ad ad

कारोबार


मन्त्रीहरूले नै श्रीलंकाको अवस्थामा पुग्नसक्छ भनेर दिग्भ्रमित पारे : एमाले

मन्त्रीहरूले नै श्रीलंकाको अवस्थामा पुग्नसक्छ भनेर दिग्भ्रमित पारे : एमाले

नेपालखबर
असार १६, २०७९ बिहिबार २१:२०, काठमाडौँ

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका छन्।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभाग प्रमुख दुगडले नेपाल आर्थिक संकट भएपनि श्रीलंका अहिले बन्न नसक्ने भन्दै सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका हुन्।

उनले श्रीलंकाको सरकारसँग आर्थिक अवस्था सुधार गर्ने भिजन नभएको कारण विश्वकै कमजोर अर्थतन्त्र भएको मुलुकका रुपमा चर्चा भएको बताए। 

उनले भने, ‘सरकारले विदेशबाट आउने रेमिट्यान्स समेत राम्रोसँग ल्याउन दिएको छैन। रेमिट्यान्सको अनुचित प्रयोग हुन थालेको छ। नेपालमा आउने सामानहरु गलत तरिकाले आएकाले महँगो हुन्छ। सस्तोमा देखाएर ल्याउँदा राजश्व कम हुन्छ। अवैधानिक रुपमा सामान ल्याउने गरेको छ। विदेशबाट सामान २ सयमा किन्ने र नेपालमा मूल्य एकसय देखाउने, नेपालबाट सामानको एकसय रुपैयाँ वैधानिक तरिकाले पठाउने र सय रुपैयाँ रेमिट्यान्स मार्फत काट्ने गरिएको छ। त्यसले गर्दा सरकारको राजश्व गुम्यो। यस्ता विकृतिले गर्दा मुलुकको आर्थिक अवस्था जर्जर भएको छ। सरकारका मन्त्रीहरुको अभिव्यक्ति आउँछ, नेपाललाई श्रीलंका बन्न दिँदैनौं। कसले भन्छ श्रीलंका बनेको छ यो देश? सरकार आफैँ जनतालाई भ्रममा पारिरहेको छ नेपाललाई श्रीलंका बन्न दिँदैनौं भनेर।’

प्रमुख दुगडले नेपाल सरकारले अहिले पनि निजी क्षेत्र, प्रमुख प्रतिपक्ष दल, सरोकारवाला निकायहरुसँगको सल्लाह सुझावका आधारमा काम गरे अर्थतन्त्र सुधार गर्न सकिने बताए। उनले सरकार अर्थतन्त्र संकटमा पुग्दा समेत कोहीसँग छलफल र सहकार्य नगरेको बताए। 

उनले भने, ‘के अवस्था छ श्रीलंकामा थाहा छ? आज मन्त्रीहरु घरबाट निस्किन सकेको छैन। प्रधानमन्त्री र अर्थमन्त्रीले राजीनामा दिएर अण्डरग्राउण्ड भएका छन्। किन त्यस्तो भयो भन्दा श्रीलंका सरकारसँग भिजन थिएन। सरकारले त्यहाँका जनतालाई सहयोग गरेन। त्यहाँको सरकारले निजी क्षेत्रको कुरा सुनेन। परनिर्भर भयो। अहिले विश्वमा गएगुज्रेको देश भनेर चर्चा भएको छ। आर्थिक क्षेत्रमा जर्जर भएको देश त्यो अवस्था हाम्रो देशमा नहोस्। हाम्रो देशपनि आर्थिक संकटको अवस्थामा छ। आर्थिक संकटकाल लगाउने अवस्था छ। सरकारले निजी क्षेत्र, प्रतिपक्ष दल लगायत सबैसँग सल्लाह र सुझावको आधार सरकार अगाडि बढे अझै अर्थतन्त्र सुधार हुने अवस्थामा छ।’

दुगडले पछिल्लो समय मुलुकमा विदेशबाट आउने रेमिट्यान्स समेत अवैधानिक रुपमा आउने गरेकाले अर्थतन्त्रमा विकृति आएको बताए। उनले विदेशबाट नेपालमा सामान अवैधानिक रुपमा ल्याउने कम मूल्य देखाउने र विदेशमा नै कारोबार मिलाउने कार्य भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .