ad ad

कारोबार


महंगी नियन्त्रण गर्ने नीति तथा कार्यक्रम आएन : डिला संग्रौला

महंगी नियन्त्रण गर्ने नीति तथा कार्यक्रम आएन : डिला संग्रौला

नेपालखबर
जेठ १४, २०७९ शनिबार १५:१७, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छिन्। 

शनिबार संसदमा बोल्दै उनले सरकारले बढ्दो महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी हुन्। 

उनले भनिन्, ‘महंगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा उपायहरू सुझाइएको छैन । आशा छ बजेटमा यी कुराहरू समेटिने छन् ।’

त्यस्तै उनले देशबाट युवा विदेशिने क्रम रोक्न नसकेको तर सरकारले नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिएको बताइन्। नेपालमै रोजगारी सिर्जना गर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उनको भनाइ छ।  

स्वदेशी उत्पादनको उपभोग बढाउने नीति राम्रो भए पनि मुख्य कुरा यो कसरी गर्ने भन्ने रहेको उनले बताइन्। 

‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नाममा आयातमा प्रतिबन्ध लगाई कम गुणस्तरका सामान महङ्गोमा उपभोग गर्न बाध्य पार्ने काम गरिनुहुँदैन’, उनले भनिन्, ‘स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय सामान प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्ने नीति तथा वातावरण तयार गरिनुपर्दछ।’

भर्खरै देशभरि नै स्थानीय चुनाव सम्पन्न भएको र नेपाली कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले देशभरि उत्साहको वातावरण रहेको दाबी गरिन्।  

‘अब स्थानीय निकायलाई साधन स्रोत सम्पन्न बनाएर केन्द्र सरकारको सहयोगी भूमिका हुन जरुरी छ’, उनले थपिन्, ‘खासगरी गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा घर दैलोमा पुर्याउन संघीय तथा प्रदेश सरकारले स्थानीय निकायलाई अगाडि बढाउनुपर्छ।’ 

संसदमा उनले महिला हिंसाबारे पनि कुरा उठाइन्। देशमा बलात्कारजस्ता जघन्य अपराध जारी रहेको भन्दै उनले दोषीलाई सजाय दिन र बलात्कारमा हद म्यादको व्यवस्था परिवर्तन गर्न  माग गरिन्।  

नीति तथा कार्यक्रममा घर जग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकायको निर्माण गरिने कुरा स्वागतयोग्य रहे पनि यो निकायका अधिकार र कार्यप्रणालीको बारेमा व्यापक छलफल गरिनु आवश्यक रहेको बताइन्। 

‘भूमाफियाहरूको प्रभावमा यो निकायको अधिकार र कार्यप्रणाली नआओस् भन्ने कुरा सुनिश्चित गरिनुपर्दछ’, उनले भनिन्। 

‘सरकारले घाटामा गएका संस्थानहरुको भार बोकी राख्नु उपयुक्त छैन । त्यसैले केही संस्थानहरु जस्तै नेपाल वायुसेवा निगम, हेटौडा सिमेन्ट निजीकरण गरिनु आवश्यक छ’, उनले भनिन्, ‘साथसाथै सरकारको अनुगमन प्रणाली सशक्त र पारदर्शी पनि बनाइनु आवश्यक छ।’ 

नीति तथा कार्यक्रममा सहमतिका आधारमा नागरिकता विधेयकलाई अगाडि बढाउने कुरा उल्लेख रहेको भन्दै उनले उक्त विधेयक पारित गरेर लामो समयदेखि थाती रहेको गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न माग गरिन्। 

‘गैरआवासीय नेपालीहरुसंग रहेको सीप, ज्ञान र पुँजी नेपालको विकासमा परिचालन गर्न विशेष कार्यक्रम ल्याउन पनि म सुझाव दिन चाहन्छु’, उनले भनिन्।  

नीतिहरू राम्रा भए पनि कार्यान्वयन कसरी गर्ने महत्वपूर्ण रहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .