पछिल्लो समय नेपाली सिमेन्ट उद्योगको क्षेत्रमा वैदेशिक लगानी बढ्दो क्रममा छ।
हालसम्म २ खर्ब रुपैयाँ लगानी भइसकेको यस क्षेत्रमा झण्डै पाँच दर्जन उद्योगहरुले सिमेन्ट उत्पादन गरिरहेका छन्। तिनमा अधिकांश स्वदेशी लगानीका उद्योग रहे पनि हाल भने विदेशी लगानीमा ठूला उद्योग सञ्चालनमा आउनलागेका छन्। कतिपय सञ्चालनमै रहेका उद्योगहरुमा पनि वैदेशिक लगानी भित्रिएको छ।
अहिलेसम्म सिमेन्टमा २ खर्बमध्ये ५६ अर्ब ९७ करोड रुपैयाँ वैदेशिक लगानीका उद्योग रहेका छन्।
होङसीदेखि हुवासिनसम्म, सञ्चालनमा आउने प्रक्रिया सुरु गरेको दाङ सिमेन्टदेखि सञ्चालन भइरहेको अर्घाखाँची र मारुतीसम्मका सिमेन्ट उद्योगहरुमा वैदेशिक लगानी छ। कतिपयमा अझै लगानी भित्रिँदै छ।
सिमेन्ट उद्योगको क्षेत्रले विदेशी लगानी आकर्षित गर्नु राम्रो कुरा भए पनि तिनबाट नेपालले फाइदा पाए–नपाएको ख्याल गर्नुपर्ने उद्योगीहरु बताउँछन्।
खासगरी अर्थतन्त्रमा यस्ता उद्योगबाट कति टेवा पुग्यो भन्ने प्रश्न उठेको छ। विदेशमा समेत निर्यात गर्ने उद्देश्यसाथ केही ठूला विदेशी लगानीका सिमेन्ट उद्योग आए पनि उनीहरुले नेपालमै प्रतिस्पर्धा गरि रहेकोमा नेपाली व्यवसायी असन्तुष्ट देखिएका छन्।
यस्ता उद्योगले नेपालको अर्थतन्त्रलाई फाइदा नपुगेको उनीहरुको भनाइ छ। उनीहरुले भनेझैँ भारतमा निर्यात गर्ने भनी स्थापना भएका विदेशी लगानीसहितका सिमेन्ट उद्योगले नेपालमै प्रतिस्पर्धा गरिरहेका छन्।
वैदेशिक लगानी भनिए पनि सेयरबापत केही रकम नेपाल भित्र्याउने र बाँकी नेपाली बैंकसँगै ऋण लिएर लगानी गर्दा नेपालको आर्थिक विकासमा फाइदा नभएको नेपाली उद्योगीहरु बताउँछन्।
नेपाललाई वास्तविक फाइदा छैनः ध्रुव थापा
सिमेन्ट उत्पादक संघका अध्यक्ष इन्जिनियर ध्रुव थापाले सिमेन्ट उद्योगमा वैदेशिक लगानी भित्रिँदा नेपाललाई वास्तविक फाइदा नभएको बताए।
‘विदेशी लगानी भएको भन्ने उद्योगले धेरैजसो पैसा नेपालकै चलाएका छन्’, कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालिका कार्यकारी निर्देशक समेत रहेका थापा भन्छन्, ‘विदेशी लगानी भएका कम्पनीले हामीले ल्याएको मेसिनभन्दा डबल बढीको मेसिन किनेर ल्याएको देखाएको छ। ल्याएको पैसा फेरि उद्योगका मेसिन खरिद गरेको भन्दै उतै लगेका छन्।’
थापाले वैदेशिक लगानीका उद्योगले नेपालमै सिमेन्ट बिक्री गरेर नाफा बाहिर लगिरहेको बताए।
‘सिमेन्ट निर्यात गर्नसकेका छैनन्। नेपालबाट नाफाबापतको डलर बाहिर लगेको छ’, उनले भने।
नेपालमा वैदेशिक लगानीका पाँचवटा उद्योग रहेका छन्। जसमा ३ वटा सञ्चालनमा आइसकेका छन्। विदेशी लगानीसहितको सबैभन्दा ठूलो होङ्सी शिवम् सिमेन्ट बजारमा आइसकेको छ भने दैनिक ३ हजार टन उत्पादन क्षमताको हुवासिन केही समयमै सञ्चालनमा आउँदै छ।
होङ्सी शिवममा चाइना होङ्सी ग्रुपअन्तर्गतको हङकङ रेड लाइन सिमेन्टको ७० प्रतिशत लगानी छ। चीनको हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्टको लगानी रहेको हुवासिन सिमेन्ट नेपालमा सञ्चालनको तयारीमा छ।
मुरारका ग्रुपको मुख्य लगानी रहेको अर्घाखाँची सिमेन्टमा १८ प्रतिशत भारतको उमा इन्टरनेशनलको लगानी छ। सुरुमा नेपाली लगानीमा उद्योग स्थापना भए पनि विदेशी लगानीका उद्योगसँग प्रतिस्पर्धाको लागि अर्घाखाँची सिमेन्टले भारतीय लगानी भित्र्याएको हो।
होङ्सी सिमेन्ट स्थापनाअघि नेपालकै ठूलो उद्योग दाबी गरिरहेको राठी र गोयल ग्रुपहरुको लगानी रहेको मारुती सिमेन्ट उद्योगमा भारतको ग्राभिटी सेल्स प्रालिको २१ प्रतिशत लगानी छ।
डलरमा नाफा लान्छन्, कसरी फाइदा भयो? : विष्णु न्यौपाने
विदेशी लगानीका सिमेन्ट उद्योगले नाफा डलरमा लैजाँदा सरकारको ‘ब्यालेन्स अफ पेमेन्ट’ नमिलेको बताउँछन् सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपाने।
‘विदेशी लगानीबाट नेपाल आएका उद्योगले नाफा लैजाँदा डलरमा रकम तिर्नुपर्छ। नेपाली उद्योगीलाई नेपाली रुपैयाँमै नाफा दिए हुन्छ’, सर्वोत्तम र जगदम्बा सिमेन्टका लगानीकर्ता समेत रहेका न्यौपाने भन्छन्, ‘सरकारको ब्यालेन्स अफ पेमेन्ट मिलेको छैन। नाफा बढ्दै जाँदा विदेशी कम्पनीलाई कहाँबाट डलर दिने?’
उनले विदेशी लगानीमा आउने उद्योगले डलरमा नाफा लैजाने हो भने नेपालको लागि डलर जेनेरेट गर्नुपर्ने बताए।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष वैदेशिक लगानी भएका कम्पनीहरुले २८ अर्ब ३ करोड रुपैयाँ विदेश लगेका छन्।
‘भियतनामलगायतका देशमा विदेशी लगानी राम्रै गएको छ। त्यहाँ नाफा विदेशी डलरमा लैजाने हो भने निर्यात गरेर डलर भियतनाम भित्र्याउनुपर्ने शर्त छ’, न्यौपानेले भने, ‘नेपाली बैंकबाट ऋण लिएर नेपाली बजारमै सिमेन्ट बिक्री गरी डलरमा नाफा लैजान दिँदा राष्ट्रलाई कसरी फाइदा भयो?’
स्वदेशी कम्पनीले नाफा गर्दा नेपालमै थप लगानी गर्ने तर विदेशी कम्पनीले नाफा कमाएको रकम बाहिरै लैजाँदा नेपाललाई कुनै फाइदा नभएको उनको तर्क छ।
स्वदेशी कच्चापदार्थ प्रयोग हुन्छ, कुनै घाटा छैनः विश्वनाथ गोयल
तर वैदेशिक लगानी भित्र्याएको होङ्सी शिवम् सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयल भने नेपाली कच्चापदार्थ नै प्रयोग गरी उद्योग सञ्चालन भएकाले नेपाललाई कुनै घाटा नरहेको दाबी गर्छन्।
सिमेन्ट उद्योगमा विदेशी लगानी भित्रिएपछि ठूलो प्रतिस्पर्धा भएको र आधुनिक प्रविधि भित्रिँदा उपभोक्ताले पनि लाभ पाएको उनको तर्क छ।
‘विदेशी लगानीसहितका ठूला सिमेन्टमा उद्योगले प्रतिस्पर्धा बढाएको छ’, गोयल भन्छन्, ‘यसले उपभोक्तालाई फाइदा भएको छ। सस्तोमा गुणस्तरीय सिमेन्ट बजारमा आएको छ।’
२ खर्ब लगानी, ५ दर्जन बढी उद्योग सञ्चालनमा
नेपाली सिमेन्ट उद्योगमा भएको लगानी करिब २ खर्ब रुपैयाँ पुगेको छ। उद्योग विभागमा १०० बढी सिमेन्ट उद्योग दर्ता रहे पनि करिब ५ दर्जन बढी उद्योग मात्रै सञ्चालनमा रहेको सिमेन्ट उत्पादक संघले जनाएको छ।
राष्ट्र बैंकको रिपोर्टले ५५ वटा सिमेन्ट उद्योग रहेको उल्लेख गर्दै डेढ करोड मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता देखाएको छ।
जसअनुसार नेपाली सिमेन्ट उद्योगले करिब ८० लाख टन बढी सिमेन्ट उत्पादन गरिरहेका छन्।
उद्योग क्षमताको आधारमा नेपाली व्यवसायीको लगानी भएका उद्योगले क्षमताको ६३.७८ प्रतिशत, सरकारी उद्योगले क्षमताको ५० प्रतिशत र वैदेशिक लगानी भएका उद्योगले ४५.८१ प्रतिशत मात्रै उत्पादन गरिरहेका छन्।
सिमेन्ट उत्पादक संघले राष्ट्र बैंकको अध्ययन रिपोर्टभन्दा बढी सिमेन्ट उद्योग र उत्पादन भइरहेको दाबी गरेको छ।
नेपालमा सबैभन्दा ठूलो उद्योग होङ्सीले ६ हजार मेट्रिकटन क्षमताको रहेको छ। सञ्चालनको तयारीमा रहेको हुवासिनको उत्पादन क्षमता दैनिक ३ हजार मेट्रिक टन छ।
दुई ठाउँमा उद्योग रहेको अर्घखाँची सिमेन्ट उद्योगको १६ सय टन दैनिक उत्पादन क्षमता र ३०० टन क्लिङ्कर उत्पादन क्षमता रहेको छ। मारुती सिमेन्टले दैनिक ३३ सय मेट्रिकटनसम्म क्लिङकर र ४ हजार मेट्रिकटनसम्म सिमेन्ट उत्पादन गर्नसक्छ।
राष्ट्र बैंकको अध्ययन रिपोर्टमा वैदेशिक लगानी रहेका उद्योगले उत्पादन लागत कम रहेको उल्लेख गरेको छ।
रिपोर्ट अनुसार वैदेशिक लगानी भएका उद्योगको उत्पादन खर्च ४६.६३, नेपाली उद्योगीको ४८.९५ र सरकारी लगानी भएका उद्योगको उत्पादन लागत ८२.१८ प्रतिशत छ।
त्यस्तै पारिश्रमिकको हिसाबले वैदेशिक लगानी भएका उद्योगले १.६२ प्रतिशत, नेपाली व्यवसायीका उद्योगले २.५८ प्रतिशत र सरकारी उद्योगले ५.५४ प्रतिशत खर्च गरिरहेका छन्।
कुनमा कति लगानी भित्रियो?
लगानी बोर्डमार्फत आएको होङ्सी सिमेन्टमा सबैभन्दा बढी लगानी छ। ३६ अर्ब ७६ करोड लगानी रहेको उद्योगले १४ अर्ब ४ करोड स्वपुँजी र २२ अर्ब ७२ करोड ऋण लिएको हो।
होङ्सी शिवम् सिमेन्टले ऋणमध्ये १४ अर्ब रुपैयाँ नेपाली बैंकबाटै लिएको छ। एनएमबी बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकले लगानी गरेका छन्।
होङ्सीमै लगानी गरेको कम्पनी हङकङ रेडलाइनले दाङ सिमेन्टमा पनि लगानी प्रक्रिया अघि बढाएको छ। १५ अर्ब रुपैयाँ ल्याउनको लागि कम्पनीले अनुमति पाइसकेको छ।
‘कागजी काममात्रै भइरहेको छ। दाङ सिमेन्ट उत्पादनको लागि धेरै समय लाग्छ’, होङ्सी शिवम्का उपाध्यक्ष गोयलले नेपालखबरसँग भने।
भारतको रिलायन्स सिमेन्ट कम्पनी लिमिटेडले ७ हजार, नाइजेरियाको डाङोटे सिमेन्ट कम्पनीले ६ हजार मेट्रिक टन उत्पादन गर्ने गरी भित्रिन खोजे पनि सकेनन्।
पेट्रोलियम तथा ग्यास व्यवसाय गर्दै आएका शिव घिमिरेले गरुड सिमेन्ट उद्योगको लागि खानी र जग्गा लिए पनि अगाडि बढाउन सकेका छैनन्। घिमिरेले उद्योगमा लगानीको लागि चीनका विभिन्न कम्पनीसँग छलफल भइरहेको बताए।
‘विदेशी लगानी आवश्यक छैन’
राष्ट्र बैंकको अध्ययनले नेपाली सिमेन्ट उद्योगमा अझै विदेशी लगानी भित्र्याउन सकिने देखाएको छ। तर नेपाली उद्योगीले त्यसको विरोध जनाएका छन्।
‘राष्ट्र बैंकले गरेको अध्ययनमा धेरै छुटेको छ’, संघ अध्यक्ष थापाले भने, ‘उद्योगीसँग छलफल गरेर अध्ययन रिपोर्ट सच्याउन भनेका छौँ। तर राष्ट्र बैंकले छलफल नै गरेको छैन।’
उनले अहिले भएकै सिमेन्ट उद्योगले १० वर्षसम्म नेपालमा माग धान्न सक्ने क्षमता भएकाले सिमेन्टमा वैदेशिक लगानी आवश्यक नभएको बताए।
राष्ट्र बैंकको अध्ययनले २०२५ सम्म नेपालको सिमेन्ट खपत २ करोड ५८ लाख मेट्रिक टन पुग्ने अनुमान गरेको छ।
‘नेपालमा चिनियाँ लगानीका मात्रै होइन नेपाली व्यवसायीले पनि ठूलो लगानी गरेका छन्। नेपाली सिमेन्ट उद्योगले पनि क्षमता बढाएका छन्’, थापा भन्छन्, ‘अब सिमेन्ट उद्योगमा विदेशी लगानी बन्द गर्नुपर्छ।’
सिमेन्ट उद्योगमा नेपाली आफैँ लगानी गर्न सक्षम भएपछि विदेशी लगानी आवश्यक नभएको उनको तर्क छ।
‘सिमेन्टमा होइन, अन्य क्षेत्रमा भित्र्याऔँ’
विदेशी लगानी सिमेन्ट उद्योगमा नभई हाइड्रो, सडक पूर्वाधारका क्षेत्रमा आवश्यक रहेको थापाले बताए।
‘सिमेन्टमा थप वैदेशिक लगानी ल्याउनु भनेको भएका उद्योगलाई ध्वस्त बनाउने मात्रै हो’, उनले थप स्पष्ट्याउँदै भने, ‘एफडीआई आए चिनियाँ आउने हो। उनीहरुले १–२ वर्ष घाटा खाएर सिमेन्ट बेचेर बजार बिगार्छन्। यस्तोमा नेपाली उद्योग टिक्नै सक्दैनन्।’
सर्वोत्तम सिमेन्टका सञ्चालक न्यौपानेले नेपालसँग सीप नभएका क्षेत्रमा विदेशी लगानी भित्र्याउनु उपयुक्त हुने बताए। यसो गर्दा प्रविधि हस्तान्तरणदेखि अन्य धेरै फाइदा हुने भएकाले निर्यात गर्ने उद्योग हो भने जति पनि विदेशी लगानी भित्र्याउन सकिने उनको भनाइ छ।
‘नेपालमा डेनमार्क, स्विडेन, जर्मनीका प्रविधि भित्रिएका छन् प्रविधिमा कुनै समस्या छैन’, न्यौपानेले भने, ‘जुन क्षेत्रमा नेपालीले गर्न सक्छन्। त्यसमा नेपालीलाई नै प्रोत्साहन गर्नुपर्छ। विदेशीलाई होइन।’
होङ्सी शिवम् सिमेन्टका उपाध्यक्ष गोयलले विदेशी लगानी भए पनि ८० प्रतिशत ‘कम्पोनेन्ट’ अर्थात् कच्चा पदार्थ नेपालकै रहेको बताए।
‘नेपालकै कच्चा पदार्थ प्रयोग भएको छ। नेपालीले रोजगारी पाएका छन्। यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नैपर्छ’, गोयलले थपे, ‘सिमेन्ट उद्योग भनेको देशलाई निर्माण गर्ने उद्योग हो नि!’
उनले सिमेन्टमा वैदेशिक लगानी रोक्नुभन्दा सिमेन्ट खपत बढाउनुपर्नेमा जोड दिए।
‘नेपालमा पर क्यापिटा (प्रतिव्यक्ति) सिमेन्ट खपत एकदमै कम छ। अब यो बढाउनुपर्छ। भारतमा निर्यातबाहेक नेपालमै खपत बढाउनुपर्छ’, गोयलले भने।
नेपालमा सिमेन्टको खपत बढाउन कंक्रिटको सडक निर्माण गर्नुपर्ने उनको सुझाव छ।
विदेशी लगानीसँग डराउनुपर्दैन : पूर्वअर्थसचिव खनाल
यता पूर्वअर्थसचिव रामेश्वर खनाल भने २–३ वटा सिमेन्ट उद्योगमा वैदेशिक लगानी भित्रिँदैमा डराउनुपर्ने अवस्था नरहेको बताउँछन्।
‘व्यवसायीले आफूअनुकूलका कुरा गर्ने हो। वैदेशिक लगानी आउँदा नयाँ प्रविधि भित्रिएको छ। यसले मूल्य घटाउन सहयोग गर्नेछ’, उनले भने, ‘उपभोक्ताको फाइदा पनि हेर्नुपर्छ। वैदेशिक लगानीले समग्र अर्थतन्त्र उकास्नलाई सहयोग नै गर्छ।’
नेपाल सरकारले विदेशी लगानीका उद्योगलाई अहिले एकद्वार प्रणालीबाट सेवा दिइरहेको छ। नेपाली उद्योगीले हदबन्दीको लागि २–३ वर्ष कुर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन्।
उद्योगी न्यौपानेले नेपाली बैंकले विदेशी लगानी भनिएका उद्योगलाई थोरै ब्याजदरमा उपलब्ध गराउँछन् तर स्वदेशी उद्योगलाई बढी ब्याजदर लिने गरेको गुनासो गरे।
नेपालको हितको लागि साना सिमेन्ट उद्योग हुँदा घाटा छैन तर निर्यात नगर्ने विदेशी उद्योगले पनि कुनै फाइदा नगर्ने उनको बुझाइ छ।
‘नेपालमा स–सना औषधि उद्योग फस्टाउँदा नेपाललाई नै फाइदा भएको छ। सिमेन्टमा पनि त्यस्तै हो, स्वदेशी साना उद्योग फस्टाउँदा फाइदा हुन्छ’, न्यौपानेले भने।
बरु स्वदेशी लगानीका साना उद्योगलाई सरकारले संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
‘नभए नेपाली साना उद्योग बन्द हुँदै जान्छन्। त्यसको फाइदा विदेशी लगानीकर्ताले लैजान्छन्’, न्यौपानेले भने, ‘ठूला नेपाली उद्योग स्थापना हुँदा रकम यहीँ रहन्छ तर विदेशीले क्याप्चर गरे सबै रकम बाहिरिन्छ।’
चीनले लगानी गरेका आयोजनामा चिनियाँ लगानीकै सिमेन्ट प्रयोग गर्नुपर्ने दबाब आएको ठेकेदारले बताउने गरेको न्यौपानेले सुनाए।
‘हाम्रो सिमेन्ट खरिद गरिरहेका चिनियाँ ठेकेदारले अहिले लिन सक्दैनौँ भन्ने गरेका छन्’, उनले भने, ‘चिनियाँ सरकारी अधिकारीले ठेकेदारलाई उनीहरुको लगानी रहेको सिमेन्ट प्रयोग गर्न दबाब दिएको बताउँछन्।’
चिनियाँ सहयोगमा नेपालमा बन्ने पूर्वाधारमा ठेकेदार त चिनियाँ हुन्छन् नै, अधिकांश कामदार पनि चिनियाँ नै हुने गरेका छन्। यतिमात्र नभई प्रविधि र निर्माण सामग्री पनि चिनियाँ हुनुपर्ने अवस्थाले नेपाललाई कुनै फाइदा नहुने न्यौपानेको भनाइ छ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा प्रतिस्पर्धाको लागि आफूहरु नडराएको बताउँछन्। तर निर्यात गर्न नसक्ने विदेशी लगानीका उद्योग ल्याएर नेपाललाई फाइदा भने नभएको उनको तर्क छ।
निर्यात गर्नसके विदेशी लगानी आउँदा बढी फरक नपर्ने व्यवसायी बताउँछन्।
होङ्सीका उपाध्यक्ष गोयलले ठूलो लगानी आउँदा साना उद्योगलाई चुनौती थपिएको स्वीकार गरे।
‘नेपाली सिमेन्ट उद्योग पुरानो प्रविधिका भए पनि चलिरहेकै थिए’, उनले भने, ‘विदेशी लगानी भित्रिएसँगै नयाँ प्रविधि भित्रिएको छ। उत्पादन लागत घटेको छ। यसले नेपाली उद्योगलाई चुनौती थपिएको छ।’
नेपालमा जुन हिसाबले माग बढ्नुपर्ने थियो त्यो भने नबढेको उनी पनि बताउँछन्। त्यसका लागि नयाँ आयोजना बनेमात्र सिमेन्ट उद्योग बचाउन सकिने उनको भनाइ छ।
Shares
प्रतिक्रिया