ad ad

कारोबार


वायुसेवा कम्पनी र प्राधिकरणको टसल : उडान बन्दले दुःख पाउँदै सर्वसाधारण

वायुसेवा कम्पनी र प्राधिकरणको टसल : उडान बन्दले दुःख पाउँदै सर्वसाधारण

यती एयरलाइन्स (फाइल तस्बिर)


वसन्त अर्याल
असार ७, २०७९ मंगलबार १८:२४, काठमाडौँ

वायुसेवा कम्पनीहरु र नागरिक उड्डयन प्राधिकरणको टसलले सर्वसाधारणले दुःख पाउने भएका छन्। 

दुई संस्थाको टसलले अत्यावश्यक क्षेत्रमा पर्ने वायुसेवा असार ८ गते अर्थात् बुधबारबाट बन्द हुने भएका हुन्। 

प्राधिकरणले वायुसेवा कम्पनीलाई आफ्नो बेस स्टेसनबाट उडान गर्न हवाइ कम्पनीलाई निर्देशन जारी गरेपछि तत्काल नसक्ने भन्दै उडान स्थगन गर्ने बताएका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते प्रेस विज्ञप्तिमार्फत हवाइ जहाज सञ्चालक कम्पनीले असार १३ देखि तोकिएको आधार विमानस्थलमा रात बसेर पहिलो उडान सोही विमानस्थलबाट गर्ने जानकारी गराएको थियो। 

यस्तै असार ७ अर्थात् आजैबाट हेलिकप्टर कम्पनीलाई आधार विमानस्थलमा राति राखेर पहिलो उडान सोही विमानस्थलबाट गर्ने प्राधिकरणले निर्णय गरेको थियो। 

तर वायुसेवा कम्पनीहरुले भने यसको विरोध गरेका छन्। मंगलबार वायुसेवा सञ्चालक संघले ५ बुँदे माग राख्दै भोलि (असार ८)बाट अनिश्चितकालका लागि सबै उडान स्थगित गरेको जनाएको छ। 

विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मतसम्भारका लागि ह्यांगरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग रहेका छन्। 

त्यस्तै असार ५ को नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लेखित आधारको प्रावधानहरु हवाइजहाज तथा हेलिकप्टर दुवै विमानसेवा कम्पनीहरुको हकमा खारेज गरी हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिअविलगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमानसेवा कम्पनीहरुले विना अवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने रहेको छ। 

नियामक निकाय र सेवा प्रदायक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भइरहेको कारण युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाइ सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकोले नेपाललाई युरोपियन युनियनको हवाइ सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने चौथो बुँदामा छ। 

पाँचौँ बुँदामा त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाइसेवाका लागि प्रयोग गरिरहेका स्थान तथा संरचनाहरुलाई यथावत् राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने रहेका छन्। 

प्राधिकरणले आन्तरिक छलफल गर्ने 
संघले आन्तरिक उडान नै ठप्प पार्ने निर्णय गरेपछि प्राधिकरणमा आन्तरिक छलफल हुने भएको छ। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले वायुसेवा सञ्चालक संघले उडान नगर्ने औपचारिक जानकारी नगरेको बताउँदै यसबारे आन्तरिक छलफल हुने बताएका हुन्।  

उनले भने, ‘हामीले उडान नगर्ने भन्ने मिडियाबाट थाहा पायौँ तर औपचारिक जानकारी वायुसेवा सञ्चालक संघले हामीलाई गराएको छैन।’ 
यता प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने हवाइ सेवा अत्यन्तै संवेदनशील क्षेत्र भएकाले उडान गर्दैनौँ भन्न नपाउने स्पष्ट पारे। 

‘संविधानले अधिकारसँगै कर्तव्य पनि पालना गर्नुपर्ने भनेको छ’, महानिर्देशक अधिकारीले भने, ‘हवाइ सेवाजस्तो अत्यन्त संवेदनशील क्षेत्र बन्द गर्नुहुँदैन र उहाँहरुले त्यसो गर्नुहुन्न भन्ने विश्वास छ।’

उडान बन्द गरे प्राधिकरणले टुलुटुलु हेरेर नबस्ने उनले चेतावनी समेत दिए।     

इतिहासमै पहिलोपटक दमन भयो : अध्यक्ष थापा
संघका अध्यक्ष रामेश्वर थापाले वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरु भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए। 

‘२४–२५ वर्षमा धेरै कुरा सिक्दै आएका छौँ। अहिले नेपालको वायुसेवा अन्तर्राष्ट्रिय रूपमा पहिचान पाएको छ। नेपालको वायु सेवाले नाफाभन्दा सेवामा ध्यान दिएको छ,’ अध्यक्ष थापाले भने, ‘यही वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन भएको छ।’

प्राधिकरणको दमनले ४० अर्ब रूपैयाँ लगानी भएको वायुसेवा धराशायी हुने अवस्थामा पुगेको बताए। 

‘नियामक निकायको रुपमा रहेको नागरिक उड्डयन प्राधिकरणले रातारात निर्णय गरेकाले लागू गर्न सक्दैनौँ’, उनले भने, ‘हामीलाई हवाइ सेवा बन्द गर्ने रहर होइन बाध्य भएर गरेका हौं।’ 

संघले आफ्ना माग पुरा नभएसम्म अनिश्चित कालसम्म सेवा अवरुद्ध हुने र टिकट काटेको पैसा फिर्ता हुने जनाएको छ। उडान बन्द हुँदा सेवाग्राहीमा पर्ने जाने असुविधाका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण जवाफदेही रहको संघले उल्लेख गरेको छ। 

त्रिभुवन विमानस्थलको क्षमताले धानेन  : प्राधिकरण
नागरिक उड्डयन प्राधिकरणले काठमाडौंको विमानस्थलमा क्षमताभन्दा धेरै जहाज रात्रिकालीन पार्किङ रहेकाले बाहिर लैजानुपरेको उल्लेख गरेको छ। प्राधिकरणले ६६ प्रतिशत जहाज काठमाडौं बाहिर बेस स्टेसनमै जानुको विकल्प नरहेको जनाएको छ। 

‘सबै जहाज एकै ठाउँ थुप्रिँदा विमानस्थल रेल स्टेसनजस्तो भएको छ,’ प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भने, ‘सबै जहाज त्रिभुवन विमानस्थलले धान्न सक्दैन। सुरक्षाको उच्च जोखिम हटाउनैपर्छ।’

प्राधिकरणले वायुसेवा कम्पनीको काठमाडौं केन्द्रित उडान गतिविधिले त्रिभुवन विमानस्थलको आन्तरिक उडानमा एयर तथा ग्राउन्ड होल्डिङ, डिले, पार्किङ स्पेस, टर्मिनल कन्जक्सनलगायतका समस्या आएको उल्लेख गरेको छ। 

‘हामीले रातारात काठमाडौं बेस भएका जहाज मोफसलमा लैजाने निर्णय गरेको होइन। वैशाख ११ गते बनेको कार्यदलको प्रतिवेदनअनुसार लागू गरिएको हो’, महानिर्देशक अधिकारीले भने, ‘कार्यदलमा त्रिभुवन विमानस्थल प्रमुखसहित वायुसेवा कम्पनीका वीरेन्द्र बहादुर बस्नेत, अनुज रिमाल, सुधिर मित्तल, राजेन्द्र बहादुर सिंह, गोपाल भट्टराई, बालकृष्ण श्रेष्ठ र मनोज कार्की सदस्य रहेका थिए।’

यस्ता छन् वायुसेवा कम्पनीका बेस विमानस्थल
प्रतिवेदनअनुसार कुल ५२ विमानहरुमध्ये १७ वटा काठमाडौंमा अप्रेसन बेसको लागि अनुमति दिन सकिने र बाँकी ३५ वटा रात्रि उडान सुविधा भएका विमानस्थलमा स्थानान्तरण गर्नुपर्ने सिफारिस गरिएको छ।   

प्रतिवेदनअनुसार गर्नुपर्दा बुद्ध एयरका १६ एयरलायन्समध्ये ६ वटा काठमाडौंबाट उडान गर्ने पाउने र बाँकी १० वटाले मोफसलका विमानस्थललाई बेस बनाउनुपर्नेछ। 

श्री एयरलायन्सका ८ जहाजमध्ये २ वटाले काठमाडौं र ६ वटाले काठमाडौंबाहिर बेस बनाउने, यति एयरलाइन्सको ५ जहाजमध्ये २ वटा काठमाडौं बेस र ३ वटा काठमाडौं बाहिर, सौर्य एयरलाइन्सको ३ मध्ये १ काठमाडौं र २ बाहिर बेस स्टेसन रहेका छन्। 

त्यस्तै समिट एयरका ४ जहाजमध्ये १ काठमाडौं र ३ मोफसल, ताराका ३ जहाजमध्ये १ काठमाडौं र २ बाहिर, सीता एयरको ४ जहाजमध्ये १ काठमाडौं र ३ बाहिर, गुण एयरलाइन्सका ७ जहाजमध्ये २ काठमाडौं र ५ बाहिर, नेपाल वायुसेवा निगमका २ जहाजमध्ये १ काठमाडौं र १ बाहिर बेस बनाउन समितिले सिफारिस गरेको थियो। 

त्यस्तै हेलिकप्टर कम्पनीमा एयर डाइनेष्टीका ४ हेलिमध्ये २ काठमाडौं र २ पोखरा वा लुक्ला बनाउनुपर्ने, अल्टिच्युड एयरका २ हेलीमध्ये काठमाडौं, फिट्सल एयर २ मध्ये १ काठमाडौं र एक लुक्ला, हेली एभरेष्टका २ काठमाडौं, मनाङ एयरका २ काठमाडौं, माउन्टेन्ट हेलिकप्टरका २ काठमाडौं नै बेस बनाउन पाउनेछन्। 

प्रभुका ६ हेली नै पोखरा, श्रीका ८ मध्ये ५ काठमाडौं ३ पोखरा र सुर्खेत, सिम्रिक एयरका ५ वटा नेपालगञ्ज, कैलाश हेलिकप्टर ३ युनिट काठमाडौं, मुस्ताङ हेलिकप्टरको काठमाडौं बेस रहेको छ। 

संघ र प्राधिकरणको टसल 
वायुसेवा कम्पनीहरुले वायुसेवा सञ्चालक संघ नेपालजस्तो सामूहिक संस्थालाई बेवास्ता गरी न्यूनतम परामर्श समेत नगरी एकतर्फी प्रावधानहरु विना सूचना आदेशको रुपमा आउनु लोकतान्त्रिक मूल्यमान्यता र न्यूनतम व्यावसायिकताको मर्मअनुरुप नभएको संघको ठहर गरेको छ। 

‘क्षेत्रीय विमानस्थलहरुको बढोत्तरी तथा स्तारोन्नति भए पनि हवाइजहाज तथा हेलिकप्टर मर्मतसम्भार तथा चेकजाँच गर्ने प्राविधिक पक्षहलगायत पूर्वधारहरुको विकास नभइसकेकाले त्रिभुवन विमानस्थलमा रात्रि विश्राम गरी उडान भर्न असमर्थ रहेको’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्राधिकरणले भने कुनै पूर्वाधारको कमी भए सुधार गर्न तयार रहे पनि मोफसलका विमानस्थललाई बेस बनाउनुको विकल्प नरहेको बताएको छ। 

‘ओपरेटिङ बेसमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय काठमाडौं आउनै नपाउने भन्ने होइन’, प्राधिकरणका महानिर्देशक अधिकारीले भने, ‘पार्किङ काठमाडौंबाहिर गर र त्यहीँबाटै पहिलो उडान भर भनेको हो।’

उनले क्षेत्रीय अर्थतन्त्र विकासको लागि वायुसेवा कम्पनीले रात्रिकालीन उडान सम्भव भएका विमानस्थललाई बेस बनाउनैपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .