ad ad

कारोबार


विद्युतीय कारको बिक्री ह्वात्तै बढ्दा किन नेपाल आउन सकेनन् बिजुली बस?

विद्युतीय कारको बिक्री ह्वात्तै बढ्दा किन नेपाल आउन सकेनन् बिजुली बस?

वसन्त अर्याल
पुस १, २०७८ बिहिबार ११:३२, काठमाडौँ

नेपालमा विद्युतीय कारको व्यापार फस्टाए पनि विद्युतीय बसको हकमा भने त्यस्तो छैन। 

सडकमा विद्युतीय कारहरु प्रशस्तै गुडिरहँदा बिजुली बसचाहिँ खासै देख्न पाइँदैन। 

टाटा, निसान, किया, हुन्डाई, महिन्द्रालगायतका कम्पनीहरुको कारको धमाधम बिक्री भइरहे पनि नेपालमा विद्युतीय बसको भने हुन नसकेको हो। 

छिमेकी मुलुक चीन र भारतका ठूला सहरमा विद्युतीय बसहरु चल्न थालिसकेका छन् तर नेपालमा भने यस्ता बस नगन्य मात्रामा छ। 

नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ। सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस ल्याएर सञ्चालन गरिरहेको छ। 

साझा यातायातले ४० वटा विद्युतीय बस खरिदको लागि चिनियाँ कम्पनी सीएचटीसीसँग सम्झौता गरिसकेको छ। यो वर्षभित्र ४ वटा बस नेपाल आइपुग्ने साझा यातायातले जनाएको छ। 

चिनियाँ कम्पनी सीएचटीसीका माइक्रो काठमाडौं–सिन्धुली चल्नथालेका छन्। सुन्दर यातायातले नै काठमाडौं–सिन्धुली विद्युतीय बस सञ्चालन गरिरहेको जनाएको छ। 

दी गो ग्रुप अफ कम्पनिजले ल्याएका सीएचटीसीका ठूला २ बस त्रिभुवन विमानस्थलमा सञ्चालनमा छन्। कम्पनीले सुदूरपश्चिमको धनगढीदेखि महेन्द्र नगरसम्म विद्युतीय माइक्रो चल्नथालेको जनाएको छ। 

सरकारले विद्युतीय कारमा भन्सार, अन्तःशुल्क बढी लगाए पनि विद्युतीय बसमा भने १ प्रतिशत मात्रै भन्सार लाग्दै आएको छ। 

नेपालमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका व्यवसायीहरुले विद्युतीय बस महंगो हुँदा लगानी गर्न सोच्नुपर्ने बाध्यता रहेको बताएका छन्। 

मयुर यातायातलगायत केही कम्पनीले विद्युतीय बस सञ्चालनको लागि तयारी गरे पनि अन्तिम समयमा पछि हटेका छन्। 

‘हामीले चिनियाँ पक्षसँग धेरैपटक वार्ता गर्यौँ’, मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठ भन्छन्, ‘काठमाडौं उपत्यकामा पूर्वाधारको अवस्था कमजोर देखिँदा तत्कालको लागि पछि हटेका छौँ।’

मयुर यातायातले चक्रपथमा विद्युतीय बस कुदाउने योजना बनाएको थियो। श्रेष्ठले चक्रपथको दोस्रो विस्तार तत्काल नहुने भएकाले विद्युतीय बस ल्याउन नसकेको बताए। 

‘चक्रपथ विस्तार हुँदा पूरै सडक बिग्रिएको हुन्छ। नयाँ विद्युतीय गाडी छिट्टै बिग्रिने सम्भावना हुन्छ। त्यसकारण अहिले विद्युतीय बस ल्याउने योजना रद्द भएको छ’, श्रेष्ठले भने। 

विद्युतीय गाडीसम्बन्धी स्पष्ट नीति नहुँदा पनि समस्या हुने गरेको व्यवसायी बताउँछन्। 

दी गो ग्रुपका प्रमुख कार्यकारी अधिकृत दीपक थापाले यातायात कार्यालयहरुले विद्युतीय माइक्रो दर्ता गर्नै नमान्ने गरेको बताए। 

‘विद्युतीय गाडी दर्ता गर्नको बारम्बार ताकेता गर्नुपर्ने अवस्था छ’, थापा भन्छन्, ‘सरकारले सहजीकरण गरे विद्युतीय सार्वजनिक यातायातको संख्या बढ्छ।’

काठमाडौंमै सार्वजनिक यातायात सञ्चालन गरिरहेका चन्द्रागिरि यातायातका अध्यक्ष गौतम श्रेष्ठले अहिलेको अवस्थामा विद्युतीय बसमा लगानी गर्न सकिने अवस्था नरहेको बताए। 

‘हामीले ४० लाखको गाडी चलाएर त बाँच्न गाह्रो रहेको छ’, गौतम श्रेष्ठ भन्छन्, ‘डेढ करोडको गाडी चलाउन सकिँदैन।’

उनले विद्युतीय गाडीको मूल्य ७० लाखभन्दा तल नआएसम्म निजी व्यवसायीले बस खरिद गर्न सक्ने अवस्था नभएको बताए। 

विद्युतीय कारको व्यापारमा आक्रामक रुपमा आफूलाई प्रस्तुत गरिरहेको टाटा मोटर्सले नेपालमा सम्भाव्य नदेखिएकोले चाहेर पनि तत्काल बिजुली बस ल्याउन नसकिएको बताएको छ। 

टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङका एक अधिकारीले नेपालखबरसँग भने, ‘टाटाले भारतमा पनि विद्युतीय बसको व्यावसायिक उत्पादन गरिसकेको छैन। त्यसकारण यहाँ आइहाल्ने कुरा अलि परकै हो।’

भारतमा समेत टाटाले विद्युतीय बस सीमित क्षेत्रमा मात्रै उपलब्ध गराएको ती अधिकारीको भनाइ छ। उनका अनुसार नेपाललाई कम्पनीले बस उपलब्ध गराउँछु नै भने पनि तत्काल सम्भव देखिँदैन। 

‘तत्काल नेपालमा बस ल्याउन सम्भव छैन’, उनले भने, ‘पहिलो त पूर्वाधारकै कमी छ, अनि अर्कोचाहिँ यहाँको सडक अवस्थाअनुसार ग्राउन्ड क्लियरेन्स पनि कम छ।’ 

सेमि लो (होचा)मा उत्पादन भएकाले टाटाका बस तत्काल नेपाल ल्याउन अप्ठ्यारो रहेको उनले बताए। सोही कारण यो योजना अहिलेलाई स्थगित गरिएको ती अधिकारीको भनाइ छ।  

सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति भए पनि अहिलेको भाडादरमा निजी क्षेत्रले बस चलाउन सक्ने अवस्था नरहेको बताउँछन्।

यातायात व्यवसायीले नेपालमा विद्युतीय बसको प्रयोग बढ्न छिमेकी देश भारतमा पनि बढ्नुपर्ने बताएका छन्। 

उनीहरुका अनुसार सार्वजनिक यातायातको रुपमा विद्युतीय गाडीको प्रयोग भारतमा सोही हिसाबले नबढ्दा त्यसको असर नेपालमा पर्छ। 

यद्यपि पछिल्ला वर्ष भने भारतमा पनि विद्युतीय बसको प्रयोग बढ्दै गएको देखिएको छ। 

भारतमा कुन–कुन विद्युतीय बस उत्पादन हुन्छन्?
प्रयोग बढ्न थालेसँगै छिमेकी देश भारतमा कम्पनीहरुले यसको उत्पादन पनि बढाइरहेका छन्। 

विद्युतीय बस उत्पादनमा चीन धेरैअघि रहे पनि विस्तारै भारतमा विद्युतीय बस उत्पादन हुनथालेका छन्। चीनमा विद्युतीय बसले ठूलो बजार लिइसक्दा भारतमा टाटा, अशोक लेल्यान्ड, ओलेक्ट्रा ग्रिनटेक कम्पनीले चिनियाँ ब्रान्ड बीवाईडीका बस समेत उत्पादन गर्न सुरु गरेको छ। 

टाटा मोटर्सले भारतमा सन् २०१९ देखि नै विद्युतीय बस उत्पादन गरी बिक्री सुरु गरेको थियो। कम्पनीले पश्चिम बंगाल यातायात निगमलाई २०१९ मै ८० विद्युतीय बस ‘डेलिभरी’ गरेको थियो। 

टाटाले भारतमा ९ देखि १२ मिटरसम्मका ‘स्टारअल्ट्रा विद्युतीय बस’ डेलिभरी सुरु गरेको थियो। 

टाटाका विद्युतीय बस प्रतिघण्टा ६५ किलोमिटरसम्म कुद्नसक्ने क्षमताका छन्। २ सय किलोवाटको विद्युतीय मोटर भएको गाडीमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ। स्टार विद्युतीय बस फुल चार्ज हुन २ देखि ३ घण्टा लाग्ने जनाएको छ। 

३१ सिटका टाटा विद्युतीय बसले १ पटकको चार्जमा २०० किलोमिटरसम्म गुड्न सक्छन्। टाटाले मागअनुसार रेञ्जलाई बढाउन र घटाउन पनि सकिने जनाएको छ। 

भारतको बेंगलोर महानगरले विद्युतीय ३०० विद्युतीय बस सञ्चालनको लागि एक महिनाअघि मात्रै अशोक लेल्याण्डसँग सम्झौता गरेको छ। 

भारतको ठूला बस उत्पादक कम्पनी हो अशोक लेल्याण्ड। कम्पनीले ४४ सिटसहितको बस बजारमा ल्याएको छ। उक्त बसको मोटरले २०० हर्स पावर र ६०० एनएम टर्क जेनेरेट गर्ने बताइएको छ। 

भारतमा यसबाहेक जेबीएम मोटर्सले ४२ सिटे विद्युतीय बस, ओलेक्ट्रा ग्रिनटेक कम्पनीले बीवाईडीका बस उत्पादन गरिरहेको छ। 

के९ बसको सिट क्षमता ३९ रहेको छ भने लम्बाइ १२ मिटर छ। त्यस्तै भारतको दक्षिणी राज्य तेलाङ्गानामा बस, ट्रक उत्पादन गरिरहेको डेकन अटो लिमिटेडले ३६ सिट भएको विद्युतीय बस भारतीय बजारमा ल्याइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .