ad ad

कारोबार


गैरआवासीय नेपालीको लगानीमा काठमाडौंमा ४८० भिल्लासहितको हाउजिङ निर्माण गर्दै आइडिया ग्रुप

गैरआवासीय नेपालीको लगानीमा काठमाडौंमा ४८० भिल्लासहितको हाउजिङ निर्माण गर्दै आइडिया ग्रुप

प्रतिनिधि तस्बिर (The fifth estate)


वसन्त अर्याल
पुस २१, २०७८ बुधबार १८:३०, काठमाडौँ

गैरआवासीय नेपाली (एनआरएन) हरु को लगानीमा काठमाडौंको कीर्तिपुरमा ४८० वटा भिल्लासहितको हाउजिङ निर्माण हुने भएको छ।

आइडिया हाउजिङ प्रालिले कीर्तिपुरको ५१२ आना जग्गामा हाउजिङ निर्माण गर्न लागेको हो। 

विश्वभर घरजग्गा परियोजना (रियलस्टेट प्रोजेक्ट) सञ्चालन गरेको कम्पनीले नेपालमा आधुनिक सुविधासहितका हाउजिङ निर्माण गर्ने जनाएको छ। 

कीर्तिपुरमा बन्ने हाउजिङ निर्माणकार्य अब सुरु हुनेछ। 

विदेशमा बसेका नेपालीहरुले आइडिया हाउजिङ प्रालिमार्फत नेपालमा लगानी तथा हाउजिङ खरिद गर्ने गरी आवास योजना ल्याएका हुन्। 

आइडिया वर्ल्ड लिमिटेडका अध्यक्ष जीपी श्रेष्ठले नेपालका विभिन्न ठाउँमा २ वर्षअघि नै जग्गा लिइसकेकाले अब हाउजिङ निर्माण सुरु गर्ने बताए। 

‘यसअघि नै सुरु गर्ने तयारी गरेका थियौँ। कोभिडको कारण ढिला भएको छ’, श्रेष्ठले भने, ‘अब केही समयभित्र पहिलो चरणमा कीर्तिपुरमा हाउजिङ निर्माण सुरु हुन्छ।’

श्रेष्ठका अनुसार कीर्तिपुरमा बन्ने हाउजिङ विश्वभरका गैरआवासीय नेपालीलाई लक्षित गरी बनाइनलागेको हो। 

२ देखि ४ वटा बेडरुम भएका भिल्ला तथा अपार्टमेन्ट यसअनुसार निर्माण हुने कम्पनीले जनाएको छ।

आइडिया हाउजिङले भिल्ला वा अपार्टमेन्ट मात्र नभई पार्किङ, गार्डेन, सपिङ सेन्टर, मेडिकल, विद्यालय, सामुदायिक केन्द्र निर्माण गर्ने जनाएको छ। 

५ सहरमा आइडिया हाउजिङका १८ सय ६६ प्रोपर्टी
विश्वका विभिन्न देशमा २० वर्षदेखि रियलस्टेट क्षेत्रमा काम गरिरहेको आइडियाले काठमाडौंसहित मुख्य ५ सहरमा हाउजिङ र अपार्टमेन्ट बनाउँदै छ। 

आइडिया हाउजिङ प्रालिले त्यसका लागि काठमाडौंमा ५१२ आना, नेपालगञ्जमा ४ हजार १६० आना, बुटवलमा ५५३ आना, पोखरामा ४८० आना र हेटौंडामा ४८० आना जग्गा लिइसकेको छ। 

कम्पनीका अनुसार काठमाडौंमा ४८० भिल्ला (घर) तथा अपार्टमेन्ट, नेपालगञ्जमा ७६९ वटा, बुटवलमा १७१, पोखरामा १६०, हेटौंडामा २८६ वटा गरी १८ सय ६६ वटा ‘प्रोपर्टी’ बन्नेछन्। 

नेपालका जुनसुकै ठाउँमा कम्पनीका हाउजिङ खरिद गर्दा ग्राहकले बैंकिङ सुविधा पाउनेछन्। कम्पनीले थोरै बजेटमा घर÷फ्ल्याट खरिद गर्न सकिने उल्लेख गरेको छ। 

प्रोपर्टी खरिदकर्तालाई कम्पनीले किस्ता तिर्ने समयमा छुट सुविधा उपलब्ध गराउनेछ। 

गैरआवासीय नेपालीलाई लगानीको अफर, ४ वर्षमै लगानी उठ्ने दाबी 

आइडिया हाउजिङले गैरआवासीय नेपालीलाई नेपाल रियल स्टेट क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ। लगानीपछि छिटो कमाउन सकिने कम्पनीको दाबी छ।

आइडिया हाउजिङमा लगानी गर्नेले २ वर्षमै ५० प्रतिशत बढी नाफा कमाउन सक्ने कम्पनीको दाबी छ। गैरआवासीय नेपालीले न्यूनतम ५ हजार डलरबाट आफूले सक्नेजति लगानी गर्न सक्नेछन्। 

सो लगानीबाट कम्पनीले घर निर्माण गर्छ र बेच्छ। यसबाट कम्पनीले गर्ने नाफा लगानीकर्तालाई बाँडिनेछ। 

यतिमात्र नभई कम्पनीले सन् २०३२ सम्म विश्वका ५० देशमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गर्ने योजना सार्वजनिक गर्ने भएको छ। अबको १० वर्षमा ५० हजार प्रोपर्टी विकास गर्ने कम्पनीको लक्ष्य छ। 

यसबाट विश्वभर १० लाखलाई व्यवसायी बनाउने कम्पनीका अध्यक्ष जीपी श्रेष्ठले बताए।

आइडिया हाउजिङ हङकङ र बेलायतमा मुख्य कार्यालय रहेको आइडिया ग्रुपअन्तर्गतको कम्पनी हो। गैरआवासीय नेपालीसहित यस ग्रुपमा चिनियाँ, बेलायती लगानीकर्ता पनि रहेका छन्। 

यस ग्रुपले ‘आइडिया फर नेपाल’ प्लेटफर्ममा रहेर विगत ४ वर्षयता काम गरिरहेको छ। यसअन्तर्गत पनि धेरै कम्पनीहरु रहेका छन्। घरजग्गा, पार्किङ प्रणालीजस्ता क्षेत्र र सेवामा यो ग्रुपको व्यवसाय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .