कारोबार


झण्डै आधा कर्मचारी संक्रमित थिए, तैपनि नबिलले दिइराख्यो पूर्ण सेवा

दुर्गम क्षेत्रका कर्मचारीलाई कोरोना भए हेलिकप्टरबाट उद्दार गर्ने सुविधा
झण्डै आधा कर्मचारी संक्रमित थिए, तैपनि नबिलले दिइराख्यो पूर्ण सेवा

डेपुटी सीईओ विनयकुमार रेग्मीको टिममार्फत आफ्ना कर्मचारीहरूको सुरक्षा ख्याल गर्दै कोभिड संकटमा पूर्ण सेवा दिएर उदाहरण बनेको छ नबिल बैंक (तस्बिरः विक्रम राई)


दीपक भट्ट
माघ २३, २०७८ आइतबार ९:२४, काठमाडौँ

एकातिर धमाधम कर्मचारीलाई कोरोना संक्रमण अर्कोतिर सेवाग्राही सर्वसाधारणलाई प्रदान गर्नुपर्ने अत्यावश्यक सेवा। 

पुस अन्तिम लाग्नै लाग्दा देखिन सुरु भएको कोरोना भाइरसको तेस्रो भेरिएन्ट बैंक तथा वित्तीय संस्थासामु ठूलो चुनौतीका रुपमा खडा भयो।  

तर यो चुनौतीलाई चुस्त व्यवस्थापन गरी एउटा अनुकरणीय कार्यको उदाहरण पस्किन सफल भएको छ नबिल बैंक।   

अन्य भेरिएन्टभन्दा तीव्र संक्रामक मानिएको ओमिक्रोन नेपालमा पनि ह्वात्तै बढ्नथाल्यो। 

तेस्रो लहरमा नबिलका कुलमध्ये झण्डै आधाजसो कर्मचारी संक्रमित भएको बताउँछन् डेपुटी सीईओ विनयकुमार रेग्मी।

डेपुटी सीईओ रेग्मीका अनुसार बैंकका १ हजार ३ सयमध्ये ५ सय ५० कर्मचारीलाई कोरोना संक्रमण भएको थियो। 

आधा हिस्साको कर्मचारीमार्फत पूर्णरुपमा बैंकिङ सेवालाई निरन्तरता दिनु र संक्रमित कर्मचारीको ख्याल पनि गर्नु बैंकका लागि फलामको चिउरा चपाएसरह थियो। 

तर यसमा व्यवस्थापकीय कुशलताले काम गर्दा बैंक सफल रह्यो। 

व्यवस्थापनका विभिन्न उपाय अपनाएर सेवा सुचारु राख्न सकेकामा डेपुटी सीईओ रेग्मी प्रसन्नता व्यक्त गर्छन्। 

उनी भन्छन्, ‘कोरोनाको तीनवटै लहरमा नबिल बैंक परिवार कहिल्यै पनि सेवा प्रभावित गर्ने पक्षमा रहेन। सेवा जारी राख्न अनेक उपाय लगायौँ।’ 

तेस्रो लहरमा बैंक तथा वित्तीय संस्थाहरुका करिब ७ हजार कर्मचारी संक्रमित भएका थिए। यसमध्ये एउटै संस्थाका धेरै संक्रमित नबिलकै थिए।  

यो चुनौती पन्छाउन नबिल बैंकले एउटा कमिटी नै बनाएको थियो– कोभिड–१९ सेफ्टी मेनेजमेन्ट (सीएसएमटी) टिम। 

यसको नेतृत्व उनै डेपुटी सीईओ विनयकुमार रेग्मीले गरे।

योसँगै स्वास्थ्य मापदण्डहरु कडाइका साथ पालना गर्नेबाट काम सुरु भयो। 

सकेसम्म संक्रमित हुनै नदिने उपायबाट काम सुरु गरिएको रेग्मी बताउँछन्। 

त्योसँगै बैंकले परीक्षणलाई उत्तिकै तीव्रता दियो। सीएसएम टिमले बैंकको अग्रपंक्तिमा खट्ने कर्मचारीहरुलाई प्राथमिकतामा राखेर परीक्षण गरेको उनको भनाइ छ। 

धेरै परीक्षण गराएको कारण पनि नबिल बैंकमा संक्रमितको धेरै संख्या आएको हुनसक्ने उनी बताउँछन्। तर त्यसले बाँकीलाई भने जोगिएर काम गर्न सहज भयो। 

अहिले पनि नबिलले अलिकति शंका हुनेबित्तिकै कर्मचारीको निःशुल्क कोरोना परीक्षण गर्ने गरेको छ। 

पछिल्लो समय संक्रमितहरु निको हुने क्रम पनि बढ्दै गएको उनी बताउँछन्।  

त्यसैगरी नबिलले कठिन परिस्थितिमा कर्मचारीलाई हौसला दिएको छ। जुन सेवाप्रदायक संस्थाको लागि महत्वपूर्ण र आवश्यक कार्य पनि हो।

यसमा घरबाटै काम गर्ने, स्वास्थ्य सेवामा सहयोग गर्नेदेखि अतिरिक्त सुविधा दिनेसम्मका कुरा जोडिने रेग्मीले बताए। 

‘नबिलले कर्मचारीलाई अनलाइन टेलिमेडिसिन सेवा प्रदान गरेको छ। त्यो भनेको डाँफे हेल्थ केयरसँग मिलेर कर्मचारीहरुको लागि स्वास्थ्य अवस्था कस्तो रहेको छ, त्यसबारे परामर्श दिने हो’, रेग्मी भन्छन्। 

त्यो प्रभावकारी समेत भएको उनी बताउँछन्।​

पहिलो र दोस्रो लहरबाट सिकेको पाठ
चीनबाट सुरु भएको कोरोना संक्रमणले विश्व महामारीको रुप लिएपछि नेपालले पनि यसको पहिलो र दोस्रो लहर सामना गरिसकेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरु धेरैजसो बन्द भएका थिए। त्यसले ठूलो असर समेत ल्यायो।  

नबिल बैंकले यसबाट राम्रो पाठ सिकिसकेको कारण पनि तेस्रो लहरमा अत्यन्तै थोरै शाखा बन्द गरी काम अघि बढाउन सकेको बताउँछन् रेग्मी। 

‘केही शाखा त बन्द नै गर्नुपर्यो नै। तर सकेसम्म सेवा ठप्प नगर्ने नीति अनुसार माघ १७ गतेबाट सबैतिर सेवा पूर्ण रुपले सञ्चालनमा ल्याएका छौँ’, उनले नेपालखबरसँग भने।  

झण्डै आधा जनशक्ति संक्रमित भए पनि वर्कफ्रम होम र शाखा–शाखाबीच तालमेल मिलाएर चुस्त सेवा प्रवाह गर्न सफल भएको डेपुटी सीईओ रेग्मीको भनाइ छ। 

उनका अनुसार नबिल बैंकले टीकापुर शाखामा सबै कर्मचारीलाई कोभिड संकमण हुँदा लम्की शाखाका कर्मचारी लगेर कार्यालय सञ्चालन गरेको थियो।

नबिलको यही व्यवस्थापकीय कौशलले गर्दा महामारीको चपेटामा परेका ग्राहकलाई राहत भयो। 

यो बैंककै लागि समेत आफ्ना ग्राहकप्रतिको उत्तरदायित्व वहन थियो।​

बैंक–कर्मचारीः एकअर्काको साथ
यसरी सेवा प्रभाव गर्न सक्नुमा पहिलो सहयोग कर्मचारीबाट नै भएको रेग्मी बताउँछन्। 

‘कर्मचारीहरुले आफ्नो दायित्व सम्झनुभयो। घरमा बसेर पनि काम गर्नुभयो’, रेग्मी भन्छन्, ‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिरबाट पनि उहाँहरुले काम गर्दा सेवा प्रवाह गर्न सम्भव भयो।’

कुनै पनि संस्थाको सफलतामा कर्मचारीको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ। सोही कारण संस्थाले पनि आफ्ना कर्मचारीहरुलाई प्रोत्साहन गर्ने गर्छन्। 

यही नीतिलाई नबिल बैंकले आत्मसात् गरेको थियो।

संक्रमित कर्मचारीहरुलाई औषधि, थर्मोमिटर, अक्सोमिटर, फलफूल, ड्राइफुडलगायत समावेश भएको कोभिड किट वितरणको व्यवस्था समेत गरेको छ। 

‘कोरोना संक्रमित हुनेहरुलाई त्यसले धेरै ठूलो राहत नै पुग्ने त होइन तर अफिसले पनि कर्मचारीलाई केही वास्ता गरेको छ भन्ने महसुस गराउन र प्रोत्साहन गर्न यसो गरेका हौँ।’

सबै शाखा यथावत्
अहिले पनि नबिल बैंकका १३ सय कर्मचारीमध्ये २ सय जना सक्रिय संक्रमित नै छन्। यसका बाबजुद नबिल बैंकले अहिले कुनै शाखा बन्द गरेको छैन।  

यसो हुनुमा बैंकले कर्मचारीहरुलाई गरेको प्रोत्साहन जोडिने उनी बताउँछन्। 

हुन पनि नबिल बैंकले कुनै कर्मचारीलाई धेरै ठूलो समस्या आएमा हेलिकप्टर चार्टर्ड गरी उद्दार गर्ने सुविधा समेत दिएको छ। 

नबिल बैंकका कार्यालय देशभरि नै छन्। डेपुटी सीईओ रेग्मीका अनुसार दुर्गम क्षेत्रमा रहेका कर्मचारीलाई छिटो उपचार केन्द्रमा पुर्याउन बैंकले हेलिकप्टर चार्टर्डको सुविधा उपलब्ध गराइएको हो। 

उनले थपे, ‘यो सेवा कोरोना संक्रमित कर्मचारी मात्रै नभएर अन्य दुर्घटनामा परेका बिरामी कर्मचारीहरुले पनि पाउँछन्। तर कोरोनाको लागि समेत यसको प्रयोग गर्न सकिने व्यवस्था मिलाएका छौँ।’

चुस्त व्यवस्थापनमा ‘बीसीपी फर्मुला’
बैंकिङ आफैँमा अत्यावश्यकीय सेवा हो। 

हरेक काम गर्न सर्वप्रथम पैसाकै जरुरत हुन्छ। बिरामी भइहालेमा अस्पतालसम्म जानको लागि पनि पहिला पैसा नै चाहिन्छ। यस्तो अवस्थामा बैंक बन्द भए मानिसहरुले दुःख पाउँछन्। 

एक्कासि कोरोनाको तेस्रो लहर ओमिक्रोन फैलिँदा नबिलले आफ्ना कार्मचारीको ख्याल गर्दै उदाहरणीय रुपमा सेवा दिएको छ। त्यसका लागि नबिल बैंकले ‘बीसीपी फर्मुला’ प्रयोग गरेको बताउँछन् डेपुटी सीईओ रेग्मी। 

रेग्मी भन्छन्, ‘हामीसँग बीसीपी प्लान छ। यो भनेको बिजनेस कन्टिन्युटी प्लान हो। बैंकको हरेक डिपार्टमेन्ट, हरेक फङ्क्सनमा कुनै बाधा अड्चन आयो भने के गर्ने भन्ने खालको योजनाहरु यही फर्मुलाअनुसार निर्माण गरिन्छ।’

उनका अनुसार नबिल बैंकले बीसीपी योजना लिखित रुपमा नै बनाएर राखेको छ। त्यसलाई सक्रिय रुपमा लागू गर्दा कोरोनाकालमा राम्रो सेवा सम्भव भएको हो।​

दुई जनाले ज्यान गुमाए
कोरोना परीक्षणदेखि उपचारमा सहयोग गर्नेसम्मका काम बैंकबाट भए पनि यो महामारीमा दुई कर्मचारीले ज्यान गुमाएको बताउँछन् रेग्मी। 

ज्यान गुमाउनेमध्ये पहिलेदेखि नै स्वास्थ्य समस्या रहेका पोखराका एक जना गार्डलाई मृत्यु हुने समयमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि बैंकले काठमाडौंमै एक कर्मचारीलाई गुमायो। जुन बैंकका लागि दुःखद कुरा थियो।

उनीहरुलाई बचाउन नसके पनि परिवारलाई बैंकले राहत प्रदान गरेको रेग्मीले जानकारी दिए। बैंकको सञ्चालक समितिबाटै स्वीकृति लिएर सम्बन्धित परिवारलाई राहत प्रदान गरिएको उनको भनाइ छ।

कठिन परिस्थितिमा सेवाग्राहीलाई साथ दिएको नबिलले महामारीकै निहुँ बनाएर कर्मचारी कटौती गरेन। बरु उनीहरुलाई सकेसम्म संक्रमणबाट जोगाउने, संक्रमण भइहाले पनि राम्रो रेखदेख र सहयोग गर्ने कामलाई प्राथमिकता दियो। 

त्यसकारण पनि नबिल बैंकले तेस्रो लहरका बेला गरेको काम उदाहरणीय बन्न पुग्यो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .