NepalKhabar NepalKhabar

कारोबार


चार देशबाट आउँछ जनै धागो, गत वर्ष साढे १७ करोडको आयात

चार देशबाट आउँछ जनै धागो, गत वर्ष साढे १७ करोडको आयात

दीपक भट्ट
साउन २७ , काठमाडौँ

नुवाकोटका विष्णु ढुंगाना काठमाडौंको मनमैजुमा बस्छन्। केही दिनदेखि उनी कतुवा खेलाउन व्यस्त रहे। कारण हो शुक्रबार परेको जनैपूर्णिमा।

संग्लेको धागोलाई कतुवा घुमाएर बाटेपछि बल्ल जनैको कच्चापदार्थ धागो तयार हुन्छ। ढुंगानाले बिहीबारसम्म गरेको मिहिनेतले शुक्रबार आम्दानी हात लाग्छ। ढुंगाना जनै तयार गरेर बिक्रीवितरण समेत गर्छन्। सामान्यतः उनको बिक्रीको भने मूल्य निश्चित हुँदैन। 

‘धेरैजसो जनै लगाइदिने डोरो बाँधिदिने गरिन्छ’, नेपालखबरसँग उनले भने, ‘ग्रहण गर्नेले आफूखुसीले दक्षिणा दिन्छन्। त्यही लिने हो।’

केहीले यति मात्रामा चाहियो भनेर जनै किनेर लाने गरेको उनले बताए। त्यसको लागि भने कति लान्छन्, त्यो हिसाबमा प्रतिगोटा २० रुपैयाँभन्दा माथि मूल्यमा पैसा लिने गरेको उनी बताउँछन्। तर प्रायः जनै लगाइदिएपछि दक्षिणा लिने र त्यसमा लाउनेको स्वखुसी हुने उनको भनाइ छ। 

उनी त प्रतिनिधि मात्र हुन्। जनैपूर्णिमामा उनीजस्ता धेरै खासगरी ब्राह्मण समुदायका मानिसहरुले मन्दिरमा बसेर, यजमानको घर–घर पुगेर डोरो र जनै लगाइदिएर आम्दानी गर्छन्। 

साढे १७ करोडको आयात, सरकारलाई २४ लाख राजस्व  
तर पछिल्लो समय भने जनै बनाएर बिक्री गर्नेको संख्या पनि बढ्दै गएको छ। संस्कृतमा यज्ञोपवीत र नेपालीमा जनै भनिने यो ‘पवित्र धागो’को विदेशबाट समेत आयात हुन्छ। तर यो धागोको रुपमा आयात हुने गरेको छ। 

जनै बनाउन मुख्यतया मसिनो कटनको धागो आवश्यक पर्छ। यो धागो कपडा निर्माणमा समेत प्रयोग हुन्छ। नेपालमा जनैको लागि भनेरै पनि धागो आयात हुने गरेको छ। आयातित धागो जनै बनाउन चाहनेले खुद्रा व्यापारी हुँदै खरिद गर्ने गर्छन्। 

त्यस प्रकारको धागो नेपालमा मुख्यतः चीन र भारतबाट आयात हुन्छ। यो धागो हङकङ र स्पेनबाट समेत नगन्य रुपमा आयात भएको देखिन्छ। गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साढे ७८ मेट्रिक टनबराबरको जनै अर्थात् जनै बनाउन मिल्ने धागो आयात भएको देखिन्छ। जुन १७ करोड ५८ लाख मूल्यबराबरको हो। 

त्यसबाट नेपाल सरकारले २४ लाख रुपैयाँ राजस्व उठाएकोे भन्सार विभागले जनाएको छ। भन्सार विभागका अनुसार जनै आयात भनेर भएको छैन। यसको फरक खालको एचएस कोड छैन। सामान्य धागोकै हिसाबमा नेपालमा आयात हुने हो। 

‘धागोको रुपमा आउँछ, जनै नै बन्छ भन्ने ग्यारेन्टी हुँदैन’
वस्तु आयात र निर्यातको विश्लेषण गर्ने संस्था व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र हो। यस केन्द्रका उपनिर्देशक रविन्द्र दवाडी पनि धागोकै रुपमा जनै आयात भएको बताउँछन्। 

त्यो ठूलो भोलुममा समेत भएको देखिन्छ। यसबाट जनै नै बन्यो भन्ने ग्यारेन्टीचाहिँ नहुने उनको भनाइ छ।

उनले भने, ‘नेपालमा जनै चीनबाट समेत आयात भयो, भारतबाट त पहिले पनि आउँथ्यो भन्नु र त्यहीअनुसार प्रचारप्रसार गर्न आफैँमा ठीक हैन। जनै बनाउन मिल्ने खालको धागो आयात भएको छ। त्यसलाई नै आधार मानेर हामीले जनै यति परिमाणमा आयात भयो भनेर प्रचार गर्छाैँ, त्यो झूटो पनि हुनसक्छ। किनभने यो अन्य प्रयोजनमा समेत आयात भएको देखिन्छ।’

तर जनै बनाउने धागोमा आयातको हिसाबले नेपाल परनिर्भर रहेको उनको तर्क छ। नेपालमा पनि धागोहरु तयार हुन्छन् तर आयातको मात्रा भने धेरै रहेको उनको भनाइ छ।

तथ्याङ्क र सरकारी निकायको भनाइलाई आधार मान्ने हो भने नेपालमा पनि जनैको धागो निर्माण हुने र धेरै मात्रामा भने चीन र भारतबाट आयात हुने गरेको स्पष्ट हुन्छ।

यसरी आयात भएको र नेपाली उत्पादन जनैको धागोबाट जनै बनाउने काम भने नेपालीहरुले नै गरेको उपनिर्देशक दुवाडीको दाबी छ। 
चीनले कसरी जनै बनाएर नेपाल पठाउँछ त्यो विश्वास गर्नै सकिन्न। भारतबाट सम्भावना छ तर पनि त्यसरी ठूलो भोलुममा आयात भएको देखिदैन। 

के छ जनैको महत्त्व?
नेपाली हिन्दू समाजमा जनैको विशेष महत्त्व छ। रक्षाबन्धन (डोरो बाँध्ने) र यज्ञोपवीत धारण (जनै लगाउना)ले हामीलाई नकारात्मक तत्वबाट सुरक्षा मिल्ने धार्मिक विश्वास छ। समाजमा जनैपूर्णिमाको दिन विधिपूर्वक बनाएर वेदका मन्त्रले अभिमन्त्रणा गरिएको जनै पहिरिने संस्कृति चलिआएको छ।

यहीअनुसार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै (यज्ञोपवीत) एवं डोरो धारण गरिन्छ। जनै पूजा, पितृकार्यमा समेत अत्यावश्यक कुरा हो। डोरोको पनि विभिन्न धार्मिक क्रियाकलापमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाको अवसरमा प्रायः सबैले यसको ग्रहण गर्ने चलन छ। 

पूर्णिमाका दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्रका रुपमा डोरो बाँध्ने गर्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गर्ने प्रचलन छ। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वले छुन नसक्ने विश्वास गरिन्छ।

आन्तरिक व्यापार कस्तो छ? 
जनै पूर्णिमाको महत्व र त्यहीअनुसार नेपालीले एक चाडको रुपमा यसलाई लिने गर्छन्। यस पूर्णिमाको आसपासमा जनैको व्यापार पनि राम्रै हुन्छ। जनै धागो किनेर जनै बनाउने अनि व्यापार गर्नेहरु पनि देखिन्छन्। 

विशेषगरी नेपालमा ब्राह्मण र क्षेत्रीयले नै जनै निर्माण गर्ने तथा धार्मिक विधिबाट त्यसको अभिमन्त्रणा गरी मन्दिरको छेउछाउमा बसेर जनै बेचेको देखिन्छ। पूजा सामग्री पाइने पसलमा त बाह्रै महिना जनै किन्न पाइन्छ।

हुन त जनै पूर्णिमामा यजमानहरुलाई लगेर पुरोहितहरुले आफैँ लगाइदिने प्रचलन रहे पनि पछिल्लो समय सहरीकरणले गर्दा मन्दिर–मन्दिरमा बसेर जनैको व्यापार गर्ने प्रचलन बढिरहेको छ। विदेशी आयातित धागोबाट नेपालमा जनै बनाउनेहरु भने विशेष गरी ब्राह्मणहरु नै हुने गरेका छन्। 

पसलबाट किन्ने जनै कस्तो हुन्छ?
कर्मकाण्ड गर्ने ढुंगाना पसलमा राखिएको र प्रायः पूजाआजाका लागि खरिदबिक्री हुने जनै शास्त्रीय विधि र प्रक्रियाअनुसार नबनेको हुनसक्ने बताउँछन्। 

उनका अनुसार जनै विधिअनुसार निर्माण भएको हुनुपर्छ। यो पाँचवटा शिखा बनाएर तयार गर्नुपर्छ। 

तर पसलमा राखिएको जनै विधिअनुसार भए/नभएको ग्यारेन्टी हुँदैन। त्यसका साथै मन्त्रिएको छ/छैन भन्ने पनि ग्यारेन्टी नभएको उनको भनाइ छ। 

याे पनि : रक्षाबन्धन, जनैपूर्णिमा साउन २६ कि २७ मा? यसो भन्छ नेपाल पञ्चांग निर्णायक समिति

साउन २७, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.