ad ad

कारोबार


सर्वोच्च अदालतको फैसला : अवकाश हुँदा पाउने सुविधा रकममा ५ प्रतिशत मात्र कर कटाउनू

सर्वोच्च अदालतको फैसला : अवकाश हुँदा पाउने सुविधा रकममा ५ प्रतिशत मात्र कर कटाउनू

नेपालखबर
माघ १३, २०७८ बिहिबार ५:५५, काठमाडौँ

सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा ५ प्रतिशत मात्र कर लाग्ने भएको छ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मंसिर २१ गते गरेको फैसलाको बुधबार सार्वजनिक पूर्णपाठमा उक्त विषय उल्लेख गरिएको हो। 

यसअघि सरकारले आयकर ऐन २०५८ बमोजिम अवकाश भएका कर्मचारीबाट १५ प्रतिशतका दरले करकट्टी गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले अदालतमा रिट दायर गरेका थिए। सोही विषयको फैसलामा अदालतले ५ प्रतिशत मात्र कर लाग्ने निर्णय सुनाएको हो।

कर्मचारीको अवकाश भुक्तानीको हकमा उक्त ऐनको दफा ६५ को उपदफा १ को खण्ड ख बमोजिम गणना गरिएको लाभमा ५ प्रतिशतका दरले मात्र कर कट्टी गर्नुपर्ने भन्ने व्यवस्था छ। फैसलाको पूर्णपाठमा भनिएको छ, ‘निवेदकहरूले राष्ट्रिय वाणिज्य बैंक लिको अवकाश कोष योगदानमा आधारित भनी दाबी गरेको र प्रत्यर्थीहरूले उक्त दाबीको इन्कार गरेको नदेखिएको स्थितिमा निवेदकहरूको अवकाश भुक्तानीमा आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको देहाय (१) को व्यवस्था आकर्षित हुनु नपर्ने कुनै आधार तथा कारण देखिन आउँदैन।’

कर्मचारीको अवकाश हुँदा पाउने सुविधाबाट करकट्टी गर्दा आकर्षित हुनै नसक्ने आयकर ऐन, २०५८ को दफा ६५ लगाएकाले त्यस्तो निर्णय खारेज गरी सोही ऐनको दफा ८८ को १ को प्रतिबन्धात्मक वाक्यांशअनुसार ५ प्रतिशत मात्रै कर कट्टा गर्न भनिएको छ। सर्वोच्च अदालतको यो फैसलासँगै सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा ५ प्रतिशत मात्र कर लाग्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .