ad ad

कारोबार


दुई व्यावसायिक घरानाको होल्डमा दर्जन बढी चर्चित अटो ब्रान्ड

बजार हिस्सामा सीमित ब्रान्डमात्रै चर्चित
दुई व्यावसायिक घरानाको होल्डमा दर्जन बढी चर्चित अटो ब्रान्ड

विशाल र एमएडब्ल्यूले होल्ड गरेका अटो ब्रान्ड।


वसन्त अर्याल
माघ ३, २०७८ सोमबार ९:१०, काठमाडौँ

नेपालमा बिक्री हुनेमध्ये १ दर्जन अटो ब्रान्ड दुई घरानाले ‘होल्ड’ गरेको पाइएको छ। ठूला घराना विशाल ग्रुप र एमएडब्लु ग्रुपले १२ वटाभन्दा बढी अटो ब्रान्ड होल्ड गरेका हुन्। 

ठूला घरानाले धेरै ब्रान्ड होल्ड गरे पनि बजार हिस्सामा भन्ने हो भने सीमित ब्रान्डमात्रै चर्चित छन्। ​

एमएडब्लु ग्रुपको दुईपांग्रे यामाहा र हेभिइक्युप्मेन्टमा जेसीबी र चारपांग्रेमा जीप र स्कोडा चर्चित ब्रान्ड हुन्। त्यस्तै विशाल ग्रुपका दुईपांग्रेमा सुजुकी, चारपांग्रेमा फक्सवागन, एमजी र रेनो नेपालमा परिचित ब्रान्ड हुन्। 

एमएडब्लु ग्रुपमा प्रबन्धनिर्देशक विष्णु कुमार अग्रवाल र विशाल ग्रुपका निर्देशक निकुन्ज अग्रवालले अटोमोबाइल्सको व्यवसाय हेर्दै आएका छन्। 

एमलएडब्लुले मुख्यतः अटोमोबाइल्ससम्बन्धी कारोबार गर्दै आएको छ भने विशाल ग्रुपले कृषि, बैंकिङ, स्वास्थ्य, शिक्षा, उत्पादनमूलक उद्योग समेतमा लगानी गरेको छ। 

धेरै ब्रान्ड होल्ड गरे पनि कम गाडी बिक्री गर्ने परिचय बनाएका यी ग्रुप पछिल्लो समय नयाँ मोडलका गाडी ल्याएसँगै आक्रामक रुपमा प्रस्तुत भएका छन्। 

विशाल ग्रुपले २०२१ मा मात्रै २ वटा कम्पनीका गाडी भित्र्याएको छ। यो ग्रुपले केही ब्रान्डमा अन्य व्यवसायीसँग साझेदारी समेत गरिरहेको छ। साझेदारीसँगै विद्युतीय प्यासेन्जर भेहिकलमा राम्रो बजार हिस्सा ओगट्न समेत ग्रुप सफल भएको छ। 

एमएडब्लु ग्रुपले सन् २०१९ मा करिब ९० प्रतिशत कारोबार यमाहा मोटरसाइलका तथा स्कुटरबाट मात्रै कमाइ गरेको थियो।   

यी हुन् विशाल ग्रुपले होल्ड गरेका अटो ब्रान्ड 
फक्सवागन
अटोमोबाइल्ससम्बन्धी सबैभन्दा धेरै ब्रान्ड होल्ड गर्नेमा पर्छ विशाल ग्रुप। पूजा इन्टरनेशनलले जर्मन ब्रान्ड फक्सवागनका सवारीसाधन बिक्रीवितरण गर्दै आएको छ। ​फक्सवागनको नेपालमा हचब्याग पोलो सर्वाधिक लोकप्रिय गाडी हो। कम्पनीले नयाँ टाइगनको बिक्री राम्रो रहेको जनाएको छ। नेपालमा कम्पनीले फक्सवागनको भेन्टो, अलस्पेस समेत बिक्री गरिरहेको छ। 

एमजी
बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी) नेपालमा विद्युतीय गाडीको लागि चर्चित छ। एमजी जेटएस सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ। एमजीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले जेटएस ९ सय बढी बिक्री भइसकेको दाबी गरे। विशाल ग्रुपसँगै मुरारका ग्रुपको समेत लगानी रहेको प्यारामाउन्ट मोटर्सले एसयूभी सेगमेन्टमा एमजी हेक्टर सार्वजनिक गरेको छ। उक्त गाडी १.५ लिटर टर्बो इन्जिनमा रहेको छ। त्यसबाहेक एमजीका जीएस र एचएस मोडल समेत उपलब्ध छन्। 

माज्दा
पारामाउन्ट मोटर्सले नै जापानी ब्रान्ड माज्दाका गाडी बिक्री गर्दै आएको छ। माज्दा प्रिमियम ब्रान्ड हो। नेपालमा कम्पनीले माज्दाका सीएक्स ५ र सीएक्स ९ मोडलका गाडी बिक्री गरिरहेको छ। पद्यमाश्री ग्रुपबाट २०२० मा विशाल ग्रुपअन्तर्गतको पारामाउन्ट मोटर्सले आधिकारिक बिक्रेता पाएको हो। माज्दाका गाडीको मूल्य १ करोडमाथि छ।

रेनो 
फ्रेन्च ब्रान्ड रेनो विशाल गुप अफ कम्पनिजअन्तर्गत नै छ। रेनोको आधिकारिक बिक्रेता रेनो भित्रिएसँगै एसयूभी सेगमेन्टमा डस्टर राम्रो बिक्री भए पनि बीचमा खस्किएको थियो। कम्पनीले एसयूभीमा सस्तो गाडी काइगर भित्र्याएसँगै कम्पनीको पोर्टफोलियो बढेको छ। रेनोको हचब्यागमा क्विड पनि पछिल्लो समय राम्रो बिक्री भएको कम्पनीले जनाएको छ। कम्पनीले नेपालमा टाइबर, डस्टरका गाडी समेत बिक्री गर्दै आएको छ। 

ग्रेटवाल मोटर्स
चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर्स समेत विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स आधिकारिक बिक्रेता छ। कम्पनीका हावेल एच ६, हावेल जोलायन, जीडब्लुएम पिकअप बिक्री गरिरहेको छ भने नेपालमै सस्तो विद्युतीय गाडी भित्र्याउने तयारी गरिरहेको छ। ओरा ईभी छिट्टै नेपालमा सार्वजनिक गर्ने कम्पनीले उल्लेख गरेको छ। नेपाल आएर बाहिरिएको ग्रेटवाल मोटर्स १ वर्षअघि मात्रै भिजी इम्पेक्सलाई आधिकारिक बिक्रेता तोकेको थियो। ग्रेटवाल मोटर्स १ दशकअघि नै नेपाल भित्रिएर बाहिरिएको थियो। 

सुजुकी मोटरसाइकल
विशाल ग्रुपले सुजुकी दुईपांग्रे सवारीसाधन बिक्रीवितरण गर्दै आएको छ। जापानी ब्रान्ड सुजुकीका मोटरसाइकल तथा स्कुटर भारतीय प्लान्टमा बनेका हुन्छन्। सुजुकीका जिक्सर मोटरसाइकल नेपालमा लोकप्रिय छन्। एसिसेस र बर्गम्यान स्कुटर बजारमा उपलब्ध छन्। 

हेभी इक्विपमेन्ट (कोबेल्को)
विशाल ग्रुपले चारपांग्रे र दुईपांग्रेबाहेक हेभी इक्विपमेन्टको समेत आधिकारिक बिक्रेता छ। पूजा कन्स्ट्रक्सन नेपाल आधिकारिक बिक्रेता रहेको कोबेल्को एक्स्काभेटर क्रेनलगायतका उपकरण बिक्री गर्दै आएको छ। 

ल्युब बिजनेस 
विशाल ग्रुपले अटोमोबाइलमा प्रयोग हुने भिडोल र मटुल लुब्रिकेन्टको व्यापार गर्दै आएको छ। ग्रुपले भारतीय ब्रान्ड अटुलका तीन पांग्रे रिक्सा  बिक्री समेत गरिरहेको छ। 

के–के छन् एमएडब्लु ग्रुपको होल्डमा?  
जेसीबी
एमएडब्लु ग्रुप मुख्यतः नेपालमा अटो व्यवसायमा सफल ग्रुप मानिन्छ। कम्पनीको २ वटा ब्रान्ड नेपाली बजारमा राम्रो बजार हिस्सा ओगटेका छन्। हेभी इक्विपमेन्टमा एकछत्र बजार हिस्सा एमएडब्लु ग्रुपको छ। नेपालमा हेभी इक्विपमेन्टमा सर्वाधिक बिक्री हुने ब्रान्डमा जेसीबी छ। 

यामाहा
दुईपांग्रे मोटरसाइकल तथा स्कुटरमा यामाहाको बजार हिस्सा राम्रो छ। यामाहा मोटरसाइकल तथा स्कुटर नयाँ प्रविधि प्रयोगमा अब्बल मानिन्छन्। एमएडब्लु इन्टरप्राइजेजले १९७५ देखि नै यामाहाका मोटरसाइकल तथा स्कुटर बिक्री गर्न थालेको थियो।  

जिप
प्रिमियम ब्रान्डको रुपमा एमएडब्लु ग्रुपको जिप नेपालमा लोकप्रिय छ। लाइफ अटोमोबाइल्स प्रालि आधिकारिक बिक्रेता रहेको ब्रान्डमा जिप कम्पास र ¥याङलर नेपालमा लोकप्रिय गाडी छन्

स्कोडा
एमएडब्लु ग्रुप स्कोडाका गाडीको समेत आधिकारिक बिक्रेता छ। युरोपियन ब्रान्ड स्कोडामा एसयूभी कुशाक सार्वजनिक गरेसँगै राम्रो बजार होल्ड गर्न सफल भएको छ। कम्पनीका ¥यापिड, सुपर्ब, कारोक र कुशाक रहेका छन्। नेपाली बजारमा नयाँ कुशाक सर्वाधिक बिक्री हुने गाडीमा पर्छ। 

फोटोन
एमएडब्लु ग्रुप र वृद्धि ग्रुपको संयुक्त कम्पनी फोटोन ब्रान्डको आधिकारिक बिक्रेता रहेको छ। फोटोनका नेपालमा पिकअप र भ्यान (माइक्रो बस) उपलब्ध छन्। पिकअपमा टुनाल्ड एस र टुनाल्ड ई छन् भने माइक्रोमा १६ सिटे र १९ सिटे छन्। फोटोनले एम्बुलेन्स समेत बिक्री गरिरहेको छ। फोटोन नेपालले २ महिनाभित्र हलुका खालको ट्रक नेपाल भित्र्याउँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .