतिनिधिहरुको भीडसँग भोट मागिरहेका थिए।    

सोही क्रममा उक्त रोचक दृश्य देखिएको हो। मतदानको दिन काठमाडौंको भृकुटीमण्डपमा उनले भोट माग्दै गर्दा सेल्फी र फोटो खिच्ने धेरै थिए। 

विश्वभर फैलिएको व्यवसायमा सम्हाल्न व्यस्त रहने चौधरीले सर्वसाधारणसँग भोट माग्दा सबैको ध्यान ताने। 

चौधरीले नमस्कार गर्दै भोट मागिरहेका थिए, महाधिवेशन प्रतिनिधिचाहिँ उनीसँग ‘एक सेल्फी’ मागिरहेका थिए। 

कोभिड संक्रमणबाट बच्न लगाएको मास्क उनले लगाउनै पाउँदैनथे।  

‘दाइ मास्क खोल्दिनु न! एउटा सेल्फी खिचौँ’ भन्ने धेरै थिए। मतदानको दिन चौधरीले आफ्ना प्रतिनिधिलाई ‘नाइँ’ भन्न सकेनन्।

आराम गर्दै भोट माग्दै
सोमबार बिहानै लाइनमा बसेका प्रतिनिधिसँग भोट माग्दै हिँडेका चौधरी पुलिस क्लबमा आराम गर्दै फेरि भोट माग्न बाहिर निस्किए। 

‘पर्यटन बोर्डको गेटबाट पुलिस क्लबको गेटसम्म आइपुग्दा १ घण्टा भयो’, उनका सहयोगीले भने। 

पत्रकार होस् वा प्रतिनिधि चौधरीलाई देख्नेबित्तिकै मोबाइल तेर्स्याउँथे। 

‘तपाईं नेपालकै ठूलो व्यवसायी किन राजनीतिमा लागेको?’, पत्रकारले सोधे।  

चौधरीको जवाफ थियो, ‘हामीले दिनरात राजनीतिलाई गाली गरे पनि ठूलो नीतिगत परिवर्तन राजनीतिमार्फत मात्रै सम्भव छ।’

उनी पत्रकारबाट उम्किन खोज्दै थिए, अर्का एक जनाले सोधिहाले, ‘कांग्रेसको केन्द्रीय सदस्यमा जिते के गर्नुहुन्छ?

जवाफमा चौधरीले भने, ‘नेपाली कांग्रेसभित्र आर्थिक सोचको विकास गर्नु छ। खाली बजेटको बेलामात्रै होइन। नेपाली कांग्रेस विकासकेन्द्रित एजेन्डामा अघि बढ्नुपर्छ।’

‘व्यवसाय र राजनीति सँगसँगै गर्छु’
पालिका महाधिवेशन, जिल्ला महाधिवेशन, प्रदेश महाधिवेशनमा समेत आफ्नो सहभागिता जनाएका चौधरी व्यवसायबाट अब राजनीतिमा बढी सक्रिय हुन् खोज्दैछन्।

चौधरी युवा उद्यमीलाई सहयोग गर्न कांग्रेसले सञ्चालन गरेको ‘गरिखाने अभियान’ का संयोजक समेत रहेका छन्। चौधरीले भोट माग्दै गर्दा केही प्रतिनिधिले गरिखाने अभियानबारे प्रश्न सोधे। 

‘गरिखाने अभियान कांग्रेसका युवाहरुलाई उद्यमशील बनाउने कार्यक्रम हो। युवालाई सक्षम बनाउन यो अभियान चलाइरहेका छौँ’, उनले जवाफ दिए।

नेकपा एमालेको संसद् भएर राजनीति सुरु गरेका चौधरी २०७४ को निर्वाचनमा कांग्रेस प्रवेश गरेका थिए। उनी कांग्रेसमा समानुपातिक तर्फबाट सांसद रहेका छन्। 

उनले आगामी निर्वाचनमा नवलपरासी पूर्वबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको कांग्रेस वृत्तमा छलफल हुँदै आएको छ। 

उनी पहिलोपटक केन्द्रीय नेतृत्वको लागि १४ औँ महाधिवेशनमा उम्मेदवार बनेका छन्। व्यवसायमा छलाङ मारेका चौधरी राजनीतिमा पनि छलाङ मार्ने प्रयासमा छन्। ्

उनले विभिन्न तहबाट करिब ५० प्रतिशत युवा नेपाली कांग्रेसको राजनीतिमा आएको बताउँदै युवाहरुलाई विश्वको ट्रेन्ड फलो गर्नसक्ने बनाउनुपर्ने बताए। 

‘कांग्रेस अब युवा केन्द्रित हुनुपर्छ’, चौधरीले भने, ‘युवाहरुको विचारको प्रतिनिधित्व गर्दै कांग्रेसमा नीतिगत बहस चलाउँछु।’

विनोद चौधरीले पार्टी संगठनमा आफू राजनीतिको विद्यार्थी रहेको बताए।  

उनले केही गरिरहेको मानिस नेपालको राजनीतिबाट असन्तुष्ट रहेको बताए। अहिले यही अवस्था परिवर्तन गर्न आफू राजनीतिमा आउनुपरेको उनको भनाइ छ। 

‘केही गर्नसक्ने मानिस राजनीतिमा प्रवेश गर्न पनि चाहँदैन। राजनीतिमा त्यति सहज छैन’, भृकुटीमण्डपमा भोट मागिरहेका चौधरी भन्छन्, ‘निष्ठाको राजनीति, परिवर्तनको राजनीति गर्न त्यति सहज छैन। तर मेरो प्रयास जारी रहन्छ।’

चौधरीले मधेशी कोटामा सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। कांग्रेसको विधानमा ५ सदस्य मधेशी कोटाबाट छानिने व्यवस्था छ। 

कांग्रेस राजनीति गर्न चाहने अरु पनि छन् व्यवसायी 
त्यसो त चौधौं महाधिवेशनमा खर्बपति चौधरी मात्र होइन, अरु व्यवसायी पनि जोडिएका छन्। 

उनीसहित धेरै व्यवसायी कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन्। कांग्रेसमा आबद्ध अधिकांश ठूला व्यवसायीले शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। 

वार्षिक अर्ब बढीको कारोबार गर्ने निर्माण व्यवसायी तथा सांसद जिपछिरिङ लामाले खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। रसुवा कन्स्ट्रक्सनका सञ्चालक तथा सांसद मोहन आचार्यले पनि खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन्।

आदिवासी तथा जनजातिको कोटाबाट २ ठूला व्यवसायी कांग्रेसको चुनावमा होमिएका छन्। 

हाल प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका उमेश श्रेष्ठ स्वास्थ्य, शिक्षा क्षेत्रका ठूला व्यापारी हुन्। नुवाकोटका निर्माण व्यवसायी बहादुर सिंह लामाले पनि जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .