ad ad

कारोबार


सवारी प्रदूषण मापदण्डः युरो–६ लागू गर्ने तयारीपछि व्यवसायीले मागे अझै २ वर्ष

सवारी प्रदूषण मापदण्डः युरो–६ लागू गर्ने तयारीपछि व्यवसायीले मागे अझै २ वर्ष

नाडा उपाध्यक्ष तथा सिप्रदीका सीईओ राजन श्रेष्ठ सवारी प्रदूषण मापदण्डबारेको छलफलमा प्रस्तुतीकरण दिँदै। तस्बिरः विजय सिंह/नेपालखबर


वसन्त अर्याल
माघ ९, २०७८ आइतबार १८:१६, काठमाडौँ

अटो व्यवसायीहरुले सवारीसाधनसम्बन्धी प्रदूषण मापदण्ड युरो ६ लागू गर्न अझै २ वर्ष समय माग गरेका छन्। 

भारतमा सन् २०२० अप्रिलबाटै पूर्ण रुपमा बीएस ६ (युरो ६​) लागू भइसक्दा नेपालमा अझै २ वर्ष समय राख्नुपर्ने उनीहरुले बताएका हुन्। 

नेपालमा हालसम्म पनि प्रदूषण मापदण्ड युरो ३ लागू भइरहेको छ। २०६९ देखि अहिलेसम्म सरकारले यसलाई अपग्रेड गर्न नसकेको हो। 

सरकारले २ वर्षअघि युरो ४ लागू गर्ने तयारी गरेको थियो तर कोभिडलगायतको कारण यो कार्यान्वयनमा जान सकेन। 

विश्वमा युरो ३ सन् २००० देखि, युरो ४ सन् २००५ देखि र युरो ६ सन् २०१४ मा लागू भएको थियो।  

सरकारले नेपाल सवारी प्रदूषण मापदण्ड २०७८ को लागि तयारी गर्दै छ। सरकारले युरो ६ लागू गर्ने तयारी गरेपछि व्यवसायीले चरणबद्ध रुपमा लागू गर्नुपर्ने माग राखेका छन्। 

‘विकासित देशले युरो ६ लागू गरेका छन्। हामी विकासोन्मुख राष्ट्रमा पनि लागू गर्न कति सक्षम छौँ’, नेपाल सवारीसाधन प्रदूषण मापदण्ड विषयक छलफलमा नाडा अध्यक्ष ध्रुव थापाले भने, ‘हामीले चरणबद्धरुपमा लागू गर्दै जानुपर्छ भन्ने माग गरेका छौँ।’

उनले मोटरसाइकल र कार बीएस ६ मै आउन थाले पनि कमर्सियल भेहिकलमा केही समस्या हुने बताए। 

भारतले आफ्नो देशमा बीएस ६ लागू गरे पनि अरु देशको लागि केही सवारीसाधनमा बीएस ३ र बीएस ४ मै गाडी निर्यात गर्दै आएको छ। 

‘नेपालमा युरो ६ बराबरको मापदण्ड लागू गर्नलाई आपत्ति छैन’, अध्यक्ष थापा भन्छन्, ‘तत्काल लागू गर्दा ठूलो समस्या आइपर्छ। अहिले युरो ४ लागू गर्ने र २ वर्षपछि युरो ६ लागू गर्नुपर्छ।’

नयाँ प्रविधि र प्रदूषण कम होस् भन्ने नाडाले चाहे पनि व्यावहारिक रुपमा केही समस्या रहेको बताएको छ।   

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पहिला युरो ३ बाट युरो ४ मा लैजाने सहमति भए पनि अहिले युरो ६  लागू गर्ने विषयमा छलफल भइरहेको बताए। 

भारत युरो ६ लागू भए पनि बंगलादेशमा युरो २, श्रीलंकामा युरो ४ लागू भएको बताउँदै श्रेष्ठले नयाँ मापदण्ड लागू गर्न समय दिनुपर्ने बताए। 

‘बीएस ६ मापदण्डअनुसार नेपालमा वर्कशप नै स्थापना भएका छैनन्’, श्रेष्ठले थपे, ‘बीएस ६ एडभान्स प्रविधि भएकाले यस्ता गाडी बनाउन डिजिटल ज्ञान हुनुपर्छ।’

बीएस ६ प्रविधि जडान भएका गाडीको मर्मत कम्प्युटरको माध्यमबाट ‘डाइग्नोसिस’ गर्नुपर्छ। गाडीको चेकजाँच सफ्टवेयरको माध्यमबाट गरिने भएकाले नेपालभर यस्ता जनशक्ति उत्पादन गर्न समय लाग्ने उनको तर्क छ। 

‘बीएस ६ का गाडीअनुसार वर्कशप कम छन्। डिजिटल रूपमा हेर्नुपर्छ। वर्कशपको भौतिक संरचना परिवर्तन गर्नुपर्छ’, श्रेष्ठले भने।

व्यवसायीले आधिकारिक सर्भिस सेन्टरमा लागू गर्न समस्या नभए पनि सबै वर्कशप व्यवसायीलाई तयार पार्न समय लाग्ने बताएका छन्। 

नाडाका उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुर्गममा डिजेल पेट्रोलको गुणस्तर कम हुँदा बीएस ६ का गाडीलाई असर गर्ने बताए। 

‘मुख्य सहर र राजमार्गका पेट्रोलियम पदार्थ गुणस्तरीय नै हुन्छ’, उनले भने, ‘गाउँ–गाउँमा ड्रमबाट डिजेल पेट्रोल हाल्ने चलन छ। यसले गुणस्तर घटाउँछ। गाडी छिट्टै बिग्रिने सम्भावना हुन्छ।’

श्रेष्ठले गाडीको मापदण्ड बढाउँदा मूल्य पनि बढ्ने बताए। प्यासेन्जर भेहिकल बीएस ६ लागू भए पनि कमर्सियल भेहिकलको मूल्य ह्वात्तै बढ्न सक्ने बताएका छन्।

‘बीएस ६ लागू गर्दा बित्तिकै गाडीको मूल्य बढ्छ’, उनले भने, ‘कमर्सियल गाडीको मूल्य बढ्नेबित्तिकै समग्र महंगी बढ्छ।’

श्रेष्ठले तत्काल बीएस ६ लागू गर्दा व्यावहारिक समस्या उत्पन्न हुने बताए। 

नाडाका कोषाध्यक्ष तथा यामाहा डिलर मिलनबाबु मल्लले बीएस ४ बाट बीएस ६ मा जाँदा १२ देखि १५ हजार रुपैयाँ मूल्य बढ्ने बताए। 

‘अधिकांश कम्पनीका बीएस ६ कै मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन्’, मल्लले भने, ‘केही मोडल अपग्रेड हुन बाँकी छ। बीएस ६ लागू गर्दा मोटरसाइकल व्यवसायीलाई धेरै समस्या हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .