कारोबार


मर्जरमा जान सबैजसो बैंक छलफलमा, सम्झौताकै तयारीमा प्रभु बैंक

मर्जरमा जान सबैजसो बैंक छलफलमा, सम्झौताकै तयारीमा प्रभु बैंक

दीपक भट्ट
माघ १५, २०७८ शनिबार ११:१८, काठमाडौँ

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले मर्जरको लागि विशेष चासो देखाउन थालेका छन्। 

नेपाल राष्ट्र बैंकले निरन्तर मर्जरको ताकेता गरेपछि बैंकहरु एक आपसमा छलफलमा जुट्न बाध्य भएका हुन्। 

त्यसो त जनता बैंक र ग्लोबल आईएमई बैंकको सफल मर्जर अन्य कतिपय बैंकका लागि उदाहरण नै बनेको छ। तर यहीबीचमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेनट बैंकको मर्जर तोडिँदा यसले विना तयारी मर्जर सम्झौता गर्न नहुने सन्देश पनि मिलेको छ। 

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि फेरि अर्को मर्जर पार्टनर खोजिरहेको छ। 

यता दुई हप्ताअघि मात्रै नबिल बैंक र एनबी बैंकले एक आपसमा गाभिने समझदारी गरेका छन्। त्यसले अन्य बैंकलाई झनै चुनौती समेत थपेको छ। बैंकको आकारले हुने फाइदाको प्रतिस्पर्धामा समेत अधिकांश बैंकहरु देखिएका छन्। 

सोहीअनुसार उनीहरुले मर्जरको छलफल अघि बढाएको राष्ट्र बैंकलाई जानकारी गराएका छन्। 

बैंक एक हुँदा सञ्चालन खर्चमा आउने कमी तथा लगानीमा हुने सहजता मुख्य फाइदाको कुरा हुन्छ। सोही कारण मर्जरमा जान सबैजसो बैंक तथा वित्तीय संस्था इच्छुक देखिएका छन्। 

प्रभु–सेन्चुरी मर्जरको तयारी 
पछिल्लो समय प्रभु बैंकले सेन्चुरी बैंकसँग मर्जरको छलफल तीव्र पारेको छ। 

बैंकका एक संस्थापकका अनुसार यही महिनाभित्र मर्जरको सम्झौता हुने सम्भावना छ। 

उनले भने, ‘तर केही कुरामा अण्डरस्ट्ण्डिङ हुन बाँकी छ। धेरै कुरामा हामी सहमत छौँ।’

प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकसँग मर्जरको सम्झौता गर्ने देखिएको उनले संकेत गरे। 

सेन्चुरी बैंकले माछापुच्छ्रे बैंक र प्रभु बैंकसँग मर्जरको लागि छलफल गर्दै आएको थियो। पछिल्लो समय प्रभु बैंक र यसका लगानीकर्तासँग छलफल सकारात्मक बनेको देखिएको हो। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत बैंक तथा वित्तीय संस्थालाई मर्जरको प्रक्रिया कहाँ पुग्यो भनेर निरन्तर सोध्ने गरेको प्रभु बैंकका ती सञ्चालकले बताए। 

उनले भने, ‘गभर्नरको पछिल्लो प्रश्नमा हामीले समझदारी गर्ने तयारी भइरहेको मौखिक जवाफ दिएको छौँ।’

दुई बैंकको कस्तो छ वित्तीय अवस्था र सूचक?
गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गरेसँगै प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड पुगेको छ। 

त्यस्तै सेञ्चुरी कमर्सियल बैंकको चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। 

यी दुई बैंक एक भएको खण्डमा २२ अर्बभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्ने देखिएको छ। 

प्रभु बैंक 
चालू आर्थिक वर्षको छ महिनाको विवरणअनुसार प्रभु बैंकले १ अर्ब २६ करोड २० लाख १० हजार खुद नाफा गरेको छ। 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षभन्दा यो वर्ष खुद नाफा १६ दशमलव ९० प्रतिशत घटेको देखिएको छ। गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५१ करोड ८६ लाख ८४ हजार खुद नाफा गरेको थियो। 

गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा पनि १२ दशमलव ९८ प्रतिशत कम भएको छ। गत वर्ष २ अर्ब १४ करोड ६९ लाख ६२ हजार सञ्चालन नाफा गरेको बैंकले यो वर्ष १ अर्ब ८६ करोड ८१ लाख २० हजार मात्र यो नाफा गरेको छ। यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५३ करोड ६१ लाख ८७ हजार छ।

बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड ६ लाख ८२ हजार र रिटेन्ड अर्निङ ७० करोड २२ हजार ६४ हजार छ।  निक्षेप संकलन १ खर्ब ६३ अर्ब ५९ करोड ८७ लाख ७८ हजार रहेको बैंकले १ खर्ब ४२ अर्ब ३३ करोड २६ लाख ४८ हजार कर्जा प्रवाह गरेको छ। कर्जा प्रवाह ५ दशमलव ३४ प्रतिशत बढी हो।  

बैंकमा निष्क्रिय कर्जा यो वर्ष घटेर १ दशमलव २३ प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी १९ दशमलव ८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ५४ पैसा रहेको छ।

सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कर्मसियल बैंकले चालू आवको ६ महिनामा ४४ करोड ९६ लाख मुनाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिमा ४६ करोड ६५ लाख ९९ हजार रुपैयाँ रहेको थियो। 

कुल सञ्चालन आम्दानी २ अर्ब २ करोड रहेको बैंकको १ अर्ब ७ करोड सञ्चालन मुनाफा छ। बैंकको प्रतिसेयर आम्दानी १५ दशमलव १२ रुपैयाँ रहेको छ। 

बैंकमा यो अवधिमा कुल निष्क्रिय कर्जा १ दशमलव ३१ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा १ दशमलव ६७ प्रतिशत रहेको थियो। बैंकको स्प्रेडदर २।५७ प्रतिशत, आधारदर ८ दशमलव ८२ प्रतिशत र सीडी रेसियो ८९ दशमलव ४३ प्रतिशत रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .