ad ad

कारोबार


मेलम्चीको सहयोगी मानिएका ठोस्ने र सिस्नेरीबाट पानी ल्याउन कति सम्भव?

मेलम्चीको सहयोगी मानिएका ठोस्ने र सिस्नेरीबाट पानी ल्याउन कति सम्भव?

सिस्नेरी खोला (सिस्नेरी न्याचुरल स्विमिङ पुल)


वसन्त अर्याल
जेठ १८, २०७९ बुधबार ७:२५, काठमाडौँ

सरकारले काठमाडौं उपत्यकाबासीको प्यास मेटाउन मेलम्चीलाई सघाउ हुने गरी थप दुई योजना अघि सारेको छ। 

मेलम्ची खानेपानीको सहायक योजनाको रुपमा सरकारले योजना थप्नलागेको हो। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटमा काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्ने उल्लेख गरेका छन्। 

यी दुई योजनाअघि सार्दै उनले बजेटमा सिस्नेरी र ठोस्ने खोलाबाट काठमाडौं पानी ल्याउन अध्ययन कार्य अघि बढाइने उल्लेख गरेका छन्। 

हाल काठमाडौं उपत्यकामा ४७ करोड लिटर बढी पानी माग छ। काठमाडौंमा दैनिक साढे १३ करोड लिटर पानी उत्पादन हुँदै आएको छ। 

मेलम्चीबाट १७ करोड लिटर पानी ल्याउन गत वर्ष उद्घाटन भए पनि अहिले ‘सेतो हात्ती’जस्तै छ। गत वर्ष बाढीले संरचना बिगारेको पानी वैशाखमा काठमाडौं ल्याइएको थियो। 

अस्थायी सुरुङमार्गबाट ल्याइएको पानी वर्षात् सुरु भएसँगै बन्द भएको छ। बाढी तथा पहिरोले सुरुङमा क्षति गर्ने सम्भावना भएकाले वर्षातको समयभर खानेपानी बन्द हुने बताएको छ। 

मेलम्चीको पानी नियमित आए पनि नपुग्ने भन्दै खानेपानी मन्त्रालयले काठमाडौंको लागि थप विकल्प खोज्नुपरेको जानकारी दिएको छ।  

मन्त्रालयले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई मेलम्ची खानेपानीले पनि धान्न नसक्ने बताउँदै विकल्प खोजिएको उल्लेख गरेको छ। 

‘काठमाडौं ल्याउन सकिने देखियो’
खानेपानी मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकालले सिस्नेरी र ठोस्नेबाट दुवै आयोजनाको पानी काठमाडौं ल्याउन सकिने देखिएकाले अघि बढाएको जानकारी दिए। 

‘दुवै आयोजनाबाट काठमाडौंमा पानी ल्याउन सकिन्छ भन्ने अध्ययन पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ’, ढकालले भने, ‘सिस्नेरीको भ्याली बोर्ड र ठोस्नेको खानेपानी तथा ढल व्यवस्थापन विभागले अध्ययन गरिरहेको छ।’

बजेटले विस्तृत सम्भाव्यता अध्ययन गर्ने गरी कार्यक्रममा समावेश गरेको उनले बताए। 

मकवानपुरमा अवस्थित सिस्नेरी खोला खानेपानी आयोजना निर्माणका लागि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पूर्वसम्भाव्यता अध्ययन गरेको थियो। सिस्नेरी खानेपानी आयोजना निर्माण गर्न करिब २६ अर्ब लाग्ने अध्ययनले देखाएको थियो। 

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी उदय कुमार केसीले प्रारम्भिक अध्ययन भए पनि सम्भाव्यता अध्ययनको लागि तयारी भइरहेको जानकारी दिए। 

‘सिस्नेरीबाट काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सकिन्छ भन्ने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ’, उनले भने, ‘तर डिटेल फिजिबिलिटी (विस्तृत सम्भाव्यता) अध्ययन गरी कहाँबाट कसरी ल्याउन सकिन्छ, कति लागत लाग्छ भन्ने टेन्डर आह्वान गरी अध्ययन गर्छौँ।’

सिस्नेरीबाट १४ करोड लिटरसम्म पानी ल्याउन सकिने, ठोस्नेबाट कति?
सिस्नेरीबाट १३ देखि १४ करोड लिटर पानी काठमाडौं ल्याउन सकिने प्रारम्भिक अध्ययनबाट देखिएको छ। 

सिस्नेरी आयोजना फर्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा पर्दछ। सिस्नेरीमा १९० मिटर र चौडाइ ७५ मिटर रहने गरी बाँध निर्माण गर्न सकिने बोर्डले जनाएको छ। 

सिस्नेरीदेखि ललितपुरको सैंबुसम्म पानी करिब १९ किलोमिटर रहेको छ। ललितपुर सैंबुमा अहिले खानेपानी प्रशोधन केन्द्र रहेको छ। 

ठोस्ने खोलाको पानी काठमाडौं ल्याउने विषयमा प्रारम्भिक अध्ययन भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। विभागका उपमहानिर्देशक माधव प्रसाद अधिकारीले मेलम्ची खानेपानी आयोजनालाई सहयोग हुने गरी ठोस्नेको पानी काठमाडौं ल्याउने अध्ययन सुरु भएको  जानकारी दिए। 

‘काठमाडौंमा मेलम्चीको खानेपानीले मात्रै पुग्ने देखिँदैन। दीर्घकालीन माग पूरा गर्न थप पानीको व्यवस्था गर्नुपर्छ’, अधिकारीले भने, ‘यो आर्थिक वर्षमा अध्ययनको खरिद कार्य सुरु हुन्छ। आगामी आर्थिक वर्षबाट अध्ययन सुरु हुन्छ।’

ठोस्नेबाट काठमाडौंमा कति खानेपानी ल्याउन सकिन्छ भन्ने विषयमा अध्ययनपछि मात्रै थाहा हुने उनले बताए। ललितपुर ठोस्ने खोलाको पानी टीकाभैरव हुँदै भैँसेपाटीमा ल्याउन सकिने आकलन छ। 

अन्य वैकल्पिक स्रोतको खोजी
त्यस्तै बजेटमा नगरकोट क्षेत्र, दक्षिणकाली क्षेत्र, रामकोट क्षेत्र र गोदावरी क्षेत्र गरी काठमाडौं उपत्यकाका चार दिशामा पानीपोखरीसहितको जलाधार क्षेत्र निर्माण गर्न अध्ययन गरी यस्ता जलाधारलाई खानेपानी आपूर्तिको वैकल्पिक स्रोतको रूपमा विकास दीर्घकालीन योजना अघि सारेको छ। 

‘यी क्षेत्रमा बहुउपयोगी पार्क तथा मनोरञ्जनात्मक स्थल समेत निर्माण गरिनेछ। जलाशययुक्त विद्युत् आयोजनाको बहुउपयोग गरी खानेपानी आपूर्ति गर्न आवश्यक पूर्वाधार र प्राविधिक क्षमता विकास गरिनेछ’, बजेट वक्तव्यमा उल्लेख छ। 

मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा खानेपानी वितरण कार्य सुरू भइसकेको छ। मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्था मिलाइने बजेट वक्तव्यमा भनिएको छ। 

यांग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्रणालीमा पानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने उल्लेख गरिएको छ। काठमाडौं उपत्यकामा यांग्री र लार्केको पानी ल्याउन पहुँचमार्ग निर्माण हुँदै छ। गत वर्षको बाढीले पहुँचमार्ग बगाएको थियो। दुई खोलाबाट मेलम्चीमा पानी ल्याई दैनिक ५१ करोड लिटर काठमाडौं पानी ल्यउन सकिने अध्ययनले देखाएको छ। 

बजेटमा दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत चक्रपथबाहिरका थप क्षेत्रहरूमा मेलम्ची खानेपानी वितरणका लागि पाइपलाइन बिछ्याइने भएको छ। 

उक्त आयोजनाको लागि १ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ। सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ। अब खानेपानी तथा सरसफाइ विभागले नै उक्त जिम्मेवारी लिने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .