ad ad

कारोबार


सरकारको नीति तथा कार्यक्रम : विराटनगरका उद्योगीलाई कार्यान्वयनमा आशंका

सरकारको नीति तथा कार्यक्रम : विराटनगरका उद्योगीलाई कार्यान्वयनमा आशंका

सुमन पुरी
जेठ ११, २०७९ बुधबार २०:४१, काठमाडौँ

विराटनगरका उद्योगी व्यापारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्। 

उद्योगी व्यवसायीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएपनि कार्यान्वयनमा भने चुनौती रहेको बताएका हुन्। 

सुख्खा बन्दरगाहमा कार्गो रेल सञ्चालन, पूर्व पश्चिम विद्युतीय रेल मार्ग, आईसीटीको बाँकी काम जस्ता विषयलाई यहाँका उद्योगीहरुले सकारात्मक रुपमा लिएका छन्। 

कार्गो रेल सञ्चालनले उद्योगी व्यवसायीलाई ढुवानीमा लागत घट्ने भन्दै उद्योगीहरुले सकारात्मक रुपमा लिएका छन्। सरकाले ल्याएको आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति पनि राम्रो भएको उद्योगीहरुले बताएका छन्। 

नीति तथा कार्यक्रमले औद्योगिक क्षेत्रमा लगानी विस्तारदेखि उत्पादनसम्म र कृषि क्षेत्र विस्तारलाई छोएको, औद्योगिक उत्पादनको लागि विद्युतमा सहुलियत गर्ने कुरा राम्रो भएको उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए। 

उनले नीति तथा कार्यक्रमबाट केही आशा गर्न सकिने ठाउँ भएको बताए। 

उनले भने ‘औद्योगिक ग्राम सञ्चालनका लागि निजी क्षेत्रसँगको साझेदारी गर्ने भनिएको छ, सरकारसँग पटक पटक निजी क्षेत्रले उठाउँदै आएको कुराहरू समेटिएका छन्।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्ने भनेर अहिलेको नीतिले समेटेको भएपनि बजेटमा जोडेर जान समस्या हुने बताए। उनले कार्यक्रम समग्रमा राम्रो भएपनि कार्यान्वयनमा भने समस्या हुने बताए। 

उनले भने ‘निर्यात मूलक उद्योगलाई विद्युतमा सहुलियत दिने भन्ने खालको कुरालाई हामीले सहज रूपमा लिएको छौँ। उद्योग संगठनले सञ्चालन गर्दै आएको स्टार्ट अप व्यवसाय सहजीकरण गर्ने भनिएको छ यसले नयाँ व्यवसायी उत्पादनमा सहयोग पुर्याउँछ।’

प्रधानमन्त्री औद्योगिक प्रवर्द्धन कार्यक्रम आयो भने यसले उद्योगलाई प्राथमिकतामा राख्ने देखिने प्याकुरेलको तर्क छ। 

उत्पादन दशक घोषणा गर्ने भनिएको छ यसले उद्योग व्यवसायलाई सहजता र प्राथमिकतामा रहेको उनको प्रतिक्रिया छ। 

उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए। उनले अपेक्षा गरे अनुसार कार्यक्रम नआएको बताए। 

नीति तथा कार्यक्रमले धेरै क्षेत्र समेटेको भएपनि कार्यान्वयनको विषय प्रमुख हुने उनको भनाई छ। 

‘नीति तथा कार्यक्रमले विकास निर्माण, औद्योगिक क्रान्ति र आर्थिक समृद्धिमा खासै महत्त्व दिएको देखिँदैन,’ उनले भने, ‘बोलेका कुराहरू कार्यान्वयन भए पनि केही हदसम्म आशा गर्न सकिन्थ्यो तर कार्यान्वयनमा पटक्कै विश्वास छैन।’ 

अहिलेको नीति तथा कार्यक्रमलाई नै आधार मानेर धेरै भन्ने भन्दा पनि पूर्ण बजेट आएपछि मात्र कसरी अघि बढ्छ भन्न सकिने उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .