ad ad

कारोबार


२ अर्ब करछलीमा उपस्थित हुन राजस्व अनुसन्धानले कोका–कोलालाई दियो ७ दिने म्याद

२ अर्ब करछलीमा उपस्थित हुन राजस्व अनुसन्धानले कोका–कोलालाई दियो ७ दिने म्याद

दीपक भट्ट
पुस २, २०७८ शुक्रबार १६:२, काठमाडौँ

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका–कोलाका नेपालस्थित पदाधिकारीलाई राजस्व छलीमा ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। 

नेपालमा कोका–कोला उत्पादन गर्दै आएको कम्पनी बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासानसहित १५ जनालाई म्यादभित्रै उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। 

उनीहरुलाई पटक–पटक विभागका अधिकारीले बोलाउँदा पनि नआएपछि सात दिने म्यादसहितको सूचना जारी गरी उपस्थित हुन भनिएको विभागले जनाएको छ। 

विभिन्न मितिमा बोलाउँदा नआएपछि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ११ कको उपदफा ४ अनुसार विभागले सूचना जारी गरेको हो। 

यदि सात दिनभित्र उनीहरु नआए कम्पनीविरुद्ध तत्काल सोही ऐनअनुसार कारबाही हुने विभागले स्पष्ट पारेको छ। 

यसरी बोलाइएका १५ जनामा बोटलर्स नेपाल प्रालि बालाजुकी प्रमुख शुक्ला वासान, निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनिम, गौरव खोसला, सन्दीप बाजोरिया, देवव्रत मुखर्जी, सुमन्ता दत्त, जवाहर सोलाई कुपुस्वामी, संकेत रे, डिनाइज म्यारी–लुइस लाउवेन्स, केइथ इयान स्ट्यासे, चोलिया डी सिल्भा तथा प्रबन्धनिर्देशकद्वय सलमान ल्याटिफ रावन र पुनीत चन्द्रपाल वष्र्ने तथा वित्तीय प्रबन्धक सुमित गोयल रहेका छन्। 

दुई अर्ब बढी कर छलेको निष्कर्ष 
बहुराष्ट्रिय कम्पनी कोका–कोलाले नेपाललाई तिर्नुपर्ने दुई अर्ब रुपैयाँ बढी कर छली गरेको विभागको अनुसन्धानले देखाएको छ।  

झण्डै एक वर्ष लगाएर यससम्बन्धी अध्ययन पूरा गरेपछि कोका–कोलाले उक्त रकम कर छलेको निष्कर्षमा विभाग पुगेको हो।  

बोटलर्स नेपाल लिमिटेडमा रहेको विदेशी लगानीकर्ताको सेयर विदेशमा किनबेच हुँदा नेपाललाई पुँजीगत लाभकर नतिरेको बारे विभागले गत वर्षदेखि अनुसन्धान गरिरहेको थियो। 

नेपाललाई जानकारी नै नदिई बोटलर्स नेपाल लिमिटेडमा लगानी रहेको विदेशी कम्पनीको स्वामित्व परिवर्तन भएको देखिएको छ। 

बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता छन्। यसमा ७५ प्रतिशत विदेशी लगानी छ भने २२ प्रतिशत लगानी नेपालकै खेतान समूहको छ। बाँकीचाहिँ सर्वसाधारणको लगानी छ।  

कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएको खुलेको छ। विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म गराएका छैनन्।

स्वामित्व परिवर्तन हुँदा नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। त्यसैले सो २ अर्ब रुपैयाँ रकम छली नै भएको र छली गरेको रकम तिर्नुपर्ने देखिएको छ। 

नेपालको बोटलर्स नेपालको ७५ प्रतिशत सेयर स्वामित्व अफ्रिकामा रहेको अफ्रिका बोटलिङ कम्पनी (साप्को) ले द कोका–कोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई बिक्री गरेको देखिएको हो। उक्त किनबेच आजभन्दा ६ वर्षअघि अर्थात् सन् २०१४ मा भएको समेत अनुसन्धानमा देखिएको छ। 

नेपालमा लगानी रहेको सेयर बिक्री हुँदा पुँजीगत लाभकर लाग्नेमा कम्पनीले स्वामित्व परिवर्तन हुँदा लाग्ने २ अर्ब रुपैयाँ कर छली गरेको अनुसन्धानले देखाएको हो। 

त्यसमा त्यस समयदेखिको जरिवाना जोडेर विभागले ठूलो अंकमा बोटलर्स नेपालले नेपाल सरकारलाई पैसा तिर्नुपर्ने विभागको अनुसन्धानले देखाएको छ। तर त्यो अंक कति रहेको भन्नेबारे विभागले खुलाएको छैन। 

यही सिलसिलामा बोटलर्स नेपाललाई छलफल गर्न पटक–पटक बोलाएकोमा यसका पदाधिकारीले विभागलाई बेवास्ता गरिरहेका थिए। 

विभागले उनीहरुलाई अझै ७ दिने म्याद दिएर यसबारे छलफल गर्नलागेको हो। अब पनि कम्पनी सम्पर्कमा नआए सिधै कारबाही अघि बढाउने तयारीमा विभाग लागेको हो। 

योसँगै विभागले अब कोका–कोलाविरुद्ध उच्च अदालतमा राजस्व छलीको मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .