ad ad

कारोबार


६ अर्ब खर्च गर्ने महानगरले २५ अर्बको बजेट ल्यायो

लक्ष्यअनुसार आम्दानी, खर्चमा सधैँको चुक
६ अर्ब खर्च गर्ने महानगरले २५ अर्बको बजेट ल्यायो

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल।


वसन्त अर्याल
असार १३, २०७९ सोमबार ६:५७, काठमाडौँ

११ महिनामा ५ अर्ब ९६ करोड खर्च गर्ने क्षमताको महानगरले आगामी वर्षको लागि साढे २५ अर्बको बजेट विनियोजन गरेको छ। 

चालू आर्थिक वर्षको लागि गत असारमा १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो। गत पुस ३० गते नगरसभाको बैठकले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि काठमाडौँ महानगरपालिकाबाट कुल १६ अर्ब २६ करोड २६ हजारमा घटाएको थियो। 

चालू आर्थिक वर्षको लागि महानगरले स्रोतको व्यवस्थापन आन्तरिक आयबाट ४ अर्ब ३४ करोड ३२ लाख, राजस्व बाँडफाँटबाट २ अर्ब ५८ करोड, नेपाल सरकार एवम् प्रदेश सरकार निःशर्त अनुदान ८३ करोड र सशर्त अनुदान १ अर्ब ३२ करोड रहेको थियो। 

काठमाडौं महानगरसँग बैंक मौज्दात ७ अर्ब, सामाजिक सुरक्षा भत्ता १ अर्ब ५० करोड र अन्य बाह्य स्रोतबाट १ अर्ब ३७ करोड ७ लाख प्राप्त हुने अनुमान गरेको थियो।

महानगरले अघिल्लो वर्ष अर्थात् २०७७/०७८ मा कुल १६ अर्ब ४२ करोड बजेट ल्याउँदा ११ महिनामा ४ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको थियो। चालू आर्थिक वर्षको ११ महिना ५ अर्ब ९६ करोड खर्च भए पनि दुईतिहाइ खर्च हुनसकेको छैन। 

जेठ मसान्तसम्ममा आन्तरिक स्रोतबाट ३ अर्ब ९९ करोड आम्दानी भएको छ। जुन लक्ष्यको तुलनामा ८५.६० प्रतिशत हुन आउँछ। बाह्य आम्दानीतर्फ ४ अर्ब ८१ करोड भएको छ जुन लक्ष्यको तुलनामा १०८.८५ प्रतिशत हुन आउँछ।

काठमाडौं महानगरले २०७९ जेठ मसान्तसम्म अन्तरिक र बाह्य गरी कुल ८ अर्ब ८० करोड आम्दानी भएको छ। जुन लक्ष्यको तुलनामा ९६.९० प्रतिशत हो। 

‘काठमाडौँ महानगरपालिकाले लिएको नीतिअनुरुप अपेक्षित राजस्व संकलन भएको छ’, उपप्रमुख सुनिता डंगोल बताउँछिन्।

काठमाडौं महानगरले खर्च गर्न नसक्दा सर्वसाधारणबाट कर भने लक्ष्य अनुसार नै उठाउँदै आएको छ। चालू आर्थिक वर्षको ११ महिनामा ९७ प्रतिशत आम्दानी गरेको छ। 

आम्दानी लक्ष्यअनुसार, खर्च एक तिहाइ मात्रै 
महानगरले आम्दानी लक्ष्यअनुसार आम्दानी गर्दा खर्च भने एक तिहाइ मात्रै रहेको छ। 

चालू आर्थिक वर्षको विनियोजित बजेटमध्ये २०७९ जेठ मसान्तसम्ममा चालूतर्फ ३ अर्ब ५१ करोड खर्च गरेको छ भने  पुँजीगततर्फ २ अर्ब २६ करोड र वित्तीयतर्फ १८ करोड गरी जुन अनुमानित खर्चको ३६.६९ प्रतिशत मात्रै हुन आउँछ। 

महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक स्रोतबाट ४ अर्ब ६६ करोड ४३ लाख १३ हजार र बाह्य स्रोतबाट   ४ अर्ब ४२ करोड २७ लाख गरी कुल आम्दानी ९ अर्ब ८ करोड ७० लाख १३ हजार हुने अनुमान गरेको थियो। 

बजेट खर्च गर्न नसक्दा १२ अर्ब बैंक खातामा
बजेट खर्चै गर्न नसक्ने महानगरले चालू आर्थिक वर्षको बजेटभन्दा ९ अर्ब १५ करोड बजेट बढी ल्याएको छ। महानगरले चालू आर्थिक वर्षको अन्तसम्म खर्च गर्न नसकेको करिब १२ अर्ब बैंक मौज्दात रहने उल्लेख गरेको छ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड अनुमानित बजेट ल्याएको छ। काठमाडौँ महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड हुने लक्ष्य राखेको छ। 

सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समाबेश हुने कुल ३ अर्ब ५ करोड स्रोत व्यवस्थापन हुने दाबी गरेको छ। 

नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ   १ अर्ब ३१ करोड, राजस्व बाँडफाँडतर्फ ३ अर्ब ४१ करोड र समानीकरण अनुदानतर्फ ८४ करोड  हुने प्रक्षेपण गरेको छ। 

महानगरले ११ अर्ब ९५ करोड बैंक मौज्दात समेत जोडी कुल १६ अर्ब ८० करोड आफ्नो आम्दानी छ। 

त्यसैगरी नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबापत १ अर्ब ६५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ। नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने कार्यक्रमहरुको लागि ५२ करोड र जग्गा एकीकरण आयोजनाको लागि ८८ करोड १ लाख ४७ हजारको आय  प्रक्षेपण गरिएको छ ।

प्रक्रियागत र कोभिडले खर्च गर्न सकिएन : महानगर
पछिल्लो ५ वर्षमा महानगरले खर्च गर्नै सकेको छैन। कामपाले २०७४/०७५ का लागि १२ अर्ब ८७ करोड ८९ लाख ४७ हजार विनियोजन गरेको थियो। यसमध्ये जम्मा ४ अर्ब ९९ करोड खर्च भयो। 

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। जसमा ६ अर्ब ३७ करोड रुपैयाँ मात्रै खर्च भएको थियो। सो वर्ष ७ अर्ब १४ करोड रुपैयाँ मौज्दात रहन पुग्यो।  

आर्थिक वर्ष २०७६/०७७ मा १६ अर्ब ४३ करोड रुपैयाँको बजेट ल्याएकोमा महानगरले ६ अर्ब ४५ करोड रुपैयाँ मात्रै खर्च गर्नसक्यो।    महानगरले आर्थिक वर्ष २०७७/०७८ मा प्रस्तावित बजेट १६ अर्ब ४२ करोड रुपैयाँ थियो। १ वर्षमा महानगरले ५ अर्ब ७१ करोड अर्थात् ३६.६९ प्रतिशत मात्रै खर्च गर्नसक्यो। उक्त वर्ष मात्रै महानगरले ९ अर्ब ८५ करोड खर्च गर्न सकेन। 
 
काठमाडौं महानगरपालिका प्रशासनिक विभाग प्रमुख महेश कुमार काफ्लेले प्रक्रियागत कुरा र कोभिडको कारण बजेटअनुसार खर्च गर्न नसकेको बताउँछन्। उनी पछिल्लो २–३ वर्षमा खर्च हुन नसक्नुमा कोभिड महामारी रहेको बताए। 

‘कोभिडको कारण पछिल्ला वर्षमा खर्च हुन सकेन। समयमै टेन्डर आह्वान गर्न नसक्दा भौतिक पूर्वाधारका काम रोकिए’, कामपाका सहप्रवक्ता काफ्लेले भने, ‘सरकारी प्रक्रियागत कुरा गर्दा समयमै खर्च हुनसकेन।’

उनले चालू आर्थिक वर्षमा भने धमाधम काम भइरहेको बताउँदै राम्रो बजेट खर्च हुने बताए। काफ्लेले अहिले निर्माण भएका कामको पनि भुक्तानी नभएको बताउँदै असारसम्म भुक्तानी हुँदा विगतका वर्षको तुलनामा खर्च बढ्ने दाबी गरे। 

महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनले काठमाडौं महानगरपालिको कार्यालयले खर्च गर्न नसकेकोमा प्रश्न उठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .