ad ad

कारोबार


३५ प्रतिशत बजार हिस्सामा प्रतिस्पर्धा गर्न काठमाडौं केन्द्रित हुँदै सिमेन्ट उद्योग

३५ प्रतिशत बजार हिस्सामा प्रतिस्पर्धा गर्न काठमाडौं केन्द्रित हुँदै सिमेन्ट उद्योग

वसन्त अर्याल
पुस २३, २०७८ शुक्रबार ९:४, काठमाडौँ

सिमेन्टको कुलमध्ये करिब ३५ प्रतिशत बजार हिस्सा ओगट्ने काठमाडौं उपत्यकालाई केन्द्रित गरी वरपरका जिल्लाहरुमा धमाधम सिमेन्ट उद्योग स्थापना हुनथालेका छन्। 

काठमाडौं उपत्यकालाई लक्षित गरेर धादिङ, काभ्रे र सिन्धुलीमा धमाधम सिमेन्ट उद्योगहरु स्थापना भइरहेका हुन्। 

धादिङमा चिनियाँ लगानीको ह्वासिन सिमेन्ट उत्पादनको तयारी गरिरहँदा युनाइटेड सिमेन्ट, मंगला, लक्ष्मी सिमेन्टले आफ्ना उत्पादन काठमाडौं उपत्यकालक्षित बजार विस्तार गरिरहेका छन्। 

पेट्रोलियम पदार्थको व्यवसायबाट उदाएका व्यवसायी शिवराज घिमिरेले काभ्रेको खानी प्रयोग गरी सिन्धुलीमा गरुड सिमेन्ट उद्योग स्थापनाको तयारी गरेका छन्। 

सिमेन्ट र डन्डी उद्योगमा जमेको सौरभ ग्रुप पनि काठमाडौंलक्षित सिमेन्ट उद्योग ल्याउने तयारीमा छ। 

सौरभ ग्रुपले उत्पादन गर्दै आएको सर्वोत्तम सिमेन्टले धादिङमा खानी पाएको छ। योसँगै उद्योगले धादिङमै २ हजार मेट्रिक टनको प्लान्ट बनाउनेछ। 

‘हामीले खानी विभागबाट सिमेन्ट उद्योग सञ्चालनको लागि खानी पाएका छौँ’, सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले भने, ‘अब वन विभागबाट अनुमति लिएपछि प्लान्ट स्थापना सुरु गर्छौँ।’

सर्वोत्तम सिमेन्टलाई १५ करोड १ लाख रुपैयाँमा धादिङको बेनिघाट रोराङ गाउँपालिकामा खानी सञ्चालन गर्न खानी विभागले अनुमति दिएको छ। कम्पनीले धादिङमा उद्योग स्थापनाको लागि अझै ३ वर्ष लाग्ने जनाएको छ।

‘१ वर्ष त कागजपत्र मिलाउनमै लाग्छ’, न्यौपानेले भने, ‘त्यसपछि २ वर्षभित्र प्लान्ट निर्माण गरी बजारमा सिमेन्ट उत्पादन ल्याउँछौँ।’

काठमाडौं उपत्यकामा तराईबाट सिमेन्ट ल्याउँदा प्रतिस्पर्धा गर्न अप्ठ्यारो हुने भएकाले काठमाडौंलक्षित उद्योग बढेको सिमेन्ट उद्योगीको भनाइ छ। 

चिनियाँ लगानीको ह्वासिन सिमेन्ट बजारमा आएसँगै सिमेन्ट उद्योगमा झन् प्रतिस्पर्धा बढ्ने व्यवसायीको आकलन छ। 

सिमेन्ट उद्योगीका अनुसार गत वर्ष १८ करोड बोरा सिमेन्ट नेपालभर खपत भएको थियो। अबको २–३ वर्षमा ३ करोड बोरा सिमेन्ट खपत बढ्ने आकलन छ।

‘मेरो २५ वर्षको अनुभवले काठमाडौंमा ३५ प्रतिशत सिमेन्ट खपत हुन्छ’, न्यौपानेले भने, ‘अबको २ वर्षपछि काठमाडौंमा वार्षिक ७ करोड बोरा खपत हुन्छ।’

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङमा गरी ३५ प्रतिशत खपत हुने उनी बताउँछन्। 

काठमाडौंलक्षित कुन उद्योगको क्षमता कति?
१ अर्ब ९८ करोड कुल पुँजी रहेकोे युनाइटेड सिमेन्ट उद्योग २०६४ मै उद्योग विभागमा दर्ता भएको थियो। धादिङमा उद्योगले क्लिङ्कर र सिमेन्ट उत्पादन गरिरहेको छ। 

दुगड ग्रुपको मुख्य लगानी रहेको उद्योगको वार्षिक २ लाख ४२ हजार ५५० मेट्रिक टन क्लिङ्कर उत्पादन क्षमता छ। 

चिनियाँ लगानीको ह्वासिन सिमेन्ट नारायणी प्रालिले पनि धादिङमै सिमेन्ट उद्योग स्थापना गरिरहेको छ। ह्वासिनको १४ अर्ब ८२ कुल पुँजी छ। 

विभागका अनुसार ह्वासिनको ओपीसी ५ लाख ६० हजार, पीपीसी २ लाख ४० हजार, पीएससी ४ लाख मेट्रिक टन सिमेन्ट वार्षिक उत्पादन क्षमता छ। ह्वासिनले धादिङमै वार्षिक १० लाख ९५ हजार मेट्रिक टन क्षमतामा उत्पादन गर्नेछ। 

उद्योगले बेनिघाट रोराङ गाउँपालिकामा केही जग्गा किनेर तथा सार्वजनिक जग्गा भाडामा लिएर उद्योगको संरचना निर्माण गरिरहेको छ।

२०६२ सालमा केपी सिमेन्ट इन्डस्ट्रिज प्रालि दर्ता भएको थियो। १४ करोड चुक्तापुँजी रहेको उद्योगको वार्षिक उत्पादन क्षमता ४३ हजार मेट्रिक टन रहे पनि अहिले सञ्चालनमा छैन।  

यसबाहेक मंगला सिमेन्ट उद्योग प्रालिले धादिङको नौबीसेमा उद्योग स्थापनाको लागि विभागमा दर्ता गरेको छ। ४३ करोड कुल पुँजी रहेको कम्पनीले ओपीसी, पीपीसी, पीएससी सिमेन्ट उत्पादन गर्ने उल्लेख गरेको छ। ओपीसी ६० हजार मेट्रिक टन, पीपीसी ८० हजार मेट्रिक टन र पीएससी २० हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमता छ।  

लक्ष्मी सिमेन्ट प्रालिको सिमेन्ट उद्योग ललितपुरमा छ। विभागका अनुसार १ अर्ब ३९ करोड कुल पुँजी रहेको कम्पनीले क्लिङ्कर क्यापासिटी १ लाख ९८ हजार मेट्रिक टन र ओपीसी १ लाख मेट्रिक टन क्षमता छ। 

त्यस्तै गरुड सिमेन्ट उद्योगले काठमाडौंको बजारलक्षित गर्दै उद्योग स्थापना गर्ने लक्ष्य राखेको छ। कम्पनीले उद्योगको लागि जग्गा र खानी समेत लिइसकेको जनाएको छ। 

उद्योग र चुनढुंगा खानी खरिदको लागि कम्पनीले १ अर्ब खर्च गरिसकेको घिमिरेले बताए। उनका अनुसार कम्पनीले सिन्धुलीको हरिहर गाउँपालिकामा १४ अर्ब लागतमा सिमेन्ट उद्योग खोल्ने प्रस्ताव गरेको छ। जसको लागि काभ्रे खानीखोला गाउँपालिकामा खानी स्थापना गरिनेछ।

१४ अर्ब लगानी गर्ने योजना रहेको कम्पनीको लागत बढ्दै गएको घिमिरेले बताए। 

यो पनि : ​​५७ अर्ब विदेशी लगानी आउँदा सिमेन्ट उद्योगमा हलचल, उद्योगी भन्न थाले– अब रोकौं

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .