ad ad

कारोबार


झापामा ‘बम’ राखेर हिमालय सुरक्षा परिषद्को नाममा आतंकित पार्ने समूह पक्राउ

झापामा ‘बम’ राखेर हिमालय सुरक्षा परिषद्को नाममा आतंकित पार्ने समूह पक्राउ

नेपालखबर
फागुन ५, २०७८ बिहिबार १६:५९, काठमाडौँ

झापाका विभिन्न स्थानमा शंकास्पद वस्तु ‘बम’ राखेर त्रसित पार्ने समूह पक्राउ परेको छ। 

प्रदेश नं १ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले झापाले यस्तो कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। 

गत माघ ९ गते बिर्तामोड ४ स्थित पश्चिम बस स्टेसनमा बमजस्तै देखिने गरी प्रेसर कुकर र हिमालय सुरक्षा परिषद्को पर्चा फेला परेको थियो। 

यस्तै माघ १३ गते दमक नगरपालिका ५ स्थित सिवान चर्चको गेटमा पनि प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको पर्चा भेटिएको थियो। 

यसरी शंकास्पद वस्तु राख्ने ९ जनालाई प्रहरीले फरक–फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

यसरी बम राख्ने र त्रसित पार्ने काम गौरादहका सुमन कुमार कार्कीको योजना भएको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताए। 

सुमन ठेक्कापट्टा व्यवसायी हुन्। उनी यसअघि वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा २०७५ वैशाखदेखि २०७७ फागुनसम्म २२ महिना झापा जिल्ला कारागारमा बसेका थिए। 

उनैले यस्ता योजना बनाउने तथा भारतमा बसी आर्थिक संकलन गरी आपराधिक गतिविधिमा प्रयोग गर्ने गरेको खुलेको छ। 

उनको साथबाट हिमाल सुरक्षा परिषदको पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्डहरु र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिकाका ४१ वर्षीय भीष्म थापा, दमकका ५० वर्षीय देवी बास्कोटा, कन्काईका ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षीका ३२ वर्षीय सरुण लिम्बु भन्ने दिलकुमार सानेखाम, संखुवासभाको खाँदबारी घर भई मोरङ बस्ने मनमोहन दाहाल, गौरीगन्जका ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादहका ३३ वर्षीय प्रदीप थापा, गौरीगन्जका ४५ वर्षीय विजयकुमार दास हलुवाइ पनि पक्राउ परेका छन्। 

उनीहरुविरुद्ध विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .