ad ad

कारोबार


नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न जर्मनीलाई चेम्बरको आग्रह

नेपालखबर
माघ ५, २०७८ बुधबार १९:५९, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवर्द्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ।

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्ताका क्रममा अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत, पर्यटन, निर्यातमुलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गरे।

जलाशाययुक्त जलविद्युत आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन अध्यक्ष मल्लले राजदूत प्रिन्जसँग आग्रह गरे।

यस्तै पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाइरहेकाले काठमाडौं फ्रयाङफर्ट सिधा उडान खुलाउनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे। 
‘काठमाडौंबाट फ्रयाङर्फटबीचको हवाई उडान जम्मा आठ घण्टा ४५ मिनेट मात्रै छ जर्मनीले थोरै सहजीकरण गरिदियो भने युरोपबाट धेरै पर्यटक नेपालले भित्र्याउन सक्छ। कोरोना संक्रमणअघि वार्षिक ३६ हजार हाराहारीमा जर्मनीबाट पर्यटक नेपाल आएका छन्  सिधा हवाई उडान हुन सक्यो भने युरोपका अन्य देशबाट पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने।

यस्तै, कफी, पस्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानहरुको जर्मनी लगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले राजदूत समक्ष आग्रह गरेका थिए।

ख्यातीप्राप्त कम्पनी अडिडास स्पोर्टस फेसन जस्ता अन्तराष्ट्रिय कम्पनीहरुको उत्पादन शाखा नेपालमा खोलेर कम लागतमा विश्वव्यापी बजार विस्तार गर्न सकिनेतर्फ पनि अध्यक्ष मल्लले राजदूत प्रिन्सको ध्यानकर्षण गराएका थिए।

उच्चस्तरीय जनशक्तिद्वारा  नेपालमा कम लागतमै अन्तराष्ट्रिय उत्पादन गर्न सकिने भएकाले लगानीको सम्भावना खोज्न अध्यक्ष मल्लले आग्रह गरेका थिए।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा राजदूत प्रिन्जले पनि कोभिड लगत्तै विश्वमै पर्यटन गतिविधि बढ्ने भएकाले त्यसको अवसर खोज्न तर्फ नेपाल लाग्नुपर्ने बताएका थिए। काठमाडौं फ्रयाङफर्ट सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पुरा गर्नुपर्ने बताएका थिए। 

नेपाल सरकार र चेम्बरसँग मिलेर काम गर्न आफ्नो देश सकारात्मक रहेको भन्दै यसका लागि संरचनागत सुधार हुनुपर्नेमा जोड दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .