ad ad

कारोबार


४ करोड लगानीको ओरियन्ट क्याफे : एसियन मेनुमा नयाँ स्वाद

४ करोड लगानीको ओरियन्ट क्याफे : एसियन मेनुमा नयाँ स्वाद

काठमाडाैंको दरबारमार्गस्थित ओरियन्ट क्याफे। तस्बिर : विजय सिंह/नेपालखबर


वसन्त अर्याल
पुस २८, २०७८ बुधबार १२:५१, काठमाडौँ

मनै आह्लादित पार्ने फूलहरूको सजावट। त्यसमाथि भित्तामा आकर्षक पेन्टिङ। ढोकाबाट प्रवेश गर्दैगर्दा ग्राहकले आनन्द अनुभूति गर्छन्। त्यसपछि पाइने न्यानो स्वागत र द्रुत सेवाले त उनीहरु मख्ख पर्छन्। 

हो, दरबारमार्गमा भर्खरै सफ्ट लन्च भएको ओरियन्ट क्याफेमा यही  आतिथ्य पाइन्छ।  

ओरियन्ट अर्थात् एसियन खाना। स्वाद पारखीलाई यहाँ भियतनामी, चिनियाँ, भारतीय, जापानी, कोरियन, थाईसहित नेपाली खाना अर्डरअनुसार सेवा गरिन्छ। देशीय मात्रै नभई प्रान्तीय खाना परिकारमा ओरियन्टमा ‘टेस्ट’ गर्न पाइन्छ। 

ओरियन्टले खानाको राम्रो ‘इन्जिनियरिङ’ गरी नयाँ परिकार प्रस्तुत गरेको छ। खानाको डिजाइन बनाउँदा स्वादमा ‘जम्प’भन्दा पनि खाइरहेकै कुरालाई नयाँ ‘फ्लेबर’ दिइएको छ। 

खानाको परिकारले देशको संस्कृति झल्काउँछ। त्यसको अनुभव  ओरियन्टमा मज्जैले गर्न पाइन्छ। 

काठमाडौंमा अरु रेष्टुरेन्टमा पनि एसियन खाना पाइन्छ तर ‘रेगुलर’ खाना। ओरियन्टमा भने फरक र स्वादिलो परिकार बन्छ। 

‘अहिले खानाको परिकार एडभान्स भइसक्यो। अब भोक लाग्यो खाना खाएँ मात्रै होइन’, ओरियन्टका डाइरेक्टर उमिद श्रेष्ठ भन्छन्, ‘अब कस्तो स्वादको खाना खाएँ भन्ने हुन्छ। नेपालमै बसेर विभिन्न देशको स्वाद चखाउँछौँ।’

स्वादको ‘ट्रेन्ड’ बदलिँदै गर्दा ओरियन्टले त्यसलाई आत्मसात् गरेको छ। 

पहिले जुन परिकार खाइन्थ्यो, त्यही नै चाहिन्छ भन्ने हुन्थ्यो। तर अहिलेको पुस्ता सधैँ नयाँ स्वाद लिन चाहन्छ। 

‘नयाँ पुस्ताले जहिल्यै नयाँ स्वाद चाहन्छ। नयाँ कुरा खोज्दै जान्छ’, श्रेष्ठ भन्छन्, ‘मेन्युमा नयाँ कुरा देख्दा झन् चासो राख्छन्।’

प्रविधिको युग छ, नयाँ पुस्ता छन् भने फरक स्वाद नखोज्ने कुरै भएन। 

सामाजिक सञ्जालको माध्यमबाट विदेशका नयाँ परिकार देख्ने पुस्ताले त्यसको स्वाद लिन चाहनु स्वभाविकै हो। तर त्यहाँ जान नपाए पनि ओरियन्टले उनीहरुलाई त्यही स्वाद पस्किन्छ। 

‘अहिलेको फुड कल्चर परिवर्तन हुँदै गएको छ। नयाँ टेष्ट गर्न चाहने धेरै छन्’, श्रेष्ठ भन्छन्, ‘अर्डर टेकरले कस्टोमरलाई नयाँ परिकारको सिफारिस गर्छ।’

हट स्टोन पट सिग्नेचर फुड, प्रान्तीय परिकार
ओरियन्टको सिग्नेचर परिकारको रुपमा हट स्टोन पट छ। जहाँ वास्तविक ढुंगाकै बलमा खाना बनाई ‘सर्भ’ गरिन्छ। जुन १ घण्टासम्म तातै रहन्छ।

‘हट स्टोन पटमा प्रत्येक गाँसमा फरक स्वाद पाइन्छ। कुनै बाइटका क्रन्चिनेस, कुनैमा स्विटनेस पाउन सकिन्छ’, सेफ ठाकुर पौडेल स्वादबारे थप्छन्, ‘हट स्टोन पटमा राइस वा नुडल जुन मन पर्छ त्यो अर्डर गर्न सकिन्छ। भेज र नन भेज। नन भेजमा चिकेन, प्राउन र पोर्क रोज्न पाउँछन्।’

ओरियन्टमा ड्रागन पनिर, कर्न फिटर बाइट, मनी ब्याग मस्रुम, पेकिङ भेजिटेबल स्प्रिङ रोललगायतको परिकार उपलब्ध छ। 

नन भेजमा फ्रेस क्रिस्टल प्राउन रोल, फायर क्रेकर, डंगु किङ प्राउन, सी फुड कम्बिनेसन, बेम्बो स्टिक चिकन, क्रिस्पी सिचुवान चिकन, होनी चिल्ला पोर्क स्पेयर रिब्स, थाई स्पाइसिस पोर्क बेल्ली, क्रिस्पी संघाई चिकेन रोल उपलब्ध छ। 

त्यसबाहेक ग्रेटवाल नजिकको प्राउन हार्गो, चिकेन सुमाई, चिकेन वाटर चेष्टनट, क्यान्टोन बाइटलगायत परिकार पनि ओरियन्टले सर्भ गर्छ। 

होटलका अपरेसन डाइरेक्टर उद्धव ढकालले ३ वटा पुस्तालाई नै मिल्ने गरी मेन्यु डिजाइन गरिएको बताए। 

‘नातिले बर्गर खान्छ भने छोराले पिज्जा खाला। हजुर बाले छोइला वा नेपाली खाना सबै सर्भ हुन्छ’, ढकाल भन्छन्, ‘एफोर्डेबल प्राइजमा हाम्रो सेवा उपलब्ध रहन्छ।’

ओरियन्टमा नेपालीले बढी मन पराएका मम, चाउमिन, पिज्जा, कन्टिनेन्टल खानालाई पनि समेटिएको छ। ओरियन्टमा आउने ग्राहक भोक मोटाएर मात्रै होइन, नयाँ अनुभव लिएर जान्छन्। 

रोयल साइनोको ठाउँमा ओरियन्ट
३ दशक बढी दरबारमार्गमा चलेको रोयल साइनोकै ठाउँमा ओरियन्ट आएको छ। रोयल साइनो मःमःको लागि प्रसिद्ध थियो। 

ओरियन्टमा रोयल साइनो र दरबारमार्गकै ओपिएम रेष्टुरेन्टको आधा आधा लगानी छ। रोयल साइनोका संस्थापक काजी लामाको ५० प्रतिशत लगानी छ। ओपिएमबाट उमिद श्रेष्ठ, सेफ ठाकुर पौडेल, उद्धव ढकाल, समरराज पाण्डे र पशुपति देव पाण्डेको लगानी छ। 

होटलको डिजाइन परिवर्तन गरे पनि रोयल साइनोलाई याद दिलाइराख्ने डिजाइन राखिएको छ। 

कोभिडअघि नै निर्माण सुरु गरेको ओरियन्ट क्रिसमसअघि सफ्ट लञ्च गरिएको हो। केही समयमै ग्रान्ड लञ्चिङ गर्ने तयारी गरेको श्रेष्ठले बताए। 

रेष्टुरेन्टमा २५० जनाले बसेर खान सक्छन्। करिब ८ हजार वर्गफिट क्षेत्रफलमा ओरियन्ट निर्माण भएको छ। यसको लागत करिब ४ करोड रुपैयाँ पुगेको छ। ठूलो स्पेस रहेको ओरियन्टमा इन्डोर र आउट डोर हल समेत छन्। 

‘एउटा ३० जनासम्म बस्न मिल्ने इन्डोर हल छ। ८–१० जना बस्न मिल्ने कोठा’, उनी भन्छन्, ‘रुफमा ५० बढी जना बस्न सक्छन्।  ७०–८० जना अट्ने फराकिलो आउट डोर छ।’

परिवार र साथी भेटघाटको लागि कुनै हल रिजर्भ गर्नसक्ने श्रेष्ठ बताउँछन्।  

अर्केस्ट्रिक शैलीको लाइभ म्युजिक बुधबार, शुक्रबार र शनिबार रहेको छ। फुल फेजमा आएसँगै दैनिक लाइभ म्युजिकको व्यवस्था हुनेछ। 

फाइभ स्टार होटलका अनुभवी सेफ 
२००२ देखि होटल क्षेत्रमा प्रवेश गरेका ठाकुर पौडेल ओरियन्टमा फुड प्रोडक्सन डाइरेक्टर हुन्। ठमेलबाट करिअर सुरु गरेका उनले ८ वटा होटल तथा रेष्टुरेन्टमा काम गरिसकेका छन्। 

सबैभन्दा बढी पाँचतारे होटल सोल्टीमा काम गरेको अनुभव उनीसँग छ। पौडेल सेफ एसोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्ष समेत रहेका छन्। 

कन्टिनेन्टल फुडमा दक्ष पौडेल, चाइनिज, जापानिज, इटालियन लगायतको खानामा पनि मीठो स्वाद निकाल्न माहिर छन्। 

‘अहिले कस्टोमर कुन रेष्टुरेन्टमा कस्तो फुड मेकर छ, बुझ्नथालेका छन्’, श्रेष्ठले भने, ‘धेरै होटलमा अनुभव गरेको सेफ ओरियन्ट रेष्टुरेन्टमा रहनुभएको छ।’

सेफ प्रायः होटलमा मात्रै भेटिन्छन्। कुनैले कर्पोरेट सेफ वा एक्जुकेटिभ सेफ राखेर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। 

पौडेलले सीटीईभीटीअन्तर्गतको एनएसटीबीबाट लेभल ३ पास गरेका छन्। सरकारी तहबाट स्किल टेष्ट गरी लेभल छुट्याइन्छ। 

‘सेफ पौडेलले रेष्टुरेन्ट र तारे होटलमा काम गरेको अनुभव ओरियन्टमा पस्किनुहुन्छ’, श्रेष्ठले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .