ad ad

कारोबार


सुनका सौखीन नेपाली! वर्षमै खपत गर्छन् साढे ३५ अर्बको सुन

१ वर्षमा ५ हजार किलो सुन खपत, तीजमा माग दोब्बर
सुनका सौखीन नेपाली! वर्षमै खपत गर्छन् साढे ३५ अर्बको सुन

वसन्त अर्याल
साउन २९, २०७९ आइतबार ८:७,

तीजको समयमा नेपालमा सुनको माग दोब्बरले बढेको छ। 

राष्ट्र बैंकले दैनिक १० किलो सुनको कोटा छुट्याए पनि अहिले ३० किलोसम्म माग हुनथालेको व्यवसायी बताउँछन्। 

व्यवसायीले चाडपर्वको समयमा खपत दोब्बर हुनाले कोटा बढाउन माग गर्दै आएका छन्। सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिक रत्न शाक्य सुनको बिक्री बढेसँगै कोटा कम हुँदा अप्ठ्यारो परेको बताउँछन्। 

‘तीज लागेसँगै सुनको माग ह्वात्तै बढ्छ। तर कोटा कम हुँदा बजार माग धान्न हम्मे–हम्मे परिरहेको छ’, उनले नेपालखबरसँग भने। 

तीजको समयमा सुनका गहनाको बिक्री बढी हुन्छ। गहना नेपालमा बने पनि सुन विदेशबाटै आयात हुन्छ। 

आर्थिक वर्ष २०७८/०७९ मा नेपालीले ५ हजार ५३ किलो सुनको खपत गरेका छन्। गत वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा ३५ अर्ब ६१ करोड रुपैयाँको आयात भएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९२४ किलो सुन भन्सारबाट नेपाल भित्रिएको थियो। उक्त वर्ष २७ अर्ब ३४ करोड रुपैयाँको आयात भएको देखिएको छ। 

गत फागुनमा राष्ट्र बैंकले दैनिक सुन आयात परिमाण १० किलो तोकेको थियो। त्यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था थियो। गत असारमा मात्रै चार सय किलो सुन नेपाल आयात भएको छ। 

तीजको समयमा खपत हुने अधिकांश वस्तु नेपाल बाहिरबाट आयात हुने गरेका छन्। तीजको समयमा प्रयोग हुने पहिरनका सामग्रीदेखि खानेकुरासम्म बाहिरबाट आउँछन्।  

तीजको समयमा पहिरन र सिंगारपटारको सामग्री बढी प्रयोग हुन्छन्। यो बेला महिलाले प्रयोग गर्ने पहिरनका सामग्री साडी, कुर्ता, लेहेंगा, चुरा विभिन्न देशबाट आउने गरेका छन्। 

तयारीभन्दा कच्चा सुनको आयात धेरै 
नेपालमा कच्चा सुनको आयात हुने गरेको व्यवसायी बताउँछन्। गहनाको रुपमा विदेशबाट आउनेले लगाउनेबाहेक बिक्रीको लागि नगन्य आयात हुने गरेको उनीहरुको भनाइ छ।  

‘विदेशबाट आउँदा गहना लगाएर आउँछन्’, शाक्यले भने, ‘त्यसबाहेक तयारीका गहना कम मात्रै आउँछन्। २१ क्यारेट, २२ क्यारेटका केही गहना आउने गरेका छन्।’

नेपालमा स्विट्जरल्यान्ड, टर्की, युएईबाट सुन आयात हुन्छ। त्यसमा पनि सबैभन्दा बढी यूएईबाट आयात हुने गरेको छ। 

महासंघका महासचिव धर्म सुन्दर बज्राचार्य सामान्य अवस्थाभन्दा तीजमा दोब्बरले सुनको कारोबार बढ्ने बताउँछन्। कोभिडको कारण विगत २ वर्षभन्दा अहिले बजारमा चहलपहल बढेको उनको भनाइ छ। 

‘कोटाभन्दा माग बढी छ। बढी बनाउन आउनेलाई पनि कमको बनाउन सुझाव दिइरहनुपरेको छ’, बज्राचार्यले भने, ‘तिलहरी, चुरा, झुम्का लगायतको बिक्री बढ्छ।’

रुपन्देहीका सुनचाँदी व्यवसायी मनोज कुमार शाहले सुनको मुख्य कारोबार नै तीज र लगनको महिनामा हुने गरेको बताए। विगतका वर्षमा जस्तो यो वर्ष भने त्यति माग नभएको उनी बताउँछन्। 

‘हाम्रो सुनको मुख्य कारोबार लगनको महिना र तीजमा बढी हुन्छ’, शाहले भने, ‘अहिले पहिलाको जस्तो माग छैन।’

भैरहवामा सुनचाँदीको व्यवसाय गरिरहेका शाहले राष्ट्र बैंकले १० किलो मात्रै दिएको र माग पनि बढी नभएको बताए। 

‘व्यवसायीलाई १० किलोले त पुग्दैन तर विगतका वर्षजस्तो कारोबार पनि छैन’, उनले भने, ‘पुराना गहना लिएर नयाँ बनाउने हिसाबले मात्रै व्यवसाय चलिरहेको छ।’

शाहका अनुसार तीजको लागि १ महिना अघिदेखि नै सुनको कारोबार बढ्थ्यो। तीजको लागि २ हप्ता बाँकी रहँदा खासै रौनक नदेखिएको उनको अनुभव छ। 

तीजको समयमा छड्के तिलहरी, कानमा झुम्काका गहना बनाउने धेरै हुने उनले बताए। 

शुक्रबार सुनको मूल्य महिनाभरकै उच्च 
शुक्रबार सुनको मूल्य साउन महिनाभरकै उच्च अर्थात् प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ। तेजाबी सुनको मूल्य भने ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

२०७९ को साउन महिनामा सबैभन्दा उच्च मूल्यमा कारोबार भएको हो। साउन ५ गते सबैभन्दा कम ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो वर्षको तुलनामा सुनको मूल्य तोलामा करिब १० हजार रुपैयाँले बढेको छ। २०७८ साउन २७ मा सुनको मूल्य ८८ हजार ८०० रुपैयाँ रहेको थियो। तेजाबी सुन तोलाको ८८ हजार ३५० रुपैयाँ थियो।

अघिल्लो वर्ष बढीमा ९३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। २०७७ साउनमा ९२ हजार २ सय रहँदा अधिकतम १ लाख ३ हजार ५०० रुपैयाँसम्म कारोबार भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .