विद्युतीय सवारी साधनको आयात बढेको छ।
ताजा तथ्यांकअनुसार पछिल्लो ६ महिनामै ११ सय ३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन्।
यो भनेको छ महिनामा भएको ३ अर्र्ब २४ करोड रुपैयाँबराबरको विद्युतीय गाडी आयात हो।
गत वर्ष पुस मसान्तसम्म जम्मा ५१ वटा विद्युतीय गाडी मात्रै आयात भएको थियो।
गत वर्ष सरकारले विद्युतीय गाडीमा कर बढाउँदा आयातमा कमी आए पनि त्यसअघि आर्थिक वर्ष २०७६÷७७ मा ४१० वटा मात्रै नेपाल भित्रिएका थिए।
चालू आर्थिक वर्षको छ महिनाको भन्सार विभागको तथ्यांकअनुसार सय किलोवाटसम्मका मोटर भएका ३९६, सयदेखि १५० किलोवाटसम्मका १३, १५० देखि २०० किलोवाटसम्मका ६९२ र त्यसभन्दा माथिका २ वटा गाडी आयात भएका छन्।
मुख्य सवारीसाधन आयातकर्ताले विद्युतीय गाडीमा प्रतिस्पर्धा सुरु गरेसँगै विद्युतीय गाडीको आयात बढेको हो।
सरकारले विद्युतीय गाडीमा पेट्रोल डिजेलका गाडीको तुलनामा सुविधा दिएको छ।
राष्ट्र बैंकले विद्युतीय गाडीको खरिदमा ८० प्रतिशत डाउनपेमेन्टको सुविधा अर्थात् २० प्रतिशत नगद दिई बाँकी ऋणमा गाडी खरिद गर्न सकिने व्यवस्था गरेको छ।
जबकि अन्य गाडीमा ५० प्रतिशत मात्रै डाउनपेमेन्टको व्यवस्था छ।
पछिल्लो समय राष्ट्र बैंकले कार तथा मोटरसाइकलको एलसी खोल्दा ५० प्रतिशत बैंकमा राख्नुपर्ने व्यवस्था गरेकोमा विद्युतीय गाडीमा राख्नु नपर्ने भनेको छ।
व्यवसायीले नेपाली बजारमा विद्युतीय गाडीको मागसँगै सरकारी सुविधा बढी हुँदा विद्युतीय गाडीको आयात बढेको बताएका छन्।
७ महिनामा २७ सय बढी गाडी आयात भए पनि अझै मागअनुसार ग्राहकले गाडी पाउनसक्ने अवस्था छैन।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेक्सन ईभीको लागि ६ महिना कुर्नुपर्ने अवस्था रहेको बताए।
६ महिनामा विद्युतीय ३ पांग्रे ३ हजार ६८१ वटा आयात भएका छन्। ३४ करोड बराबरका ३ पांग्रे आयात भएका हुन्। २ पांग्रे विद्युतीय मोटरसाइकल तथा स्कुटर १९ सय २२ वटा आयात भएका छन्।
६ महिनामा ६१ अर्बको सवारीसाधन तथा तिनका पार्टस आयात भएको विभागको तथ्यांकले देखाएको छ। जसमा १ लाख ६६ हजार मोटरसाइकल भित्रिएका छन्।
प्रतिक्रिया