कारोबार


राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

नेपालखबर
भदौ १५, २०७९ बुधबार ११:२२, लमजुङ

लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का पूर्वअध्यक्ष एवं प्रवर्द्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो। 

एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी खोलेर उक्त संस्थामार्फत यस जिल्लामा पहिलोपटक दोर्दीखोला जलविद्युत् आयोजनामा लगानी गरेको बताए।

उनले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गरे। 

त्यस्तै आईएमई ग्रुपका अध्यक्ष ढकालले एनआरएनसँग मिलेर दोर्दीखोला जलविद्युत् आयोजना अघि बढाइएको र अहिले सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे। आउँदा दिनमा ठूला जलविद्युत्, पर्यटन, पूर्वाधारलगायतमा लगानी गर्न उनले गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्। 

आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताए। 

आयोजनाको बाँधस्थल दुई सय १२ मिटरको छ। बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा विद्युतगृह छ। नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ असार १ गते भएको थियो।बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ्रे मेटल एन्ड मेसेरेनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको थियो। 
आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव ७ प्रतिशत, आईएमई ग्रुपको ३४ दशमलव ३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ। रु ३ अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा रु ५ अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ। 

सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पीपीए) भएको आयोजनाले जनाएको छ। यसअघि जिल्लामा ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी  ‘ए’ लगायत ६ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .