ad ad

कारोबार


स्वास्थ्य बीमामा समस्या : ८ अर्ब भुक्तानी, ६ अर्ब अझै पेन्डिङमा

स्वास्थ्य बीमामा समस्या : ८ अर्ब भुक्तानी, ६ अर्ब अझै पेन्डिङमा

दीपक भट्ट
असार ८, २०७९ बुधबार १५:६, काठमाडौँ

सरकारले सामाजिक सुरक्षाअन्तर्गत ल्याएको स्वास्थ्य बीमाको भुक्तानी रोकिएको छ। 

भुक्तानी रोकिएपछि अस्पतालहरुले बीमा कार्ड लिएर उपचार गराउन खोज्नेहरुलाई रोक्ने चेतावनी दिएका हुन्। 

सरकारले ७ वर्ष सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो। सोअनुसारको ऐन नियमावली समेत तयार गरेर उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो। 

सर्वसाधारणहरुले स्वाथ्य बीमा गरेबापत निःशुल्क उपचार पाउने स्किम थियो। तर अहिले स्वस्थ्य बीमा गर्नेहरुको निःशुल्क उपचार नै रोकिन पुगेको हो। 

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो। 

सर्वसाधारणलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुवात भएको हो। 

यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको त्यसमा सरकारले स्वास्थ्य संस्थालाई बीमा भुक्तानी रकम उपलब्ध नगराएको आरोप स्वास्थ्य संस्थाहरुको रहेको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो संस्थाले ४५ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेकोले स्वास्थ्य बीमा कार्य देखाएर उपचार गर्न आउनेको उपचार रोकिने जानकारी दिए। उनले स्वास्थ्य बीमा बोर्ड आफ्नो पैसा भुक्तानी नगरेकोले उपचार रोक्ने निर्णय गर्नुपरेको बताए। 

त्यस्तै विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा लामो समयदेखि भुक्तानी नपाएकोले उपचार रोक्न बाध्य हुनुपरेको जानकारी दिए। 

स्वास्थ्य बीमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले नेपालखबरसँग कुरा गर्दै सबै स्वास्थ्य संस्थाहरुलाई नियमित गइरहेको जानकारी दिए। 

‘यो आर्थिक वर्षमा पनि हामीले ९ पटक गरेर सबै स्वास्थ्य संस्थाहरुलाई ८ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौँ’, उनले भने।  

विगतका केही र चालू वर्षको केही पैसा बाँकी रहेको बताउँदै उनले ती पैसा बाँकी रहनुको कारण भने दाबी परीक्षणमा केही समस्या देखिनु रहेको उल्लेख गरे। 

उनले भने, ‘दाबी परीक्षण गरेर ती रकम पनि भुक्तानी गर्ने प्रक्रियामा नै छौँ। यो वर्ष अघिल्लो आर्थिक वर्षको भुक्तानी पनि भएका छन्। त्यसकारणले यो वर्षदेखि विगतको भुक्तानी भएको छ। चालू आर्थिक वर्षको ६ अर्ब १३ करोड ६७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।’ 

अर्थ मन्त्रालयले पैसा नदिएको हो?
अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख चक्र बुढाले नेपालखबरसँग कुरा गर्दै माग भएजति पैसा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै स्वास्थ्य बीमा बोर्डमा पठाएको जानकारी दिए। 

उनले भने, ‘उहाँहरुले के कसरी खर्च गरिरहनुभएको छ त्यो जानकारी छैन। पैसा अपुग भएको भन्ने कुरा आउनेबित्तिकै गत महिना मात्रै अर्थ मन्त्रालयले थप १ अर्ब रुपैयाँ दिएको छ।’

तर स्वास्थ्य मन्त्रालयसँग सामाजिक सुरक्षासँग जोडिएको पैसा खर्च नभएको देखिएको छ। 

‘उहाँहरुले कसरी गरिरहनुभएको छ, किन यस्तो गुनासो आएको छ, त्यसमा अर्थ मन्त्रालयलाई जानकारी छैन’, उनले भने। 

भुक्तानी बाँकी रहेको भन्ने विषयमा अर्थ मन्त्रालयले भने सहजीकरण गरिसकेको उनले दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .