ad ad

कारोबार


४ महिनामै सिमेन्ट र डन्डी उद्योगमा कसरी थपियो १९ अर्ब ऋण लगानी?

४ महिनामै सिमेन्ट र डन्डी उद्योगमा कसरी थपियो १९ अर्ब ऋण लगानी?

वसन्त अर्याल
पुस २, २०७८ शुक्रबार १०:६, काठमाडौँ

चालू आर्थिक वर्ष सिमेन्ट र स्टिल उद्योगमा बैंकहरुको ऋण प्रवाह बढेको छ। नयाँ उद्योगको स्थापना र क्षमता थप भएकाले ऋण प्रवाह बढेको हो।

चालू आर्थिक वर्षको ४ महिनामा मात्रै सिमेन्ट र डन्डी उद्योगमा १८ अर्ब ८१ करोड रुपैयाँ ऋण लगानी भएको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा स्टिल उद्योगमा १२.३ प्रतिशतले ऋण बढेको छ भने सिमेन्टमा ३.९ प्रतिशतले लगानी बढेको छ।

यी उद्योगहरुमा ४ महिनामै १४ अर्ब ७७ करोड ऋण प्रवाह भएको हो।

सिमेन्ट उद्योगमा भने पछिल्लो ४ महिनामा ४ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी छ। गत वर्षको यही अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँ मात्रै ऋण लगानी भएको थियो। 

व्यवसायीहरुले नयाँ उद्योगको लागि भन्दा पनि उद्योग सञ्चालनको लागि बैंकहरुबाट ऋण लिएका छन्। गत वर्ष कोभिड महामारीको कारण धेरै उद्योग सञ्चालनमै आउन सकेका थिएनन्। 

चालू आर्थिक वर्षमा बजार चलायमान भएसँगै ऋण लिनेको संख्या बढेको  उद्योगीहरु बताउँछन्। 

गत आर्थिक वर्ष (साउनअघि) सिमेन्ट उद्योगमा कुल १ खर्ब ४ अर्ब रुपैयाँ ऋण लगानी भएकोमा सोही वर्षको कात्तिकसम्म उक्त लगानी १ खर्ब ८ अर्ब रुपैयाँ पुगेको थियो।

चालू आर्थिक वर्षको साउनमा आइपुग्दा उक्त लगानी १ खर्ब १७ अर्ब रहेकोमा हालसम्म अर्थात् गएको कात्तिकसम्म १ खर्ब २२ अर्ब रुपैयाँ लगानी पुगेको छ। 

आर्थिक वर्ष २०७५/०७६ सम्म सिमेन्ट उद्योगमा ८८ अर्ब ८५ करोड रुपैयाँ मात्रै लगानी रहेको थियो। 

आव ०७६/०७७ मा १५ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी बढ्दा गत आर्थिक वर्षभरिमा १३ अर्ब रुपैयाँ ऋण लगानी रहेको देखिएको छ। 

स्टिल उद्योगमा पनि बढ्दै 
स्टिल उद्योगमा पछिल्लो वर्ष बिलेट उद्योगमा थप लगानी बढ्दो छ।

स्टिल उद्योगीका अनुसार चालू आर्थिक वर्षमा बिलेट उद्योगको लागि स्पञ्ज आइरनमा छुट दिएसँगै बढी ऋण प्रवाह भएको छ।

सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा पूर्ण छुट दिएसँगै स्पञ्ज आइरनको आयात बढेको छ। 

उद्योगीहरुले बैंकबाट ऋण लिई स्पञ्ज आइरन आयात बढाएको बताएका छन्। 

आइरन तथा स्टिल उद्योगमा आर्थिक वर्ष २०७५/०७६ सम्म ९५ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी रहेको थियो। 

आव २०७६/०७७ मा ४ अर्ब ३७ करोड रुपैयाँ ३७ करोड रुपैयाँ ऋण प्रवाह हुँदा १ खर्ब १ करोड ऋण पुगेको थियो। 

गत आर्थिक वर्षसम्ममा आइपुग्दा यस्तो लगानी आकार १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा २० अर्ब रुपैयाँ ऋण लिएको देखिएको छ। 

कोभिड महामारीको कारण गत वर्ष गत आर्थिक वर्षको सुरुको ४ महिनामा १.२ प्रतिशतले ऋण लगानी घटेकोमा कात्तिकपछि ऋण बढेको तथ्यांकले देखाएको छ। 

निर्माण क्षेत्र चलायमान हुँदा स्टिल र सिमेन्ट उद्योगमा ऋण बढ्योः राष्ट्र बैंक
राष्ट्र बैंकले निर्माण क्षेत्र चलायमान हुँदा सिमेन्ट र डन्डी उद्योगमा बैंकहरुको ऋण लगानी गरेको जनाएको छ। 

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले गत वर्ष कोभिड महामारीमा रोकिएका निर्माण क्षेत्रको काम चालू आर्थिक वर्षमा बढ्दा ऋण लगानी बढेको बताए। 

‘सिमेन्ट र डन्डी उद्योगमा ऋण लगानी बढ्नुमा अरु क्षेत्रलाई पनि हेनुपर्छ’, भट्टले भने, ‘निजी आवासमा पनि ऋण बढेको छ। घर निर्माण हुँदा सिमेन्ट र डन्डीको माग बढ्छ। उत्पादन बढाउन उद्योगले ऋण लिन्छन्।’

उनले निजी तथा सार्वजनिक निर्माण क्षेत्रमा जति लगानी बढ्छ उति सिमेन्ट तथा डन्डी उद्योगमा लगानी बढ्ने बताए। 

राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा नेपालको कुल ऋण ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा मात्रै ३ खर्ब ७२ अर्ब ५६ करोड रुपैयाँ लगानी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .